Shittalpati
तानसेनमा आदिवासी जनजाती महोत्सव

पाल्पा, तानसेन नगरपालिका –२ असनटोलमा आदिवासी, जनजाती महोत्सव भएको छ । असनटोल ३ टोल विकास संस्थाले आदिवासी जनजाती महोत्सव गरेको हो ।

संस्थाले केही बर्षदेखी तानसेनमा उक्त महोत्सव गर्दै आएको छ । विशेषगरी तानसेन नगरपालिका भित्र रहेका आदिवासी जनजातीहरुको रहन, सहन, भेषभुषा, कलासंस्कृति तथा पहिचानलाई प्रचार–प्रसार जर्गेना, संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले वडा कार्यालयको सहयोगमा महोत्सव  गरिएको संस्थाकी अध्यक्ष अनुराधा बज्राचार्यले बताईन । महोत्सवमा आएका पाहुनाहरुलाई आदिवासी जनजातीहरुले आ–आफ्नो स्टलबाट खानाका परिकारहरु पकाउँदै खुवाएका थिए । वडाभित्र रहेका विभिन्न १० वटा टोलविकास संस्थाले आ–आफ्नो भेषभुषामा सजिएर आ–आफ्नो परम्परा अनुसारका  परिकार ताजा रुपमा पकाउदै खुवाउदै गरेका थिए ।  एउटै थलोमा दर्जनौ थरीका  नयाँ –नयाँ परिकारका स्वाद चाख्न पाउँदा उपभोक्ताहरु रमाएका थिए । महोत्सवमा कोदाको सेल रोटी, सिल्टुङ्खको बटुक, मेवाको अचार, चुकाउनी, यःमरी, मुस्लिमहरुको सेवई, विभिन्न किसिमका मासुका परिकारहरु, खिर, लस्सी,  हासँको छोईला, छाङ( जाँड), कोदाको रक्सी, सेकुवा र भुटुवाले उपभोक्ताको मन जितेको थियो ।  महोत्सवमा आ–आफ्नो जातजातीको चालचलन अनुसारका परिकारहरुले उपभोक्ताको मन जितेको संस्थाकी संस्थापक अध्यक्ष शकुन्तला बज्राचार्यले बताईन ।

महोत्सवमा खानाको परिकारसँगै मगरी, नेवारी कलासंस्कृतिको प्रस्तुतिले दर्शकलाई भरपूूर्ण मनोरञ्जन गराएको थियो ।  कार्यक्रममा बौद्ध विद्धान छत्रराज शाक्यले आदिवासी, जनजातीको विश्वव्यापी अवस्था कला सस्कृति, रहनसहन भेषभुषा, नेपालको अवस्था, राज्यले दिदै आएका सेवा सुविधाको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आदिवासी जनजाती महोत्सवको शुभारम्भ गरे । तानसेन नगरका नगर प्रमुख अशोक कुमार शाहीले आदिवासी जनजातीहरु नेपालको प्रमुख शक्ति भएकोले स्थानीय स्तरबाटै उनीहरुका रहन सहन भेषभुषा कला संस्कृति तथा पहिचानहरुलाई संरक्षण तथा जर्गेना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नगर उप–प्रमुख प्रतिक्षा सिंजाली, प्रवक्ता यादवसिंह कार्की, वडा अध्यक्ष महेश्वर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष अनुराधा बज्राचार्यको अध्यक्षता संस्थाकी संस्थापक अध्यक्ष शकुन्तला बज्राचार्यको स्वागत, सचिव  सुनिता प्रधानको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update