Shittalpati
मनसुनी वर्षा :  सतर्क रहौं

हाल देशभर मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन यता देशभर सामान्य बदलीदेखि भारी  वर्षा भइरहेको छ । लामो खडेरीका कारण धान रोपाइँ हुन नसकेका क्षेत्रका किसानलाई राहत मिले पनि निरन्तर भारी वर्षाका कारण ठाउँ ठाउँमा  बाढी, पहिरोको जोखिम भने बढेको छ । लगातार पानी परिरहेकाले ठूला नदीसँगै स–साना खोला तथा खहरेमा बाढीको सम्भावना उच्च छ । मनसुन देशभरी नै सक्रिय भएकोले दुई/तीन दिन देशभरकै मौसम यस्तै रहने मौसमविदले बताएका छन् । केहीबेर मौसम खुलेजस्तो भए पनि फेरि झरी पर्ने गरेको छ । मुलुकको भौगोलिक बनावटअनुसार अत्याधिक र भारी बर्षाको मात्रा र प्रभाव फरक हुने गर्दछ । यस्तो बेला नदी तटीय क्षेत्र, भिरालो भू–भाग र सामान्य वर्षामा पनि डुवान हुने क्षेत्र आसपासमा सर्तकता अपनाउन आवश्यक छ । वर्षाका कारण चुरे र महाभारत क्षेत्र आसपास हुँदै बहने अधिकांश नदी र खहरेमा पानीको बहाव सतर्कता तहसम्म पुग्ने उच्च सम्भावना रहेकाले सर्तक रहनुपर्छ ।

बर्खाको मौसम भएकाले पनि मनसुन सक्रिय हुनु स्वाभाविक नै हो । यसलाई अन्यतथा लिनु हुँँदैन । मौसमको गणितीय पूर्वानुमानको नक्साअनुसार देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । जसका कारण जनजीवनै अस्तव्यस्त पारेको, बाढी, पहिरो र डुबान भएका समाचारहरु आइरहेका छन् । हुन त यो कुनै नौलो होइन, वर्षेनी हुँदै आएको समस्या हो । मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन निरन्तर पानी पर्ने भनेकाले पनि थप समस्या सिर्जना हुने अनुमान गर्न गाह्रो छैन । विपद् बाजा बजाएर आउँदैन । त्यसैले विपद् आउनु अघि नै पूर्व सतर्कता अपनाउन सकियो भने ठूलो क्षति हुन बाट बच्न सकिन्छ । 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update