Shittalpati
स्वामीनारायण पथ : कालिगण्डकी करिडोर क्षेत्रको पर्यटनमा नयाँ फड्को 

पदम न्यौपाने

भारतको उत्तर प्रदेश छपैयाँ गाउँमा जन्मिएको ११ वर्षिय एक वालक (घनश्याम पाण्डे) अहिले संसार भर स्वामीनारायणको नामले परिचित छन् । ११ वर्षको उमेर देखिनै चिन्तन र विचारका हिसावले भिन्न र प्रतिभाशाली रहेका उनी अहिले संसारका २ करोड बढी आध्यात्मिक चिन्तन र चेतका मनमा देवता बनेका छन् । उनलाइ हिन्दू धर्मका एक महान आध्यात्मिक गुरु तथा समाज सुधारकका रुपमा लिने गरिन्छ । उनको जन्म सन् १७८१ अप्रिल ३ मा भएको थियो । जब ११ वर्षको उमेरमा मातापिताको देहावसान भएपछि उनले घर त्याग गरी भारतका विभिन्न तिर्थस्थलको भ्रमण गर्दै गुजरात पुग्दा सम्ममा घनश्याम पाण्डेलाइ नीलकण्ठ वर्णी नामले चिन्न थालिएको थियो ।

उनले गुरु रामानन्द स्वामीसँग दीक्षा लिएपछि उनलाई सहजानन्द स्वामी नाम दिइयो । तर पछि उनले “स्वामीनारायण“ मन्त्रको प्रचार गर्न थालेपछि स्वामीनारायणका नामले प्रसिद्धी प्राप्त हुदै अहिले संसारभर स्वामीनारायण भगवानको रुपमा लिने गरेको पाइन्छ । आध्यात्मिक यात्राका क्रममा भारतका विभिन्न तीर्थस्थलहरूको साथै नेपालको मुक्तिनाथको भ्रमण गर्दै गर्दा योग, वेदान्त र धर्मको गहन अध्ययन गरे । पछि स्वामीनारायणले समाजमा व्याप्त कुरीति, अन्धविश्वास, जातीय भेदभाव, मदिरापान, हिंसा तथा अन्य सामाजिक विकृतिविरुद्ध अभियान चलाउनुको साथै नैतिकता, अहिंसा, शिक्षा, भक्ति र सदाचार शिक्षालाई विशेष महत्व दिएको पाइन्छ । स्वामीनारायण सम्प्रदाय आज विश्वका धेरै देशहरूमा फैलिएको छ । उनका उपदेशहरू शिक्षापत्री लगायतका ग्रन्थहरूमा सड्ढलित छन् । अक्षरधामका रुपमा संसारका विभिन्न मुलुकमा अबौं रुपैया खर्चेर ठूला(ठूला संरचना बनाउन थालिएको छ । यस्ता स्थानहरुमा वर्षेनी करोडौले भ्रमण गर्ने गरेको देखिन्छ । स्वामीनारायणको देहावसान सन् १८३० जुन १ मा गुजरातको गढडामा भएको थियो । स्वामीनारायणलाई आज पनि लाखौं भक्तहरूले भगवानको अवतार तथा महान आध्यात्मिक मार्गदर्शकका रूपमा श्रद्धापूर्वक स्मरण गर्छन् ।
 

