Shittalpati
नयाँ भेरिएन्टसँग सचेत बनौं

कोभिड–१९ को दोस्रो कहर कायमै रहेका बेला पुनः कोभिडको नयाँ भेरिएन्ट देखा परेको जनाइएको छ । दक्षिण अफ्रिकामा सोमबार पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरिएन्टले नेपालमा पनि थप चिन्ता थपेको छ । तीव्र गतिमा उत्परिवर्तित भएको नयाँ भेरिएन्ट बी.१.१.५२९ का कारण यो व्याधि अझ फैलिन सक्ने भय विश्वभर छ । विश्व स्वास्थ्य संगठनले यसलाई ओमिक्रोन नाम दिएको छ ।

यो भेरिएन्टविरुद्ध हालसम्म बनेका खोप प्रभावकारी नहुँने र संक्रमण दर पनि बढ्न सक्ने विज्ञहरूले बताउदै आएका छन् । अहिले यो भेरियन्ट युरोप र अमेरिकामा तीव्र रूपमा फैलिँदै गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो भेरियन्ट देखिएको देशलाई आधार मान्ने हो भने यो भाइरसले २० देखि ३० वर्ष उमेर समूहकालाई बढी संक्रमण गरेको पाइएको छ । यो भेरियन्ट कति घातक छ ? कति तीव्र गतिमा फैलिन सक्ने क्षमता लिएर आएको हो ? खोपले यसलाई काम गर्छ कि गर्दैन भन्नेमा अन्योल नै रहेकाले अहिले यो चिन्ताको विषय बनेको छ । विश्वमा नै यो चासोको विषय बनेकाले अहिले यसबारेमा अध्ययन भइरहेको छ । यसभन्दा अगाडि आएको डेल्टा भेरियन्टले एकछत्र राज गरेको थियो । कतै यसले पनि डेल्टाले जत्तिकै जोखिम ल्याउने त होइन भनेर चिन्न्त प्रकट भएको छ । यसबाट बच्न मानिसले थप सर्तकता भने अपनाउनु नै पर्छ । कोभिड देखिएका देशसँगको हवाई सेवालाई निरन्तरता दिने कि नदिने भनेर पनि सरकारले छिटो निर्णय गर्नुपर्छ । जति छिटो सतर्कता अपनाउन सक्यौ, स्वास्थ्य सुरक्षाका मादपण्ड लागू गर्न सक्यौ, जोगिने उपायको खोजी गर्‍यौँ, त्यो नै यसबाट जोगिने एकमात्र विकल्प हो । अमेरिकालगायत विकसित देशले यसबाट जोगिन संकटकाल र निषेधाज्ञाजस्ता उपाय अपनाउन थालिसकेका छन् । नेपालले पनि तत्काल उचित निर्णय लिन जरुरी छ । पक्कै पनि, कोरोनाका कारण दुई वर्षको लकडाउनले मुलुकको आर्थिक क्षेत्र चौपट भयो । शैक्षिक सत्र अस्तव्यस्त भयो । लाखौंले रोजगारी गुमाए । तर, केही समययता कोरोनाको संक्रमण कम भएसँगै मुलुक पूर्ववत् अवस्थामा फर्किने तरखर गर्दै थियो । तर पुनः कोभिडको अर्को भ्यारियन्टले तरंग फैलाएको छ । यस्तो बेला देखा परेको कोरोनाको संक्रमणबाट जोगिएर अघि बढ्नु नै सबैभन्दा उत्तम उपाय हो । यसर्थ संभावित दुर्घटनाबाट बच्नका लागि सरकार मात्र होइन, आम नागरिक पनि अनुशासितपूर्व थप सचेत बन्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update