Shittalpati
राजनीतिक ‘प्रायश्चित्त’

गलती, अपराध, अपकार्य र पाप जस्ता दुष्कर्मबाट दोषमुक्त हुनका लागि गरिने उपाय प्रायश्चित्त हो । यसले मानिसलाई मानसिक शान्ति, नैतिक र आत्म शुद्धी गराउँछ । विगतमा गल्ती भयो आइन्दा दोहोर्‍याउन्न भनेर गरिने प्रतिज्ञा हो प्रायश्चित्त । पश्चाताप गरिनुको अर्थ सोच्नु  मात्र होइन खराब काम नगर्ने गरी कामलाई सुधारेर लैजानु हो, जसले खराब कार्यको क्षतिपूर्ति  गरियोस् । विमलावती तन्त्र ग्रन्थ अनुसार ‘प्रायोनामस्तपस्प्रोतम चित्तम  निश्चय उच्चते ,तपो निश्चय संयोगम् प्रायः चित्तम् प्रकृतितेम्’ ।  धार्मिक दृष्टिकोण अर्थात् क्लासिकल दृष्ट्रिकोणबाट प्रायश्चित्त तपस्या हो । घुमन्ते बनेर निश्चित समय घरपरिवार त्यागि  मागि गुजारा गरि आफुलाई पनि कष्ट दिइ गरिने प्रायश्चित्त पनि  यसै भित्र पर्छ । वस्तुनिष्ट दृष्ट्रिकोणबाट  दण्ड सजाय भोगेर प्रायश्चित्त  हुन सक्दछ । अहिले कारागारलाई सुधारगृह पनि भनिन्छ । वैयक्तिक  दृष्ट्रिकोणबाट पालना गर्दा प्रायश्चित्तमा नैतिक प्रभाव सिद्धान्त अपनाइन्छ । पाप कर्म गरेमा प्रायश्चित्त गर्नु पर्दछ ।  राजनीतिमा चार प्रकारका पाप हाम्रा जस्ता देशमा व्याप्त छन् । ति हुन मनोवृत्ति, कर्म , उपेक्षा र ध्येय । क्लासिकल दृष्ट्रिकोण र वस्तुनिष्ट दृष्ट्रिकोणको  धेरै व्याख्या तिर  नलागि  यहाँ वैयक्तिक  दृष्ट्रिकोणबाट राजनीतिक प्रायश्चित्तको चियो चर्चा गर्ने  प्रयास गरिएको छ ।  

मोहन चन्द्र करमदाशले अर्थात् महात्मा गान्धिले राजनीतिमा सात प्रकारका पाप हुने बताएका छन् । तर यहाँ मनोवृत्तिगत, कर्मगत, उपेक्षागत र ध्येयगत राजनीतिक पाप र त्यसको पश्चाताप छिचोल्न प्रयास गरिएको छ । वैयक्तिक रुपमा नेता नैतिक भएनन् भने उसले फगत पाप मात्र गर्दछ । शक्तिमा भएको समयमा नैतिक जो हुन्छ , त्यो मात्र दोष रहित हुन्छ । त्याग गरेको गाथा मात्रले उच्च नैतिकता मापन हँुदैन । लोभ रहित छ छैन त्यसले मापन गरिन्छ । शक्तिमा भएको समयमा र शक्ति प्राप्त गर्न अवलम्बन गरेको तरिका एवम् कार्यशैलीमा  नैतिकता मापन गरिनु पर्दछ । तत्कालिन राजा त्रिभूवनले परिवर्तनका लागि मात्र परिवर्तन भयो भने त्यो केवल वेइमानी हुनेछ भनेका वाणी हामीले पछि पढेका थियौं । राणा शासन गयो, पञ्चायती व्यवस्था गयो , राजाका  पटक–पटकका प्रत्यक्ष  शासन गए, बहुदलिय प्रजातान्त्रिक  शासन गयो , सङ्घीय लोकतान्त्रिक  गणतान्त्रिक शासन पनि आयो र यो पनि दुई पटक घायल कालय भयो । पहिलो संविधान  सभाको असफलतापछि अनि दुई ठूला  दलको सकारको असफलता पश्चात सरकार गठनमा भएका