Shittalpati
पुस्तकालय, पठन संस्कृति र वर्तमान पुस्ता

सन्तोष खनाल
सुरुमा रसुवाको भोटेका्शी लगायत तटिय क्षेत्रमा आएको बाढीबाट ज्यान गुमाउनु भएका नागरिकहरु प्रति हार्दिक श्रदाञ्जली अर्पण र जोखिममा उद्धारको पर्खाइमा रहनुभएका दाजु भाई दिदीबनिही लागायत नागरिकको शिघ्र उद्धार र सकुशलताको कामना । 
विषय प्रवेश
पृष्ठभुमि

नेपालमा पुस्तकालयको इतिहास औपचारिक रूपमा विसं १८६९ भदौ १५ गते तत्कालीन राजा गीर्णयुद्ध विक्रम शाहले ’पुस्तक चित्याइँ तहबिल’ स्थापना गरेपछि सुरु भएको मानिन्छ, जसको सम्झनामा हरेक वर्ष राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै आइएको छ । नेपाली समाजको राजनीतिक र शैक्षिक जागरणमा पुस्तकालयले ठूलो भूमिका निर्वाह गरेको छ । इतिहासका विभिन्न कालखण्डमा घटेका ’मकै पर्व’ र ’लाइब्रेरी पर्व’ जस्ता घटनाहरूले पुस्तकालय केवल पुस्तक राख्ने ठाउँ मात्र नभएर सामाजिक ,राजनैतिक, शैक्षिक चेतना परिवर्तनको  प्रवर्तनको संवाहक पनि हो भन्ने तथ्यलाई पुष्टि गर्दछ । अर्को तर्फ जनताको नेतृत्वमा काठमाडौँ बाहिर मोफसलको कुरा गर्दा वि. सं. १९८३ सालमा तत्कालिन पढेलेखेका यवाहरुको अगुवाइमा स्थापना भएको पुस्तक पढ्ने दलानबाट शुरुभएको पुस्तकालय नै नेपालको पहिलो सार्वनिक पस्तकालय हो । जुन वि.सं.२००३ सालबाट धवल पुस्तकालयको रुपमा परिचित हुन पुग्यो ।  पाल्पाको तानसेनमा स्थापित धवल पुस्तकालय नेपालको शैक्षिक र राजनीतिक चेतनाको एउटा बलियो खम्बा हो ।  राणाकालीन अनुदार शासन व्यवस्थाको समयमा पाल्पाका प्रबुद्ध नागरिकहरू र साहित्यकारहरूको सक्रियतामा स्थापित यो पुस्तकालयले तत्कालीन समयमा नागरिकहरूलाई सुसूचित गर्न र राणा शासनविरुद्ध वैचारिक क्रान्ति छेड्न महत्वपूर्ण भूमिका खेलेको थियो (बस्याल, २०८१) । परम्परागत रूपमा यस्ता पुस्तकालयहरू पुस्तक, पत्रिका, नक्सा र दस्तावेजहरूको भौतिक भण्डारका रूपमा मात्र रहे पनि वर्तमान सूचना र सञ्चार प्रविधिको अभूतपूर्व विकासले यसको परिभाषा बदलिदिएको छ । आजको युगमा पुस्तकालय भौतिक कोठाबाट रूपान्तरण भई डिजिटल र ई–लाइब्रेरी (E–Library_ को अवधारणामा विकास भइरहेको छ । 
 वर्तमान पुस्ता (जेनेरेसन जेड) र पठन संस्कृति
वर्तमान युवा तथा विद्यार्थी पुस्ता प्रविधिसँगै हुर्किएको पुस्ता हो । यो पुस्ता पुस्तकको पाना पल्टाउनुभन्दा मोबाइल, ट्याब्लेट, ल्यापटप र सामाजिक सञ्जालमा स्क्रोल गर्न बढी सहज मान्दछ ।  नेपालका सहरी क्षेत्रका युवाहरूमा विश्वव्यापीकरणको प्रभावले गर्दा केही युवाह्ररुमा  अंग्रेजी साहित्य र विदेशी पुस्तकहरू पढ्ने लहर चलेको छ, जसलाई ’ह्यारी पोटर जेनेरेसन को रुपमा चिनिन्छ ।  