Shittalpati
कालीगण्डकीको बिजुली भारत निर्यात गर्न थालियो

पाल्पा, कालीगण्डकीको विजुली भारत निर्यात गर्न थालिएको छ । नेपाल सरकारले शनिबार रातिदेखि कालीगण्डकी आयोजनाको १४० मेगावाट बिजुली भारत निर्यात गर्ने थालेको हो । यसअघि त्रिशूली आयोजनाबाट उत्पादित २३.२ र देवीघाटको १४.५ मेगावाट विद्युत् मात्रै भारत निर्यात भइरहेको थियो । अब त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट ३७.७ मेगावाट र कालीगण्डकी जलविद्युत आयोजनाबाट १४० मेगावाट गरी कुल १७७.७ मेगावाट विजुली भारत निर्यात भएको छ ।

भारतको नियामक निकायले अहिले विद्युत्को अधिकतम बिक्री मूल्य प्रतियुनिट १२ भारतीय रुपैयाँ कायम गरिदिएको छ । जसले गर्दा नेपालले बोलकबोलबाट अधिकतम १२ भारतीय रुपैयाँ मात्रै प्राप्त गर्न सकेको छ । यसअघि नेपालले बोलकबोलबाटै प्रतियुनिट १८ भारुसम्ममा विद्युत् आयात गरेको थियो । नेपाल र भारतको सम्झौताअनुसार नेपालले भारतमा अधिकतम तीन सय ६४ मेगावाट विद्युत् निर्यात गर्न सक्छ । भारतले त्रिशूली, देवीघाट र कालीगण्डकीका साथै मस्र्याङ्दी, मध्य मस्र्याङ्दी र लिखु खोला जलविद्युत् आयोजनाको विद्युत्लाई निकासीका लागि स्वीकृत दिएको छ ।

नेपालले बिजुली बेच्न प्रस्ताव गरेका अरु तीन आयोजना माथिल्लो तामाकोसी, माथिल्लो भोटेकोसी र चमेलियाको बिजुली किन्नका लागि भने भारतले हालसम्म स्वीकृति दिएको छैन । केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई बिजुली बेच्न थालेको हो । वर्षायाममा नेपालको बिजुली खपत नभएर खेर जाने अवस्था भए पनि हिउँदमा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update