Shittalpati
पाल्पामा परिवार नियोजनका साधनको प्रयोग बढ्दो, दश हजार महिलाको अनिच्छुक गर्भ रोकियो

कृष्ण पोखरेल
पाल्पा, गर्भलाई सुनियोजित गर्नु नै वास्तविक परिवार नियोजन हो । परिवार नियोजनका साधन प्रयोगले सन्तानको संख्या कम हुने मात्र होइन, थोरै र जन्मान्तरले आमा र बच्चाको स्वास्थ्य समेत राम्रो हुने गर्दछ । तर परिवार नियोजनका साधनको विषयमा जानकारी अभाव तथा लाज र डरका कारण सर्वसाधारणले परिवार नियोजनका साधनको प्रयोग भने कम नै गर्ने गर्दछन् । पछिल्लो समय पाल्पामा भने स्वास्थ्यसँग सम्बन्धित संघसस्थासँगै परिवार नियोजन संघले परिवार नियोजनका साधनबारे सचेतीकरण र प्रयोगको दरलाई बढाउन वर्षेनी विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरे पश्चात परिवार नियोजनका साधन प्रयोग गर्नेहरुको संख्यामा वृद्धि भएको छ । आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा हरेक क्षेत्रको प्रगति र सन्तुलनमा परिवार नियोजनले प्रत्यक्ष वा परोक्षरुपमा महत्वपूर्ण टेवा पुग्ने हुँदा जिल्लामा परिवार नियोजनका साधन प्रयोग गर्नेको सख्या विगतका वर्षहरुको तुलनामा वृद्धि भएको हो ।

कम जनसंख्या भएको अवस्थामा स्वास्थ्य, शिक्षा, रोजगार जस्ता अति आवश्यक सुविधाको कुशल व्यवस्थापन गर्न सजिलो हुने भएकाले पनि सरकारले यसलाई उच्च महत्व दिएको पाइन्छ । सरकारी स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका सबै सेवा सरकारले निःशुल्क समेत गरेको छ । नेपाल परिवार नियोजन पाल्पाले पनि परिवार नियोजन तथा सुरक्षित मातृत्वको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ ।
संघले जिल्लामा सन २०१९ मा ८७ हजार ७ सय ३२ वटा पुरुष कण्डम, ८३ वटा महिला कण्डम, ६ हजार ६ सय ९ वटा पिल्स, १ हजार १ सय ७७ जनाले ३ महिने सुई प्रयोग गरेको विषय सार्वजनिक गरेको छ । संघका अनुसार सन २०१८ मा ७५ हजार ८ सय १८ वटा पुरुष कण्डम, १ सय ११ वटा महिला कण्डम, ५ हजार ९ सय १७ वटा पिल्स, १ हजार ८१ जनाले ३ महिने सुई अस्थायी साधन प्रयोग गरेका छन् । यसैगरी सन् २०१९ मा २ सय ९५ र सन २०१८ मा ३ सय ९२ जनाले १० वर्षे अस्थायी साधन प्रयोग गरेको संघले जनाएको छ । सन् २०१९ मा ७ सय २ जना र सन् २०१८ मा ७ सय ९२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

विभिन्न सूचिकृत नभएको संस्थाबाट असुरक्षित गर्भपतन सेवा लिई सन् २०१८ मा ११ जना र सन् २०१९ मा १७ जना महिलाहरु पुनः सेवा लिन आएको संस्थाले सार्वजनिक गरेको छ । जिल्लामा दुई वर्षको अवधीमा परिवार नियोजनको साधन प्रयोग गरी १० हजार १ सय ५६ जनाको अनिच्छुक गर्भ रोकिएको छ । संस्थाले मुख्य शाखा कार्यालय तानसेन, कसेनी, बराङ्दीबाट नियमित सेवा प्रदान गर्दै आएको र अन्य २० स्थानमा साप्ताहिक रुपमा सेवा प्रदान गर्दै आएको छ । संघले घुम्ती शिविरमार्फत जिल्लाका १० वटै स्थानीय तहमा सेवा प्रदान गर्दै आएको तानसेनमा एक कार्यक्रमको आयोजना गरी शाखा प्रवन्धक शोवाकान्त न्यौपानेले जानकारी गराए ।

संस्थाले परिवार नियोजनका साधन मार्फत अनिच्छुक गर्भधारणबाट बचाउने, यदी अनिच्छुक गर्भ रहेको भए सुचिकृत स्वास्थ्य संस्थामार्फत सुक्षित तरिकाबाट गर्भपतन गराउने सेवालाई व्यक्ति–व्यक्ति, परिवार–परिवारमा पुर्‍याउने काम गर्दै आएको शाखा प्रवन्धक न्यौपानेले बताए । संस्थाले गरेका विभिन्न शिविर तथा घुम्ती सेवाबाट लुकेर रहेका यौन रोगीहरु बाहिर आएको, पाठेघर मुखको क्यान्सर भएका महिलाहरु समयमै क्यान्सर हुनबाट जोखिएको उनले जानकारी गराए । संस्थाले एचआई सक्रमित तथा प्रभावितहको घर–घरमा पुगी सेवा प्रदान गर्दै आएको र हाल एचआईभी परीक्षण गर्ने किड्स नपाउँदा समस्या भएको जनाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले परिवार नियोजनका साधन तथा सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए । मिडियाको माध्यमबाट सेवा प्रभावकारिता तथा गुणस्तरीयताको बारेमा जनताले थाहा पाउन सक्नेमा उनले जोड दिए । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेशकुमार अर्यालले सुरक्षित गर्भपतन सेवालाई व्यक्तिले चाहेको स्थानसम्म सेवा पु¥याउने गरी संस्थाहरुले काम गर्नुपर्ने बताए ।

मोवाईल तथा फोनबाट समेत सेवाग्राहीले निःशुल्क रुपमा परामर्श सेवा पाउनु पर्ने, सुरक्षित गर्भपतनको तथ्याड्ढगत हिसावले छलफल केन्द्रित हुनुपर्नेमा अध्यक्ष अर्यालले जोड दिए । संघकी कोषाध्यक्ष कोपिला कार्कीको सभापतित्व, शाखा युवा संयोजक मिलन खड्काको स्वागत र युथ चेम्पियन रेश्ना श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update