
पाल्पा, पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ ।
स्वस्थानी ब्रतकथाको समापनका लागि अन्तिम दिन साङ्गे गरिदै छ । पूजामा स्वस्थानी परमेश्वरीलाई चढाउने १ सय ८ अक्षता सहित त्यति नै संख्यामा बेलीपुष्प, सुपारी, जनै, पान, बत्ति, एवं मौसम अनुसारका फलफूलहरू सहित पूजा सामग्रीहरू तयार पारिन्छ । साथै १ सय ८ रोटीहरु पनि पकाइन्छ । पूजाका क्रममा स्थापना गरिएको शिवलिङ्ग सहित ॐकारयुक्त अष्टदलमा श्री स्वस्थानी परमेश्वरीको विशेष पूजा गरिन्छ । पूजा समापनसंगै जुन कामनाले व्रत गरेको हो सोही कामना पूरा होस् भन्दै अर्घ दिइन्छ । श्रद्धा भक्तिपूर्वक सम्पन्न गरिएको स्वस्थानी ब्रत साङ्गे समाप्त भएपछि ब्रतभरी प्रयोग गरिएका र जम्मा भएका फूलपाती तथा अन्य पूजा सामग्रीहरुलाई तलाउ, खोला, नदी तथा सागरहरुमा लगेर सेलाउने चलन रहेको छ । १ सय ८ वटा जनै, सुपारी र रोटी मध्ये आठ वटा आफ्ना पतिलाई, पति नभएमा छोरालाई, छोरा नभए मित छोरालाई र मित छोरा पनि नभए फूलपातीसँगै लगेर सेलाउने चलन रहेको छ ।ब्रत समापनका दिन नजिकैका ताल तैलैया, नदी, सतिदेवीका अंग पतन भएका पवित्र पिठस्थलहरुमा ब्रतालु एवं सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । एक महिनाभरि प्रत्येक बिहान नुहाई धुवाई गरी श्रीस्वस्थानीको पूजा गरी एकछाक शुद्ध भोजन गरी ब्रत समापन गरिएको हुन्छ । श्री स्वस्थानीको ब्रतको प्रभावले परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।
सत्य युगमा हिमालय पर्वत पुत्री पार्वतीले महादेव पति पाउँ भनी निराहार रहि श्री स्वस्थानी परमेश्वरीको ब्रत बसेको पौराणिक लिखत रहेको छ । पछि यसै महत्वपूर्ण ब्रतलाई गरिब तथा दुःखीहरूको उद्दार र लोककल्याणका निम्ति प्रचार–प्रसार गराई विस्तार गरिएको विश्वास गरिएको छ । त्यहि भएर ब्रत लिएका अविवाहित युवतिहरुले योग्य पति/वर पाउँ भन्ने मनोकांक्षा राख्दछन् भने बिवाहित महिलाहरुले पतिको
दिर्घायूको कामना गर्दै श्री स्वस्थानीको ब्रत लिने गर्छन् ।