आध्यात्मिक यात्रा प्रारम्भ, 
कलिलो उमेर तर लक्ष्य मानव कल्याण लिएर (स्वामीनारायणका अनुयायीहरुले प्रकाशन गरेका दस्तावेजहरुमा उल्लेख भए अनुसार) किसोर अवस्थाका नीलकण्ठ वर्णी(घनश्याम पाण्डे)ले भारतका हिमाली क्षेत्रदेखि दक्षिण भारतसम्म करिब सात वर्ष लामो पदयात्रा गरेका थिए । यस यात्राका क्रममा उनले नेपालको कैलाश पर्वत रोजे, जहाँ भगवान शिव पार्वतीको वासस्थान मानिन्छ । यहाँ रहेको मानसरोवर ताललाई पवित्र तिर्थ स्थलको रुपमा लिइन्छ । हिन्दु,बौद्ध,जैन र बोन धर्मका अनुयायीहरु पनि कैलाश र मानसरोवर क्षेत्रलाइ पवित्र क्षेत्र मान्ने गर्छन् । यसका साथै हिमालय क्षेत्र हुदै पवित्रस्थल मुक्तिनाथ पुगेर साढे दुइमहिना एक खुट्टाले उभिएर कडा ध्यान गरेको विभिन्न प्रकाशनहरुमा उल्लेख गरिएको पाइन्छ । (यो मुद्रालाई प्रायः अक्षरधाममा राख्ने गरिएकोछ),फर्किने क्रममा बुटवलमा लामो समय रोकीएको र आफ्नो ज्ञान, विचार विस्तार गरेका थिए । सोही क्रममा काठमाडांै समेत आएको र उत्तर भारत, पूर्वी भारत, दक्षिण भारत तथा पश्चिम भारतका अनेक तीर्थस्थलहरूको भ्रमण गरेको विभिन्न प्रकाशनमा उल्लेख गरेको पाइन्छ । यात्रा अवधिभर उहाँले योग, ध्यान, वेदान्त तथा धार्मिक दर्शनको अध्ययन गर्नुको साथै विभिन्न साधु(सन्तहरूसँग आध्यात्मिक संवाद गरेको विभिन्न दस्तावेजहरुमा उल्लेख गरिएकोछ । 
 

मानव कल्याणको खोजी र प्रेरणा,
उनले यात्राका क्रममा कठोर तपस्यावाट प्राप्त ज्ञान साथै सादगीपूर्ण जीवन र मानव सेवाको सन्देश फैलाउन थाले । अन्तत गुजरात पुगेपछि गुरु रामानन्द स्वामीसंग भेट भयो । गुरुबाट दीक्षा लिएपछि उनी सहजानन्द स्वामीको उपाधि प्राप्त गरे र पछि स्वामीनारायण नामले प्रसिद्धि पायो । स्वामीनारायणको यो यात्रा केवल स्थानहरूको भ्रमण मात्र थिएन, यो सत्य, ज्ञान, भक्ति र मानव कल्याणको खोजीको यात्रा थियो । उनको यो यात्राले लाखौं मानिसलाई आध्यात्मिक मार्गमा प्रेरित गरेको छ र आज पनि उनका करोडौ अनुयायीहरूले यस यात्रालाई आदर्श तथा प्रेरणाको स्रोतका रूपमा सम्मान गर्छन् । स्वामीनारायण सम्प्रदायका विभिन्न ग्रन्थहरूमा नीलकण्ठ वर्णी (पछि स्वामीनारायण) ले मुक्तिनाथमा साढे दुई महिना कठोर तपस्या गरी मुक्तिनाथबाट दक्षिणतर्फ फर्कँदा उनले कालीगण्डकी नदीको मार्ग हुँदै गलेश्वर, बेनी क्षेत्र,रिडि रुरु क्षेत्र र त्यसपछि पाल्पा(तानसेन) हुदै बुटवलतर्फ यात्रा गर्नुभएको परम्परागत वर्णन पाइन्छ । बुटवलमा पुगेपछि फूलबारी स्थित महादत्त सेनको दरवारमा ३(५ महिना बसेको पढ्न पाइन्छ । इतिहासकारहरूका अनुसार यी स्थानहरू धार्मिक परम्परा र स्थानीय जनश्रुतिमा आधारित छन् । नीलकण्ठ वर्णीले करिब ७ वर्षभन्दा बढी समय भारत र नेपालका विभिन्न भागमा पैदल यात्रा गरेको मानिन्छ । त्यसैले यस अवधिमा बाटोमा अन्य धेरै गाउँ, आश्रम र तीर्थस्थलहरू पनि भ्रमण गरेको हुन सक्छ । 
 

