
पाल्पा, सहकारी क्षेत्रमा अब्बल बन्दै आएको गणेश बचत तथा ऋण सहकारी संस्थाले १२ औं साधारण सभा मनाएको छ । सहकारीले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।
सभाको जिल्ला सहकारी संघ लिमिटेड पाल्पाका अध्यक्ष भूपति पाण्डेयले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि पाण्डेयले पाल्पाका सहकारीहरुमा कुनै पनि समस्या नभएकाले ढुक्क भएर कारोबार गर्न शेयर सदस्यहरुलाई आग्रह गरेका छन् । उनले कर्मचारीहरुको बदमासीका कारण केही सहकारीमा समस्या देखिएको भए पनि पाल्पाको हकमा त्यस्तो नरहेको स्पष्ट पारे । अध्यक्ष पाण्डेयले बाहिर जस्तो भए पनि सहकारीहरुमा त्यस्तो नरहेको बताए । उनले भने “केही सहकारीहरुमा कर्मचारीहरुको बदमासीले समस्या आएको हो तर केही सहकारीहरुको बदमासीका कारण सबै सहकारीलाई एकै ठाउँमा राखेर हेर्ने जुन प्रयास भइरहेको छ त्यो गलत हो । हल्लाको पछाडी नलाग्न म शेयर सदस्य ज्यूहरुलाई आग्रह गर्छु ।”
अध्यक्ष पाण्डेले अब सहकारीहरु प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिए । उनले सहकारीहरुमा समस्या आउन नदिन सहकारीहरु प्रविधिमै बन्न जरुरी रहेको धारणा व्यक्त गरे । अध्यक्ष पाण्डेले भने “सहकारीले आफ्नो संस्थाको आवश्यकता के हो ? त्यसलाई पहिचान गरेर प्रविधि भित्र्याई हाल्नुहोस् ।” कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीले आर्थिक समृद्धिका लागि गणेश सहकारीको योगदान महत्वपूर्ण रहेको बताए । उनले पछिल्लो समय देशका केही सहरमा सञ्चालित सहकारीहरुमा समस्या आएको भनिए पनि पाल्पाका सहकारीहरुमा हालसम्म त्यस्तो अवस्था सिर्जना नभएको उल्लेख गरे । सचिव रायमाझीले गणेश सहकारी वित्तिय क्षेत्रमा अब्बल बन्दै गएको भन्दै यस सहकारीमा कुनै समस्या नभएको बताए । उनले भने “ म यस सहकारीसँग विगत पाँच वर्षदेखि निरन्तर नजिकबाट चिन्ने र यसका गतिविधिहरु नियाल्ने अवसर पाएको छु, यस सहकारीका सञ्चालकहरु भूपु सैनिकहरु मात्रै हुनुहुन्छ, उहाँहरु आफैमा इमान्दार सिपाही भएकाले यहाँ कुनै समस्या छैन, ढुक्क भएर रकम बचत गर्न सकिन्छ ।” सहकारीका कानुनी सल्लाहकार शिवप्रसाद देवकोटाले केही सहकारीहरुले नियम कानुनको आत्मसाथ नगर्दा समस्या आएको भन्दै गणेश सहकारीले भने सहकारीको सिद्धान्न, मर्म र नियम कानुन अनुसार आफुलाई अगाडि बढाएको उल्लेख गरे । सहकारीका लेखापरीक्षक श्रीकृष्ण नेपालले सहकारीको प्रगति लोभ लाग्दो रहेको बताए ।
कार्यक्रममा सहकारीका अध्यक्ष विष्णु गाहाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सहकारी अगाडि बढेको बताए । उनले आफुहरु इमान्दारिताका साथ काम गर्दै आएकाले सहकारीमा कुनै पनि समस्या नभएको स्पष्ट पारे । उनले भने “हामी सहकारीको मूल्यमान्यता, सिद्धान्त र उद्देश्य अनुसार नै काम गरेका छौं, प्रत्येक वर्ष शेयर सदस्यहरु पनि थपिदै जानु भएको छ । ढुक्क भएर कारोबार गर्नुहोस् हाम्रोमा कुनै समस्या छैन ।” अध्यक्ष गाहाले चालु आर्थिक वर्षमा एक सय जना सदस्यहरु थप्ने, जेष्ठ शेयर सदस्य, उत्कृष्ट बचत, कर्जा कारोबार गर्नेलाई सम्मान गर्ने, आर्थिक वर्ष २०८१÷०८२ को लाभांश रकम सम्पूर्ण शेयर सदस्यहरुलाई आफ्नो शेयर रकम अनुसार भुक्तानी गर्ने, स्थायी सम्पति मर्मत सम्भार कार्यलाई निरन्तरता दिइने, लेखा परीक्षक नियुक्त गर्ने आगामी कार्यक्रमहरु रहेको बताए । उनका अनुसार सहकारीमा अहिले १ हजार ५ सय १३ जना शेयर सदस्य रहेका छन् । अध्यक्ष गाहाले सभामा प्रस्तावका रुपमा ल्याएका कर्मचारी नीति नियम, ऋण नीति नियम, प्रशासकिय नीति नियम, बचत नीति नियम र निर्वाचन नीति नियम समेत सर्वसम्मतरुपमा पारित भएका छन् ।
कार्यक्रममा लेखा समिति संयोजक हेमानसिं सारुले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष चन्द्रबहादुर खाम्चाले चालु आर्थिक वर्षको एक करोड ९५ लाख बराबरको वार्षिक अनुमानित आय–ब्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारीले जेष्ठ नागरिक ताराबहादुर कुंवर, ठगिश्वर सिंजाली, उत्कृष्ट बचततर्फ संस्कार कुंवर, विनिता नेपाली, दैनिक बचततर्फ सोनिका पाण्डेय, भोजबहादुर थापा, नियमित बचतकर्तातर्फ अमनप्रसाद श्रेष्ठ, कमला झेडी, आवाधिक बचततर्फ हुमबहादुर आले, रोमकुमारी शाक्य, असल कर्जातर्फ रामबहादुर पचाभैया र गिता भण्डारीलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष विष्णु गाहाको अध्यक्षता, उपाध्यक्ष दलबहादुर थापाको स्वागत, सचिव कान्ति माया आलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।