कुनै समय ज्ञान आर्जनको महत्वपूर्ण थलोको  रुपमा रहेको पुस्तकालयह्ररु  , यसका पाठक, र पठन संस्कृति  वर्तमानमा कमजोर बन्दै गएको छ । पुस्तकालयहरुले पाठक खोजिरहेको छ । समाजले पनि पुस्तकालयलाई विर्सन थालेको छ । युवा पस्तामा देखपरेको पठन संस्कतिको कमिको कारणले हाम्रा युवाहरुमा आफ्ना धर्म संस्कृति , रितिरिवाज, परम्परा प्रतिको कम लगावको कारण समाजमा अराजकता र अटेरीपन बढदै गएको छ । अर्को तर्फ हाम्रा विद्यालय र विश्वविद्यालयहरुमा पनि नेपाली मौलिक संस्कृति, परम्परा र नैतिक शिक्षा जस्ता कुराहरु पढिहन छाडेका छन । अंग्रेजी मोहमा फस्दा युवाहरुमा विदेशिने प्रवृति बढ्दो छ । समाज असामजिक र अराजक बन्दै गएको छ । जुन चिन्ताको विषय हो । प्रविधिको अत्यधिक प्रयोग र छोटो भिडियो (जस्तै टिकटक, रिल्स) को संस्कृतिले वर्तमान पुस्ताको पठन बानीमा नकारात्मक प्रभाव पनि पारेको छ । अध्ययनहरूका अनुसार इन्टरनेट र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले गर्दा युवाहरूको गहिरो अध्ययन गर्ने क्षमता -Deep reading_ र ध्यान केन्द्रित गर्ने समय -Attention span_ निकै घटेको पाइएको छ (Carr, २०२०)। युवाहरू लामो पुस्तक पढ्नुको सट्टा तत्काल जानकारी पाउनका लागि अनलाइनका संक्षिप्त सामग्री वा विकिपिडिया च्याट जिपीटी,जेमिनाइ  जस्ता माध्यममा भर पर्ने गरेका छन।
नेपालमा पुस्तकालयको विद्यमान अवस्था र चुनौतीहरू        
नेपालको वर्तमान शैक्षिक तथा सार्वजनिक पुस्तकालयको अवस्था सन्तोषजनक छैन। केही वर्ष पहिलेका महामारी तथा संकटहरूले मानिसमा पढ्ने बानी ब्युँताए पनि सरकारी उदासीनता र बजेटको अभावका कारण केशर पुस्तकालय जस्ता ऐतिहासिक र केन्द्रीय स्तरका सार्वजनिक पुस्तकालयहरू समेत भौतिक तथा व्यवस्थापकीय चुनौतीसँग जुधिरहेका छन् (नेपाली टाइम्स, २०२२) । यही नियति  उपत्यका  बाह्रिका पुस्तकालायहरुले पनि बेहोरिरहेका छन । नयाँ पुस्तालाई यस तर्फ आकर्षित गर्नु अर्को ठूलो चुनौती बनेको छ ।
नेपालमा पुस्तकालय र पठन संस्कृतिको विकासमा मुख्य चुनौती
 भौतिक र वित्तीय संकटः नेपालका ८० प्रतिशतभन्दाबढी सामुदायिक विद्यालयहरूमा व्यवस्थित र कार्यात्मक पुस्तकालयको ठूलो अभाव छ (शिक्षा मन्त्रालय, २०२३) । भएका पुस्तकालयहरू पनि केवल पाठ्यपुस्तकमा मात्र सीमित छन। महँगो पुस्तक मूल्य र कर नीतिः नेपालमा पुस्तकहरूको मूल्य सर्वसाधारणको क्रयशक्तिभन्दा बाहिर छ । त्यसमाथि आयातित पुस्तकहरूमा लगाइने करका कारण विपन्न परिवारका विद्यार्थीका लागि व्यक्तिगत रूपमा पुस्तक किन्नु असम्भव जस्तै बनेको छ । डिजिटल पूर्वाधारको अभावः पुराना पुस्तकालयहरूलाई समयसापेक्ष रूपमा डिजिटल प्रविधिसँग जोड्न नसक्दा युवा पुस्ता त्यहाँ जान रुचाउँदैनन् ।