यात्राका क्रममा नेपाल क्षेत्रको महत्व, 
नीलकण्ठ वर्णीले भारत र नेपालका विभिन्न तिर्थस्थलहरुको दर्शन गर्नु एवं कठोर तपश्या गरेको स्वामीनारायण सम्वद्ध BAPS  जस्ता संस्थाहरुद्धारा प्रकाशित दस्तावेजहरुमा उल्लेख छ । तर मुक्तिनाथमा गरिएको एक खुट्टाले उभिएर गरिने एकपाद तपश्या अति महत्वपूर्ण मानिन्छ । स्वामीनारायण सम्वद्ध भारत तथा तेश्रो मुलुकमा निर्माण गरिएका अक्षरधामहरुमा यही मुद्राको आशनको तपश्यालाई मूर्तिको रुपमा राख्ने गरिएको पाइन्छ । सायद यही कारणले पनि हुन सक्छ स्वामीनारायण सम्प्रदायले मुक्तिनाथलाई पवित्र तिर्थ स्थल मान्दछन् र वर्षेनी हजारौंको सख्या त्यहाँ पुग्ने गरेका छन् र एक पटक पुग्नै पर्ने चाहाना पनि राख्दछन् । निलकण्ठ बर्णीले पाइला टेकेको मानसरोवरमा पनि पुग्ने गरेका छन् । यही पक्ष नेपालकालागि आध्यात्मिक, धार्मीक र पर्यटकीय हिसावले अति महत्व राख्दछ । स्वामीनारायणका अनुयायीहरू आज विश्वका धेरै देशहरूमा फैलिएका छन् । स्वामीनारायणले स्थापना गरेको परम्परा स्वामीनारायण सम्प्रदाय अहिले अन्तर्राष्टिूय रूपमा सक्रिय छ । तिव्ररुपमा विस्तार हुँदै गएको यो सम्प्रदाय मध्ये भारत सबैभन्दा ठूलो केन्द्र हो । गुजरात मुख्य केन्द्रको रुपमा रहेकोछ । यसैगरी महाराष्टू, राजस्थान,दिल्ली,उत्तर प्रदेश,मध्य प्रदेश,कर्नाटक आदिमा सबैभन्दा धेरै मन्दिर, आश्रम र भक्तहरू छन् । नेपालमा पनि यो सम्प्रदाय बढ्दोरुपमा रहेकोछ । काठमाडौ, बुटवल,पोखरा,भैरहवा क्षेत्रमा सानोरुपमा भएपनि गुणात्मक संस्थागत विकास हुदै गरेको देखिन्छ । यसैगरी अमेरिकाको न्यूयोर्क,न्यू जर्सी,टेक्सास, क्यालिफोर्नियामा धेरै ठूलो प्रवासी समुदाय र भव्य मन्दिरहरू निर्माण भएका छन्। बेलायतको लन्डन,लेस्टरमा पनि धेरै सक्रिय मन्दिर र धार्मिक संस्था छन् । त्यस्तै क्यानडा,अष्ट्रेलिया,दक्षिण अफ्रिका,यूएईको दुबई, अबुधाबी,केन्या,सिंगापुर,मलेसिया,फ्रान्समा पनि स्वामीनारायण सम्प्रदाय बढ्दै गएको BAPS संस्थाका प्रकाशनहरुमा उल्लेख गरेको पाइन्छ ।  
 

स्वामीनारायण सम्प्रदाय र पदयात्रा गरेको वाटोको खोजी ,
हिन्दू धर्मको स्वामीनारायण परम्परा अन्तर्गतको एक अन्तर्राष्ट्रिय आध्यात्मिक तथा सामाजिक संस्था BAPS हो । यसको स्थापना सन् १९०७ मा शास्त्रिजी महाराजको पहलमा स्थापना भएको थियो । यही संस्थाको पहलमा विश्वका धेरै देशमा अक्षर धाम निर्माण गरिएका छन् भने स्वामीनारायणको पथको खोजी अनुसन्धान पनि गरिरहेको छ । यो सम्प्रदायका अनुयायीहरु स्वामीनारायणले यात्रा गरेका विशेषगरी नेपाल क्षेत्रका महत्वपूर्ण आध्यात्मिक तथा धार्मीक क्षेत्र पुगेका वाटोको यकिन गर्न कठीनाइ भइरहेको र अध्ययन र अनुसन्धान कार्य भइ रहेको विभिन्न प्रकाशनहरुमा उल्लेख गरिएका छन् । समर्थक अनुयायी भन्दा कट्टर अनुयायीहरु मुक्तिनाथ पुग्नकालागि स्वामीनारायण हिडेको पथ नै खोज्ने गरेको सम्प्रदायका सम्वद्धहरुको भनाइ रहेको देखिन्छ । सो समय नेपालमा व्यवस्थित वाटोहरु नभएको र स्वामीनारायणको अभिलेखवद्ध दस्तावेजहरु पनि नभएका कारण विश्वसनीय कथनहरुको सहारा लिने गरिएको छ । BAPS का अनुसार यद्यपी विभिन्न अध्ययन समूह बनाई स्वामीनारायण पथको खोजी कार्य हुदै आएको देखिन्छ । नेपालमा पनि स्वामीनारायण सेवा संस्था नेपाल बुटवल, पोखरा र काठमाण्डौ द्धारा पनि अध्ययनलाई अगाडि बढाएको देखिन्छ ।
 

