Shittalpati
बगनासकालीको अध्यक्षमा दुई महिलाबिच रोचक प्रतिस्पर्धा

रामचन्द्र रायमाझी/कृष्ण पोखरेल
पाल्पा, प्रमुख या निर्णायक ठाउँमा महिलाको उपस्थिति हुन नसिकरहेको बेला पाल्पाको बगनासकाली गाउँपालिकामा भने अध्यक्ष पदमा महिलाबिच मुख्य प्रतिस्पर्धा देखिएको छ । यहाँ पालिका अध्यक्षका लागि चार जना महिलाले उम्मेदवारी दिएका छन् । ५ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी जिल्ला सचिव सुनिता अधिकारी, नेकपा एमालेबाट निवर्तमान पालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामी, स्वतन्त्रबाट पत्रकार अम्बिका पाण्डे र जनता समाजवादीबाट मिनाकुमारी गाहा वैशाख ३० गते हुन लागेको स्थानीय तहको अध्यक्ष पदमा भिडेका हुन् ।

गाउँपालिकाको अध्यक्षमा ४ जनाको उम्मेदवारी परे पनि एमालेकी उम्मेदवार चिदी र गठबन्धनकी उम्मेदवार अधिकारीबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेसकी जिल्ला सचिव समेत रहेकी अधिकारी विद्यार्थी राजनीतिदेखि महिलाको कुशल नेतृत्व सम्हालेकै कारण सबै माझ लोकप्रिय छिन्, भने चिदी यस अघि पालिकाको उपाध्यक्ष भएर काम गरेको अनुभव भएकाले पनि यि दुई बिच रोचक प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । २०५७ सालदेखि स्ववियू सदस्यबाट राजनीतिक यात्रा सुरु गरेकी निडर र आत्मविश्वासी अधिकारी त्रिभुवन बहुमुखी क्याम्पसमा इकाई सभापति हँुदै स्ववियूको केन्द्रीय सदस्य बनेकी थिइन् । विद्यार्थी हक, हित र विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेकी उनी नेविसंघको जिल्ला कोषाध्यक्ष हुँदै २०६५ सालमा जिल्ला सभापति बनिन् । झण्डै १० वर्ष नेविसंघको जिल्ला सभापति समहालेकी अधिकारी तत्कालिन अवस्थामा विद्यार्थी हक, हित र राष्ट्रिय राजनीतिमा अग्रहणी भूमिका निर्वाह गरिन् ।

महिला भएर पनि हरेक काम र राजनीतिक परिवर्तनका आन्दोलनमा पुरुष सरह योगदान गरेकी उनी दृढ राजनीतिक संकल्पकै कारण नेपाली काँग्रसको १४ औं महाधिवेशनबाट भारी मतका साथ विजयी भएकी भएकी हुन् । विभिन्न क्षेत्रमा महिलाको नेतृत्व समाल्दै आएकी अधिकारी सरल, मिजास र निडर स्वभाव भएकै कारण गठबन्धनले उनलाई अध्यक्षमा उभ्याएको हो । काँग्रेस नै देशको विकास गर्ने पार्टी भएकाले यसपटक जनताले काँग्रेसलाई रोज्ने उनको भनाइ छ । आफूसँग भौतिक विकासँगै सामाजिक विकासका थुप्रै एजेन्डा भएकाले तिनै एजेन्डा लिएर मतदातामाझ गएर भोट मागिरहेको उनले बताइन् । बगनासकालीमा शुरू भएका राम्रा योजना पूरा गर्ने र भौगोलिक रूपले समानुपातिक विकास गर्ने उनको संकल्प छ । ‘माग र आवश्यकताका आधारमा युवालाई सीप र क्षमता विकास तालिम दिने र बीउ पुँजी दिएर स्वदेशमै स्वरोजगार बनाउने अभियान चलाउने छु,’ अधिकारीले भनिन् । एमालेबाट उम्मेदवार बनेकी चिदी अहिले गाउँपालिकाको उपाध्यक्ष हुन् ।

गाउँपालिका उपाध्यक्ष हुँदा राम्रो भूमिका निर्वाह गरेकी चिदीलाई पार्टीले अध्यक्षमा अगाडि सारेको हो । उपाध्यक्ष हुँदा काम गरेको अनुभवले गर्दा नेतृत्वका लागि आफू अगाडि सरेको उनी बताउँछिन् । व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएको चिदीको अनुभव छ । गाउँपालिमा विजयी भए शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणका योजनालाई अगाडि सार्ने उनको योजना छ । ५ बर्षसम्म पालिकाको उपाध्यक्ष भई काम गरेको अनुभव र अपुरा रहेका काम पुरा गरी सुखी जनता र समृद्ध बगनासकाली निर्माणको लागि जनताले मेरो नेतृत्वमा नेकपा एमालेका उम्मेदवारहरु विजयी हुने बताइन् । यहाँ दुवै उम्मेदवार बलिया भएकाले पनि कसले जित्छ भन्न सक्ने अवस्था अहिले छैन । जसले जिते पनि बगनासकालीको नेतृत्व भने महिलाकै हातमा आउने निश्चित छ । पालिका प्रमुखदेखि वडा अध्यक्षसम्म महिलाको उम्मेदवारी अत्यन्तै कम परिरहेको समयमा यहाँ भने महिला नेतृत्व आउने भएपछि पालिकावासी उत्साहित छन् । महिलाले अवसर पाए नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बनेकी चिदीलाई प्रमुखमा सिफारिस गरिएको एमालेका उपाध्यक्षका उम्मेदवार एवं पालिकाका पार्टी प्रमुख हरिप्रसाद पाठकले बताए । पाल्पामा पहिलो पटक पालिकाको नेतृत्व महिलाले गर्ने छन् । यहाँ उपाध्यक्षमा भने पुरुष आउने छन् । उपाध्यक्षमा नेकपा एमालेका हरी प्रसाद पाठक र गठबन्धका उम्मेदवार खिमानन्द पाण्डे (कमल) बिच मुख्य प्रतिष्पर्धा रहेको छ ।

गठबन्धनको साँझा घोषणा पत्र, साँझा उम्मेदवार, साँझा नारा, सहमति, सहकार्यमा विकास योजना निर्माण गरिने उपाध्यक्षका उम्मेदवार पाण्डेले बताए । २०७४ सालको स्थानीय निर्वाचनमा बगनासकाली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसका कृष्णप्रसाद बस्यालले ५ हजार ५ सय ९४ मत ल्याई विजयी भएका थिए भने नेकपा एमालेका देवीप्रसाद बस्यालले ५ हजार ३ सय ४६ मत ल्याई उपविजेता बनेका थिए । यहाँ अहिले ९ हजार ५ सय ५ पुरुष, १० हजार ३ सय ३४ महिला गरी १९ हजार ८ सय ३९ मतदाता रहेका छन् । पालिका भित्र ११ मतदान स्थलको २२ वटा मतदान केन्द्रबाट मतदाताले मतदान गर्ने व्यबस्था मिलाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update