आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस नेपाल सहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । सन् २००३ देखि हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन यो दिवस मनाइने गरिन्छ । सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नु नै आत्महत्या हो । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पाइन्छ । आफैंलाई हानीनोक्सानी गर्ने सोचविचार, आशय, आवेग, प्रयास र त्यसबाट ज्यान जाने अवस्था आफैंमा दुःखद् र विष्मयपूर्ण छ । आत्महत्या कुनै एक व्यक्तिको मात्र समस्या होइन, यो परिवार, समाज र समग्र राष्ट्रसँग जोडिएको गम्भीर सामाजिक तथा मानवीय समस्या हो ।
पछिल्ला वर्षहरूमा विभिन्न उमेर, वर्ग र समुदायका मानिसहरू आत्महत्याको बाटो रोज्न बाध्य भएका घटनाहरूले हामी सबैलाई गम्भीर बनाएको छ । एउटा जीवनको अन्त्यसँगै एउटा परिवारको सपना, आशा र भविष्यमा समेत गहिरो चोट पुग्छ । त्यसैले आत्महत्या रोकथामलाई केवल व्यक्तिगत विषयका रूपमा होइन, सामूहिक जिम्मेवारीका रूपमा लिन आवश्यक छ । हिजोआज आत्महत्याका जैविक, मनोसामाजिक तत्वहरु हामीकहाँ बचावट गर्ने किसिमले भन्दापनि आत्महत्यातिर दोह¥याउने हिसाबले बढ्दै गएको पाइन्छ । यो अत्यन्त दुखको कुरा हो । सबैभन्दा धेरै मानिस झुन्डिएर आत्महत्या गरेका छन् । आत्महत्याका पछाडि आर्थिक कठिनाइ, बेरोजगारी, पारिवारिक कलह, प्रेम तथा सम्बन्धमा आएको समस्या, सामाजिक दबाब, असफलताको डर, एक्लोपन, हिंसा, निराशा तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या जस्ता अनेक कारण हुन सक्छन् । तर कुनै पनि कठिन परिस्थिति जीवनभन्दा ठूलो हुँदैन समस्या जति गम्भीर भए पनि त्यसको समाधान खोज्न सकिन्छ ।
आवश्यक समयमा साथ, सहयोग, परामर्श र उपचार पाए धेरै जीवन जोगाउन सकिन्छ । परिवार, विद्यालय, कार्यस्थल र समुदायमा मानसिक स्वास्थ्यबारे खुला संवादको वातावरण निर्माण गर्नुपर्छ । कसैले निराशा व्यक्त गर्दा उसको कुरा बेवास्ता गर्नु हुँदैन, बरु धैर्यपूर्वक सुन्ने, दोष नदिने र आवश्यक सहयोग तथा विशेषज्ञ सेवातर्फ जोड्ने संस्कार विकास गर्नुपर्छ । विद्यालय र कलेजमा विद्यार्थीलाई पढाइ र परीक्षाको दबाब व्यवस्थापन, भावनात्मक समस्या तथा जीवनका चुनौती सामना गर्ने सीपबारे शिक्षा दिन आवश्यक छ । त्यस्तै, स्थानीय तह र राज्यले मानसिक स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य बनाउनुपर्छ । आत्महत्या रोकथामसम्बन्धी जनचेतना कार्यक्रमलाई शहरमा मात्र सीमित नराखी ग्रामीण तथा दुर्गम क्षेत्रसम्म पु¥याउनुपर्छ । यसो गर्न सकियो भने आत्म हत्या रोक्न सकिन्छ । तसर्थ यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

