पाल्पा, सामाजिक र राजनीतिक क्षेत्रमा चिरपरिचित नाम हो हिमालदत्त श्रेष्ठ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिबाट उदाएका श्रेष्ठ नेपाली राजनीतिको प्रभावशाली युवा नेतामध्ये एकका रूपमा परिचित छन् । युवा पुस्तामाझ लोकप्रिय छवि बनाउन सफल उनको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट प्रारम्भ भएको हो । मातापिता बाबुराम श्रेष्ठ र तिलकुमारी श्रेष्ठका छोरा हिमालको जन्म २०३७ सालमा तानसेनमा भएको हो ।
तानसेनस्थि सेन माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका श्रेष्ठको सानैदेखि समाज र राष्ट्रको सेवा गर्ने सपना थियो । त्यही सपनाका कारण उनलाई विद्यार्थी राजनीतिप्रति आकर्षित ग¥यो । सेन विद्यालयमा अध्ययनरत रहँदादेखि नै उनी विद्यार्थी राजनीतिमा सक्रिय थिए । २०५१ सालमा सेन माविको नेविसंघ सभापति बनेका श्रेष्ठको त्यसपछि विद्यार्थी राजनीतिमा सक्रियता अझै बढ्दै गयो । २०५४ मा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा इकाई सदस्य र २०५५ मा स्व.वि.यु सदस्य बनेका उनी नेवि संघको एकाई सभापति, स्व.वि.यु. उपसभापति हुँदै २०६० मा स्व.वि.यु. सभापतिमा निर्वाचित भएका थिए । त्यही बेला जनआन्दोलनका क्रममा श्रेष्ठ काठमाडौंमा गिरफ्तारीमा परे । १७ दिनपछि रिहा भएका उनी २०६१ मा नेविसंघ पाल्पाको सभापति बने । सोही बेला पनि उनी पाल्पामा गिरफ्तारीमा परे । त्यसपछि श्रेष्ठ नेविसङ्घको केन्द्रीय राजनीतिमा प्रवेश गरे । २०६२ मा नेविसंघ केन्द्रीय सदस्यमा मनोनित भएका उनी २०६४ मा चितवनमा भएको महाधिवेशनबाट पश्चिमाञ्चल क्षेत्रबाट सबै भन्दा बढी मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । सोही बेला श्रेष्ठ नेपाली काँग्रेसको जिल्ला अधिवेशनबाट पहिलो स्थानमा जिल्ला सदस्य निर्वाचित भएका थिए । २०७२ मा नेपाली काँग्रेसको महासमिति सदस्य बनेका उनी २०७३ मा नेवि संघको केन्द्रीय महामन्त्रीका उम्मेदवार थिए । विद्यार्थी र पार्टीका विभिन्न तहमा बसेर महत्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठ अन्ततः २०७७ मा नेपाली कांग्रेस पाल्पाको सभापतिमा निर्वाचित भए । विद्यार्थी राजनीतिबाट जिल्ला नेतृत्वसम्मको लामो सङ्घर्षपूर्ण यात्रापछि नेपाली कांग्रेसको सभापति बनेका श्रेष्ठले जिल्लाको संगठनलाई थप बलियो बनाउने दिशामा महत्वपूर्ण भूमिका खेले । विभिन्न आन्दोलनका क्रममा पटक–पटक हिरासतमा परेका उनी राजनीतिक सङ्घर्षका अनुभवी पात्र बने । हुने विरुवाको चिल्लोपात भनेझै सानो उमेरदेखि समाज सेवा र राजनीति क्षेत्रमा इमान्दारिताका साथ लागेका श्रेष्ठ अन्ततः संसद्को यात्रामा छन् । उनले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका छन् । जिल्लाको राजनीतिबाट जनताको सेवामा समर्पित रहेका श्रेष्ठ अब संसद्बाटै जनताका सवालमा सरकारलाई प्रश्न गर्ने र जवाफदेही बन्ने भूमिकामा जान चाहन्छन् । मनोनयन दर्ता गरेर मतदातासँग भेटघाट थालेका उनी उत्साहित देखिन्छन् । श्रेष्ठका अनुसार अहिले पार्टी पंक्तिलाई संगठित गरेर मतदाताको माझ पुग्ने काम तीव्र बनाइएको छ । राजनीतिप्रति जनआक्रोश बढिरहेका बेला पारदर्शिता, सुशासन र जवाफदेहिताले मात्र जनविश्वास जित्न सकिने उनको धारणा छ । अग्रज नेताको सुझाव र समर्थन लिएर अघि बढेको उनी बताउँछन् । चुनावमा राजनीतिक दलमाथि मासु–मदिरासँग भोट साट्ने आरोप लाग्दै आएको सन्दर्भमा श्रेष्ठले सुधारिएको कांग्रेसले त्यस्ता प्रवृत्ति नदोहोर्याउने दाबी गर्छन् । पार्टी रुपान्तरणपछि उच्च शिर लिएर मत माग्न सक्ने अवस्था बनेको अनुभूति उनी गर्छन् । “नेतृत्व परिवर्तन नभएको भए प्रश्नको भारले हामी थिचिन्थ्यौं,” उनी भन्छन्, “अहिले सुधारिएको कांग्रेसका प्रतिनिधिका रूपमा मतदातामाझ उभिन पाउँदा उत्साह बढेको छ ।” नयाँ दलहरूको चुनौतीलाई पनि उनी स्वाभाविक प्रतिस्पर्धाका रूपमा लिन्छन् । “सबैसँग स्वस्थ प्रतिस्पर्धाका लागि हामी तयार छौँ,” उनको भनाइ छ । सांसदको भूमिकाबारे बोल्दा श्रेष्ठ स्पष्ट छन् । प्रतिनिधिसभा सदस्य कानुन बनाउनका लागि चुनिने भए पनि जनताको विकाससम्बन्धी अपेक्षाबाट अलग रहन नसकिने उनी बताउँछन् ।
नीति निर्माण, बजेट विनियोजनमा प्रभाव पार्ने, कार्यपालिका माथि प्रश्न उठाउने भूमिकाबाट पनि जनताको अपेक्षा पूरा गर्न सकिन्छ,” श्रेष्ठ भन्छन् । तर असम्भव आश्वासन दिनु गलत हुने उनी चेतावनी पनि दिन्छन् । पाल्पाका मतदाताले आफूलाई भोट दिनुपर्ने आधारका रूपमा उनी सुशासन, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको आफ्नो विगतलाई अघि सार्छन् । “पहिलोपटक उम्मेद्वार बनेको म सुशासनमा विश्वास गर्छु,” उनी भन्छन्, “भोलि संसद्बाट जनताको आवाज उठाउनेछु ।” सुधारिएको कांग्रेस, नयाँ नेतृत्व र नयाँ अनुहारको सन्देश लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका श्रेष्ठ पाल्पाको भूगोल, समस्या र जनभावना आफूले राम्ररी चिनेको बताउँछन् । जेन–जीको भावनालाई आत्मसाथ गर्दै मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउन लाग्नु पर्ने जोड दिँदै आएका उनी आफूलाई सबैले मतबाट माया गर्ने विश्वासमेत लिएका छन् । युवा नेता र अनुहार भएकाले पनि श्रेष्ठको उम्मेदवारीप्रति यहाँका मदताहरुमा उत्साह छाएको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय र परिचित श्रेष्ठलाई जिल्लामा राम्रो पहिचान बनाएका नेताका रुपमा धेरैले लिने गर्दछन् । जसले गर्दा उनको संसद यात्रा निश्चित जस्तै रहेको आमवृतमा विश्लेषण हुन थालेको छ ।