तरिकाले  सङ्घीय लोकतान्त्रिक  गणतन्त्र  पनि घाइते रुपमा छ । अस्तव्यस्त परिपाटी , कुशासनको जड  मनोवृत्ति हो । संविधान छ , ऐन, कानून, कार्यविधी छन् । तर अराजकता, राजनीतिमा वेईमानी हावी हुनु नेताहरुको , व्युरोक्रेशीको  मनोवृत्ति ठिक नहुनाले हो । असल काम गर्नु पर्छ भन्ने  मनमा छ तर गर्दैनन् । जनताको कल्याण गर्न राजनीति गरेको, राष्ट्रिय अखण्डता र जनताको स्वाधिनताका लागि दल खोलेको भन्छन् तर मलाई प्रधान बनाउने फलाना, फलाना विदेशी मान्छेको गुन विर्सेको छैन भन्छन् । निर्वाचनमा एकथरी मिलेर जित्छन् तर सरकार अर्कै सित मिलेर बनाउछन्, मिल्ने छुट्टिने, गाली गर्ने प्रसंशा गर्ने चक्र दैनिक फेरबदल गर्छन् । नेपाललाई नेपाल बनाउँछु भन्न सक्दैनन्, सिंगापुर , स्विजरल्याण्ड बनाउँछु भन्छन् । भएका सडक र सडक स्तरोन्नति नाजुक छन् , पानी जहाज र चुच्चे रेलका कुरा , घर–घरमा ग्यास पाइपलाइनका  जस्ता तत्काल असम्भव कार्य पत्याइने खालका रहेनन् । पञ्चायतकालमा एशियाली मापदण्ड , आधारभूत  आवश्यकताका गफ र अहिलेका मध्यम आय भएको मुलुक बनाउछु भन्ने अवस्था उस्तै छन् ।  निमुखलाई न्याय, विपन्नलाई आय भन्ने,  तर  अवसर जति आफ्नैलाई  भाग लगाउने ।  अमेरिकमा यति कमाउथे, त्यहाँको राष्ट्रपतिले यति लाख डलर सापटी तिरेनन् जस्ता अनेकौं फन्टुस गफ पत्याउनु  हाम्रो पनि कमजोरी छ । जिम्मेवार  पदमा बसेर नेतृत्व गरेकाको मानसिक प्रवृत्तिका विषयमा जनतामा उनीहरुको  व्यवहार , चालचलन , आचरण, कार्य ,विशेषताप्रति घृणा  जाग्यो । अमुक नेता, कर्मचारी भन्ने वित्तिकै  ठग नै हो भन्ने ठहर गर्न लागियो । जेनजी आन्दोलन भयो , विनास भयो तर यसको लाभ अर्कैले लिए ।  सरकारका अर्थ मन्त्री भन्छन् – “सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टबाट माथि जान यस्ता मुद्दाको अनुसन्धान, अभियोजन बढाउनु पर्दछ र  जोडिएका संगठित अपराध र ठगिका मुद्दा चलाई  सजाय दिनुपर्छ । ”तर उनकै मन्त्रिपरिषद् बैठकले पचासौं जना विरुद्धका अदालतमा विचाराधीन यस्ता  अभियोग फिर्ता लिन्छ । यस्ता मनोवृत्तिगत राजनीतिक ‘पाप’ थपिदैछन् ।

पाप गर्दा गर्दा यति सम्म खप्पिस भयौं  कि अमुक सभामा सुशासनका भाषण गर्ने , बैठकमा कार्य प्रभावकारिताका निर्देशन दिने राजनीतिक र व्यवस्थापकीय नेतृत्वले  कर्मचारी सरुवामा समेत घुसको सेटिङ गरे ।  