पाल्पा, पूर्वी पाल्पासँगै गण्डकी बेशी क्षेत्रको जेठो क्याम्पस शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पाले वार्षिक क्याम्पस सभा तथा ३४ औं वार्षिक उत्सव मनाएको छ । क्याम्पसले एक औपचारिक कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रमको लुम्बिनी प्रदेशसभा सदस्य एबं अर्थ उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उनले समुदायले चलाएको क्याम्पस पुर्वि पाल्पाको मात्र नभएर गण्डकी प्रदेशको स्याङ्जा, तनहुँ र नवलपुरको गौरवको क्याम्पस बन्दै गएको बताए । उनले यस क्षेत्रका जनताको साथ र सहयोगले अब रामपुरलाई शिक्षा र स्वास्थ्यको हबको रुपमा विकास गर्न सकिने उल्लेख गरे । सभापति श्रेष्ठले क्याम्पसमा छात्रबास निर्माणको लागि गतबर्ष लुम्बिनी प्रदेश सरकारले २० लाख बजेट विनियोजन गरेर क्याम्पस हितमा काम गर्दै आएको र आगामी दिनमा विद्यार्थीहरुको सहजताका लागि बस खरिद गर्नको लागि लुम्बिनी प्रदेश सरकारमा पहल गर्ने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले शहीद बहुमुखी क्याम्पस रामपुरको मात्र नभएर कालीगण्डकी बेसिको शिक्षा केन्द्र रहेको बताए । उनले आफू निर्वाचित भएर आएपछी यस क्याम्पसमा रामपुर नगरपालिकाले २ करोड भन्दा बढी आर्थिक सहयोग गरेको दावी गरे ।
कार्यक्रममा रामपुर नगरपालिकाकी पूर्व उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष देबराज ढकाल ,नेपाली काङ्ग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई,नेकपा एमाले रामपुर नगरकमिटी उपाध्यक्ष अशोक श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी रामपुरका सह संयोजक लक्ष्मी ढकाल ,राष्ट्रिय जनमोर्चा रामपुरका प्रतिनिधि पदम बहादुर पौडेल, रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल,पृथ्वी टेलिभिजन रामपुरका स्टेशन प्रबन्धक कृष्ण पौडेल, क्याम्पस प्राध्यापक संघका एकाई सभापति सारदा प्रसाद पाण्डेले लगायतले शहीद बहुमुखी क्याम्पसले गण्डकी क्षेत्रमा शिक्षाको ज्योती फैलाएको बताए । कार्यक्रममा शहीद बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्वबियु) सभापति राजन गौतम ,अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष मनिस आचार्य, नेपाल विद्यार्थी संघ क्याम्पस एकाई समिति सभापति आकाश भट्टराई, अनेरास्ववियु क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्ष बिमल क्षेत्री लगायतले शहीद क्याम्पसको महत्वबारे चर्चा गरे । कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस सञ्चालन समितिका अध्यक्ष रामप्रसाद ढकालले प्राविधिक शिक्षा ,संकाय थप गर्ने र छात्रबास निर्माण गर्ने महायज्ञको उद्देश्य अनुरुप कार्यान्वयनको चरणमा रहेको बताए । कोषाध्यक्ष यमबहादुर सुनारले आर्थिक बर्ष २०८१÷०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ३ करोड ७१ लाख ८९ हजार ५ सय ५७ रुपैयाँ बराबरको आम्दानी तथा खर्चको विवरण प्रस्तुत गरे । क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले जानकारी दिँदै विद्यार्थी बसको ब्यवस्थापनका लागि पहल भैरहेको बताउँदै प्रविधिमैत्री शिक्षाको विकासमा क्याम्पस लागिरहेको जानकारी दिए । अतिथिहरुले शहीद सुर्य प्रसाद घिमिरेको सालिकमा पुष्प गुच्छा अर्पण गरी सम्मान गरेका थिए । कार्यक्रममा स्नातकोत्तर तहमा २०८० सालबाट २०८२ सालसम्म पास हुने ६७ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी क्याम्पसमा स्थापना भएको विभिन्न अक्षयकोषबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद रकम सहित सम्मान पत्रले सम्मान गरिएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामप्रसाद ढकालको अध्यक्षता, उपाध्यक्ष सुकदेब पोखरेलको स्वागत र प्राध्यापक सुर्यप्रसाद घिमिरे र ध्रुव प्रसाद पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो । बि .स. २०४८ सालमा स्थापना भएको क्याम्पसमा अहिले स्नातकोत्तर तहसम्म शिक्षा र ब्यबस्थापन संकायमा पठनपाठन भैरहेको छ भने स्नातक तहमा मानबिकी, ब्यबस्थापन र शिक्षा संकायमा पठनपाठन भैरहेको छ । क्याम्पसमा अहिले ७५७ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।