BAPS नामक संस्थाको मुख्य उद्देश्य,
शास्त्रिजी महाराजले यो संस्था सन् १९०७ मा भारतको गुजरात राज्यको बोचासनमा स्थापना गरी स्वामीनारायणले प्रतिपादन गर्नुभएको अक्षर–पुरुषोत्तम दर्शनलाई प्रचार गर्ने उद्देश्यले यो संस्था स्थापना गर्नुभएको थियो । संस्थाले स्वामीनारायणका शिक्षाको प्रचार–प्रसार गर्ने, नैतिक, आध्यात्मिक र सांस्कृतिक मूल्यहरूको विकास गर्ने, बाल, युवा र महिला विकास कार्यक्रम सञ्चालन गर्ने, मन्दिर निर्माण र धार्मिक कार्यक्रम सञ्चालन गर्ने, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् राहत तथा मानवसेवाका विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्य गर्दै आइरहेको छ । संस्थाको मुख्य धार्मिक सिद्धान्त अक्षर–पुरुषोत्तम दर्शन हो । यसले स्वामीनारायणलाइ सर्वोच्च परमेश्वर मान्ने गर्दछ र गुरुको मार्गदर्शनमा रहेर अक्षरधाम स्थापना गरी नित्य दिव्य धाम तथा आदर्श भक्ति प्रदर्शन गर्ने गर्दछ । यसैका माध्यमवाट भव्य हिन्दू मन्दिर(अक्षरधाम) निर्माण गर्दछ । यस कार्यमा विश्वभर लाखौं स्वयंसेवक यी गतिविधिमा सहभागी देखिन्छन् । 
 

मुक्तिनाथसँग BAPS को सम्बन्ध 
BAPS लगायत स्वामीनारायण परम्पराका धेरै भक्तहरू प्रत्येक वर्ष मुक्तिनाथ मन्दिर दर्शन गर्न आउँछन् । यो संस्थाले मुक्तिनाथ जान प्रेरित गरिरहेको हुन्छ । किनकी मुक्तिनाथलाई हिन्दूहरूको महत्वपूर्ण मोक्षस्थल मानिन्छ, त्यसैले भारतका गुजरात, महाराष्ट्र, राजस्थान, दिल्ली लगायतका स्थानबाट पनि धेरै भक्तहरू आउँने गरेका छन् । यो संस्थाले आफ्नो उपस्थिति जनाएका देशमा मुक्तिनाथलाइ मोक्ष स्थलको रुपमा चित्रण गरेको पाइन्छ । यसर्थ विदेशमा रहेका भारतीयमुल र विदेशीहरु समेत एक पटक पुग्नै पर्ने स्थलको रुपमा मुक्तिनाथलाइ लिएको पाइन्छ । मुक्तिनाथ क्षेत्रमा आश्रम समेत निर्माण गरिएकोछ । यो संस्था प्रसिद्ध र विश्वासिलो संस्थाको रुपमा लिएको पाइन्छ । यस संस्थालाइ अनुुशासित स्वयंसेवक र सन्तहरूको ठूलो सञ्जाल भएको, विशाल र कलात्मक मन्दिर निर्माण गरिरहेको, मानवसेवामा सक्रिय योगदान गरिरहेको, युवा तथा बालबालिकामा नैतिक शिक्षामा जोड दिएको, विश्वभर १०० भन्दा बढी देशमा गतिविधि गरेको संस्था मानिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत मुक्तिनाथ गएर प्रार्थना गरेका थिए । विश्वभर स्वामीनारायणका अनुयायीको आधिकारिक संख्या उपलब्ध छैन, तर विभिन्न अध्ययन र संस्थाहरूका अनुमानअनुसार सम्पूर्ण स्वामीनारायण परम्परा मान्नेहरु करिब ३ करोड अनुयायी  रहेको अनुमान गरिन्छ । BAPS का अनुसार भारतमा करिब १५ लाख सक्रिय अनुयायी रहेको विभिन्न सार्वजनिक अनुमानहरूमा उल्लेख पाइन्छ ।  मुख्यत अनुयायीहरू मूल अहमदाबाद, वडताल, स्वामीनारायण गादी तथा अन्य संस्थाहरूमा आबद्ध छन्। अनुयायीहरू विशेष गरी गुजरात, महाराष्ट्र, राजस्थान, दिल्ली, उत्तर प्रदेशमा रहेको वताइन्छ । नेपालमा पनि स्वामीनारायण परम्पराका केही अनुयायी छन्, तर भारत वा पश्चिमी देशहरूको तुलनामा संख्या सानो रहेको छ । भारतमा रहेको यो सख्या र स्वामीनारायण परम्परा एवं मुक्तिनाथबीच पर्यटनको दृष्टिले राम्रो सम्भावना छ । यद्यपि, यसलाई धार्मिक संवेदनशीलताको सम्मान गर्दै विकास गर्न आवश्यक हुन्छ ।
 