कर्म कति सम्म लाजपचाउदो गर्न लजाउदैन कि तिनै कर्मचारीलाई निर्देशन दिदै भन्छन् भष्ट्राचारमा शून्य सहनशीलता मेरो कर्म हो । अझ कार्यालय प्रवेश गर्दा दैलोमा भष्ट्राचार गर्दिन भनि  कसम खाऊ भनेर टांसि दिन्छ । नक्कली भुटानी शरणार्थी , वाइडबडी , ओम्नी , टिस्टेड , रिर्साेट, निवास, क्यान्टेनमेन  मात्र हैन ठेक्का पट्टा, नीति निर्णय , उम्मेदवारी टिकट वितरणमा भेटाए जति कुनै ठाउँ बांकी छोडेका छैनन् भन्ने शंका र चर्चा बेलाबेला सुनिन्छ । शिल्यानाश जति पनि हुन्छन् ,  निर्माणका उद्घाटन भने कम हुन्छन् , गरे पनि अधुरोमै हुन्छन् । अपवाद बाहेक संबैधानिक  परिषदबाट गर्ने नियुक्ति , राजदुत नियुक्ति निःशुल्क हँुदैनन् भन्ने छ । कोटा लिन्छन् र भाउँ बढाबढ गर्छन् । हुन नसकेको कामको दोष अरुलाई दिन्छन् , भएका कामको जस आफुले लिन्छन् । खराब कामको  अभियोजन अरुलाई लगाउछन् ।   ‘पाप’ माथि पाप गर्दै जान्छन् ।

कसैलाई अयोग्य वा तुच्छ ठानेर उसप्रति ध्यान नदिनु , वेवास्ता गर्नु, उसका प्रति लापरवाह गर्नु , तिरस्कार गर्नु , निन्दा वा अनादर गर्नु उपेक्षा हो । जनताको अपेक्षालाई यथा क्षमता पनि पुरा नगर्नु उपेक्षा हो । आवश्यक नीति , कानून तर्जुमा गर्नु भन्दा संसद दलगत स्वार्थ र फलानाको गल्ति छ , छैन भन्ने सवालमा अनिर्णयको व्यर्थ विवाद गरिरहनु , बैठक अवरुद्ध गरिरहनु , साझेदार हँुदा निर्दोष छ भन्नु , विपक्षामा हुँदा उही विषयमा उही व्यक्ति  उपर किटानी दोषारोपण गर्नु पनि उपेक्षा हो । अत्यावश्यक ठानिएका कानून जुन सेवा प्रवाह र सुशासन कायम गर्ने औजार हुन । जस्तै कि सङ्घीय निजामती ऐन, राष्ट्रिय  शिक्षा ऐन त्यति ठूलो आन्दोलन पश्चात पनि  निर्माण नगर्नु जनता र सेवा प्रदायक प्रति उपेक्षा हो । संविधान संशोधन  गर्न , दुई ठूला दलको सरकार भनियो । तर एक दिन पनि शीर्षतहमा छलफल नहुनु देश प्रतिकै उपेक्षा हो । राजनीतिक उपेक्षा  देश र जनता माथि मात्र सीमित छैन ।  अन्तर दल र आन्तरिक पनि छ । महाधिवेशन गर्न आलटाल गर्ने,  विधान बमोजिम गर्नेलाई सदस्यता  खारेज गर्ने र निस्कासन गर्ने । आन्तरिक  प्रतिस्पर्धा  गरेको निहुँमा उम्मेदवारी टिकट नै नदिने, अन्य दल त्याग गरि प्रवेश गर्नेलाई निमेषमै टिकट दिने आफ्नै अनुयायी प्रतिको  घोर उपेक्षा राजनीतिमा छ । नेता , कार्यकर्तालाई अन्याय  गर्नु पाप नै हो । 

कार्यपालिका , व्यवस्थापिका , न्यायपालिका देशका  धरोहर  हुन् । जनताको सार्बभौम अधिकारको  अभ्यास र कार्यान्वयन गर्ने थलो नै भष्म पार्ने , भंग गर्ने  ध्येय हुनु विडम्बना हो । जनताको सर्वाङगीण उन्नति , राष्ट्रको समृद्धि राजनीतिको ध्येय हुनु पर्नेमा  आफ्नो पद अकण्टक गर्न खोजेर श्रोत साधनलाई वैयक्तिक लाभमा उपयोग गर्न उद्धत ध्येय घातक हो । दलको नाम फेरेर हुन्छ कि ?, पदनाम फेरेर हुन्छ कि ?, आफ्नालाई