
कुनै पनि देशको विकासको मूल आधार शान्ति हो । विकासको मूल आधार मात्र नभएर शान्ति मानव जातिको अमूल्य अधिकार पनि हो । शान्तिको अधिकार भनेको युद्धविरुद्धको अधिकार हो । युद्ध, हिंसा, हुलदंगा र सबै प्रकारका अशान्तिबाट स्वतन्त्र र मुक्त रहन पाउनु नै शान्तिको अधिकार हो । विश्वका सबै देश र जनतामा शान्तिको कामना गर्दै हरेक वर्ष सेप्टेम्बर २१ मा विश्व शान्ति दिवस मनाउने गरिन्छ । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो । सन् २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाइँदै आइएको यो दिवस २००२ देखि सेप्टेम्बर २१ मा मनाउन थालिएको पाइन्छ । विगतमा जस्तै यसवर्ष पनि यो दिवस मनाइँदै छ ।
नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले पछिल्लो समय यो दिवसलाई निरन्तरता दिँदै आएको छ । कुनै पनि मुलुकको समाज व्यवस्था व्यवस्थित गर्ने परिप्रेक्ष्यमा अहिंसा र शान्तिको महत्व र उपादेयता दर्शाउनु यसको मुुख्य ध्येय हो । अनि समाजमा विद्यमान असमझदारी, द्वन्द्व र अशान्तिको शान्तिपूर्ण रुपान्तर गर्नु र समाजमा रहेका द्वन्द्व, अशान्ति र हिंसा, हत्याका प्रवृत्ति र प्रक्रियाको शान्तिपूर्ण उपचार गर्दै जाने क्रिया–अनुक्रियालाई प्रोत्साहित गर्नु र राजनीति एवं राज्यव्यवस्था, न्याय व्यवस्था, सुरक्षा व्यवस्था, बजार व्यवस्था, विकास व्यवस्था र एनजिओ/आइएनजिओ व्यवस्थासमेतका सबै व्यवस्था व्यवस्थित गर्नु यसको प्रक्रियागत प्रयोजन हो ।
अझै पनि धेरै देशहरुमा हिंसा रोकिएको छैन । आज अशान्ति रोक्ने जे÷जति प्रयास भएका छन् ती हिंसालाई बलका भरमा रोक्नेतर्फ मात्र केन्द्रित छन् । हिंसा हुनका कारणहरुको सम्बोधनतर्फ विश्वको ध्यान केन्द्रित भएको छैन । शान्ति, अहिंसा, मानव अधिकार र लोकतन्त्र एकापसमा पृथक रहन नसक्ने भएकाले मानव अधिकार र प्रजातन्त्रको जगमा नै शान्ति स्थापना हुन्छ भन्ने कुरामा अझै पनि सरकारहरुको ध्यान पुगेको छैन । शान्ति भनेको त संस्कृति हो, शान्ति खोज्न अन्त जानुपर्दैन । शान्ति मानवको मनमस्तिष्कमा हुनुपर्छ । त्यसैले हरेक मानवले मनमस्तिष्कबाट हिंसा हटाई शान्तिलाई स्थान दिन सकेमात्र समाजमा शान्ति स्थापना हुन्छ र हरेक वर्ष मनाइने दिवसले सार्थकता प्राप्त गर्दछ ।