स्वामीनारायण अनुयायीका लागि मुक्तिनाथ किन आकर्षक, 
मुक्तिनाथ मन्दिर हिन्दू र बौद्ध दुवैका लागि पवित्र तीर्थस्थल हो । हिन्दू धर्ममा मोक्ष प्राप्तिको स्थल मानिन्छ । भगवान विष्ण्ुाको मुक्तिनारायण स्वरूपको मन्दिरका रूपमा पूजा गरिन्छ । १०८ धारा र ज्वालामाई मन्दिर यसको प्रमुख आकर्षण हुन् । मुक्तिनाथ वैष्णवहरूको प्रमुख तीर्थस्थलमध्ये एक हो । स्वामीनारायणले कडा तपश्या या ध्यान गरेको क्षेत्र पनि भएकोले धेरै स्वामीनारायण अनुयायीहरूले जीवनमा कम्तीमा एकपटक मुक्तिनाथ दर्शन गर्ने इच्छा राख्छन् । विशेष गरी स्वामीनारायण सम्प्रदाय प्रतिबिश्वास गर्नेहरु र स्वामीनारायण संस्थाका भक्तहरू भारतबाट निजी वा समूह यात्रामा मुक्तिनाथ पुग्ने गरेका छन् । नेपालको धार्मिक एवं आध्यात्मिक पर्यटनका लागि यो भारतको वैष्णव तीर्थयात्री बजारलाई आकर्षित गर्ने एउटा महत्वपूर्ण अवसर हुन सक्छ, विशेष गरी गुजरात, महाराष्ट्र, राजस्थान र दिल्लीजस्ता राज्यहरूबाट आउने यात्रुहरूले मुक्तिनाथलाइ निकै महत्व दिने गरेका छन् ।
 

पदयात्रा पथ र नेपालको पर्यटन, 
स्वामीनारायण हिडेको वाटो स्वामीनारायण पदयात्रा मार्ग र नेपालको पर्यटन बीच प्रचुर सम्भावनापूर्ण सम्बन्ध छ । तर यसको प्रचार ऐतिहासिक तथ्य र आध्यात्मिक सम्बन्धका आधारमा गरिनुुपर्छ । यो यात्रा आज पनि स्वामीनारायण अनुयायीहरूका लागि अत्यन्त प्रेरणादायी मानिन्छ । कैलाश पर्वत, मानसरोवर देखी मुक्तिनाथ मन्दिर सम्म आएको तथा मुक्तिनाथवाट फर्किदा म्याग्दी, गलेश्वर, पर्वत,मोदीवेनी, महाशिला, बाग्लु· बलेवा, गुल्मी,पाल्पा रिडी, तानसेन नारायण स्थान, पर्वास बंशगोपाल हुदै बुटवल पुगेको कथनलाइ प्रामाणिक तथ्य आधारहरु खोजी गरी स्थापीत गर्न सकिएमा मुक्तिनाथ सहजरुपमा जाने सवै भन्दा छोटो वाटो हुने देखिन्छ । यसैगरी बुटवल बस्दा महादत्तसेनको दरवार,,नजिकैको मननारायण मन्दिर पनि यही पथमा समेटीनेछ । बुटवलवाट पोखरा जादा शिद्धगुफा (राम्दी, मायाटारी) चितवन(देवघाट) कास्की, काठमाण्डौको वाटो प्रयोग गरिएको कथन छ । यसैगरी काठमाण्डौवाट सुनसरी(बराह क्षेत्र) हुदै भारतको सिलगुढी गएको हुन सक्ने वारे खोजी गरिदै गरेको नेपाल स्थित स्वामीनारायण सेवा समितिको भनाइ रहेको छ । भारतीय अध्येताहरुले समेत यो वाटोको वारेमा निष्कर्ष निकाली सकेको अवस्था छैन । यसकालागि नेपालका यस क्षेत्रका विभिन्न पालिकाहरुको सहयोग र नेपाल स्थित स्वामीनारायण सम्वद्ध संस्था एवं भारतीय संस्थाहरुसंगको समन्वयमा यसका वारेमा टुंगो लगाउन जरुरी देखिन्छ । यसले भैरहवा, लुम्विनी देखि मुक्तिनाथ जाने छोटो वाटो समेत स्थापीत हुनेछ । हाल हजारौंको सख्यामा मुक्तिनाथ जाने पर्यटकको सख्या वर्षेनी लाखौंमा पुग्ने देखिन्छ । 
 