कारवाही गरेर अरुलाई भित्राउँदा हुन्छ कि ?, गठबन्धन गरेर वा तोडेर हुन्छ कि ? सदा शक्तिमा रहने ध्येय छ । नयां भनेकामा गैह्र राजनीतिक  प्रविणताको आडमा  जनप्रिय देखिने, त्यसको दुरुपयोग गरेर जम्मा गरेको रकमले राजनीति  गर्ने , पुरानाको योगदानको अनादर गरेर बागडोरमा पुग्ने ध्येय बनाएको  पनि छर्लङ्ग देखिन्छ । जो प्रतिकूल रागबाट उदाए , म र मेरो असल, अरु खराब र दुष्मन हुन भन्ने लगाव भएकाको  मोहजालमा  बत्तिमा पुतली  झुम्मिए झै झुम्मिएकाहरुले  तिनीहरुको पृष्ठभूमि , कलुषित आचरण , ध्येय कस्तो छ परख गरिएन भने उनीहरुको पापको हिस्सेदारी  भोग्नु पर्ने नियति  अवश्यभावी  हुन सक्दछ ।

कुनैले अरुको वदख्वाई गरेर, आफ्नो दोष अरुमा थुपारेर, नाम फेरेर, पद फेरेर, आन्तरिक  आलोचकलाई पाखा लगाएर, तर्साएर, धम्काएर मात्र प्रायश्चित्त  हुँदैन । विगतका कमीकमजोरी, त्रुटि, खराबीको प्रति क्षमाशील  हँुदै, आइन्दा  सुध्रने कसम खाँदै, आगामी मनोवृत्ति सुधार्छु, कार्यशैली उत्तम  अपनाउछु, कसैलाई  उपेक्षा  गर्नै छैन र लक्ष्य यस्तो छ, उध्येश्य यस्तो लिए, अन्तिम उपलब्धि यो यो हासिल गर्ने, गराउने छु भनेर विश्वसनीय मार्ग चित्र स्पष्ट गरेर आउछ, आउने छनक देखाएको छ, शाहस  देखाएको छ,  पूर्ण शरणागत हुँदै जनतालाई नै राजनीतिक  शक्ति मान्ला जस्तो छ, जसले पूर्णरुपले राजनीतिक  प्रायश्चित्त  गरेको छ, त्यसैलाई मतदान गरेर आफुले पनि प्रायश्चित्त  गर्ने समय मतदातामा आएको छ । मतदाताले  परख गरेर, सोचेर, बुझेर  सत्यको पक्षमा  मतदान गरिएन र  लहलहैमा मत खेर  गयो भने प्रायश्चित्त गर्न लामो अवधि कुर्न पर्ला । पुराना हुँदैमा सबै त्यज्य हुदैन, नयाँ हुँदैमा सबै ग्राह्य हुँदैन । एउटा जिम्मेवारी पुरा नगरि असामयिक रुपमा अर्को ताक्ने प्रवृत्ति निरुत्साहित गरिनु पर्छ ।  अभियोगमा न्यायिक सुनुवाई  नटुङ्गिएकालाई मतदान गरेर प्रतिनिधित्व  शून्य बन्ला कि भन्ने पक्षमा विचार गर्नु  पनि पर्ला । आफ्ना समर्थक दलका चिह्नमा भोट  दिदैन भन्ने बुझेर उसलाई  अर्का  स्थापित दलका चिह्नमा भोट नदेउस् भन्ने मनसायले  मतदातालाई भ्रममा पार्न पनि अमुक दलका कट्टर कार्यकर्ताले यस पटक  यस चिह्नमा भोट दिने भएको छु भनेर सुनाउने तर आफुले आफ्नै दलकालाई  दिने अरुकालाई भट्काउने परिपञ्च चलेको छ । होसियार रहनु पर्ने छ । यथा प्रजा तथा राजा भन्ने पुरानो भनाई नयाँ सन्दर्भमा पनि लागू हुन्छ । तसर्थ विवेकशील  मतदाता बनेर  पछि प्रायश्चित्त  गर्न नपर्ने गरी मतदान गरौं ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update