यो किन राम्रो अवसर हो,
विश्वभर स्वामीनारायण परम्पराका लाखौं अनुयायी छन् । विशेष गरी गुजरात, महाराष्ट्र, राजस्थान, दिल्ली, बेलायत, अमेरिका, क्यानडा र अफ्रिकाका भारतीय मूलका समुदायमा नेपालको धार्मिक पर्यटनप्रति रुचि बढाउन सकिन्छ । नेपालले आरोग्य पर्यटनको अभियान सञ्चालन गर्ने निर्णय गरिरहदा यस क्षेत्रले थप आध्यामिक र धार्मीक पर्यटनलाइ समेत समेट्ने हुनाले सरकारी लक्ष्यलाइ समेत बल पुग्ने देखिन्छ । साथै भैरहवा नाका हुदै सवै भन्दा छोटो दुरीमा चिसो वातावरणमा पुग्ने भारतीय पर्यटकको चाहानालाइ यही वाटोले पुरा गरिदिनेछ । यो स्वामीनारायण पथ स्वामीनारायण सम्प्रदाय वा अनुयायीहरुकालागि मात्र नभइ अन्य उदेश्यका पर्यटककालागि पनि त्यत्तिकै आकर्षक माग हो । भैरहवा बुटवल र पाल्पा हुदै रानीमहल क्षेत्रमा पर्ने कालिगण्डकी करिडोर भेट्रटाए पश्चात सिधै मुक्तिनाथ पुगिने र सो वाटोमा पर्ने अत्यधिक धार्मिक महत्वका तिर्थस्थलहरुको दर्शन समेत गर्न सकिने हुन्छ । यसर्थ  यस क्षेत्रका पालिका, नेपाल पर्यटन बोर्ड, निजी टूाभल कम्पनीहरू र स्वामीनारायण संस्थाहरूबीच सहकार्य भयो भने यसले नेपालको पर्यटनमा ठूलो योगदान गर्नेछ । 
 

निष्कर्ष, 
“नीलकण्ठ वर्णी यात्रा मार्ग“ या स्वामीनारायण पदयात्रा मार्ग र यो मार्गमा पर्ने तीर्थस्थलहरूलाइ तपस्या र साधनाको स्थल,कालीगण्डकी उपत्यकाको ऐतिहासिक र धार्मीक महत्व, शालिग्रामयुक्त संसारको एकमात्र नदी,कालीगण्डकी करिडोर धार्मिक करिडोरको रुपमा मान्यता सहित स्वामीनारायणले यात्राका क्रममा व्यहोरेका पिडाको ज्वलन्त अनुव दिने क्षेत्र परिचय सहितको यात्रासँग सम्बन्धित अध्ययन, अनुसन्धान वा धार्मिक भ्रमणकालागि वातावरण बनाउन जरुरी देखिन्छ । तीर्थयात्रा मार्गको नक्साड्ढन गर्ने र स्थानीय तह र पर्यटन निकायसँग सहकार्य गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्ने अभियान सञ्चालन जरुरी देखिन्छ । यसकालागि “नीलकण्ठ वर्णी नेपाल पदयात्रा मार्ग“ वा स्वामीनारायण मार्गकोको दस्तावेजीकरण गर्न सवै पालिकाहरुको प्राथमिकतामा पानुपर्ने देखिन्छ । 
सन्दर्भ श्रोतहरु : BAPS का विभिन्न प्रकाशन 

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update