त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहका विद्यार्थीहरूमा गरिएको एक गुणात्मक अनुसन्धानले देखाएको छ कि विद्यार्थीहरू पुस्तकालयलाई परीक्षाको तयारी गर्ने, नोट बनाउने र अनुसन्धान गर्ने थलोको रूपमा मात्र बढी प्रयोग गर्छन्, न कि फुर्सदको समयमा ज्ञान बढाउनका लागि (नेपाल लाइब्रेरी एशोसिएसन, २०२५)। यसले के स्पष्ट पार्छ भने नेपालको उच्च शिक्षामा समेत ’परीक्षा केन्द्रित पठन’ हावी छ र स्वतन्त्र पठन संस्कृति -Independent reading culture_ कमजोर छ । माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरूमा गरिएको अर्को अध्ययनले सामुदायिक विद्यालयका शिक्षकहरूले विद्यार्थीलाई पुस्तकालय जान र पाठ्यपुस्तक बाहिरका सामग्री पढ्न विरलै मात्र प्रोत्साहन गर्ने गरेको तथ्य उजागर गरेको छ (पौडेल र रेग्मी, २०२६) ।  तथापि,केही वर्ष अघिसम्म  नेपालका ग्रामीण क्षेत्रहरूमा ’रीड नेपाल’ जस्ता गैरसरकारी संस्थाहरूले स्थापना गरेका सामुदायिक पुस्तकालयहरूले समुदायमा साक्षरता बढाउन, आर्थिक–सामाजिक चेतना फैलाउन र स्थानीय स्तरमा ’बुक कल्चर (Book Culture_ को विकास गर्न उदाहरणीय भूमिका निभाएको भए पनि यो अभियान पनि सुस्ताएको छ ।
वर्तमान पुस्तालाई पुस्तकालय र पठन संस्कृतिमा बाँधिराख्न अब परम्परागत शैली परिवर्तनर समग्र पाठ्यक्रमा परिवर्तन  गर्नुको विकल्प छैन । प्रविधिलाई चुनौतीका रूपमा मात्र हेर्नुको सट्टा यसलाई पठन संस्कृति प्रवद्र्धनको माध्यम बनाइनुपर्छ ।

ई–लाइब्रेरी र डिजिटल रिसोर्सः पुस्तकालयहरूलाई डिजिटल प्रविधिसँग जोडेर ई–बुक्स, अडियो बुक्स -Audiobooks_ र अनलाइन जर्नलहरूमा पाठकको पहुँच पुर्‍याउनु पर्छ । यसले गर्दा युवाहरूले आफ्नै मोबाइलबाट ज्ञान प्राप्त गर्न सक्छन् । ’पुस्तक कुना’ र पुस्तकालय समयको अनिवार्यताः प्रारम्भिक बाल्यकालदेखि नै पढ्ने बानी बसाल्न प्रत्येक विद्यालयमा ’पुस्तक कुना’ -Book Corner_ र दैनिक वा साप्ताहिक रूपमा पुस्तकालयको समय अनिवार्य गरिनु पर्छ । पठन अभियान र पुस्तक क्लबहरूः युवाहरूको रुचि जगाउनका लागि विद्यालय, कलेज र समुदायस्तरमा ’रीडिङ क्लब’ (पुस्तक चर्चा (Book Discussion) र साहित्यिक उत्सवहरू आयोजना गरिनु पर्छ । 
 निष्कर्ष
पुस्तकालय र पठन संस्कृति कुनै पनि देशको सभ्यता र विकासको मेरुदण्ड हुन। पुस्तकालय नेपालको प्राज्ञिक र राजनीतिक चेतनाको जीवन्त साक्षी हो। वर्तमान पुस्ता प्रविधि र डिजिटल मनोरञ्जनतर्फ आकर्षित हुनु स्वाभाविक भए तापनि त्यसलाई पुस्तक र ज्ञानको संसारबाट टाढा जाने बहाना बनाइनु हुँदैन । ऐतिहासिक पुस्तकालय जस्ता ऐतिहासिक धरोहरहरूको भौतिक एवं डिजिटल पूर्वाधार सुधार गर्दै, पुस्तकमाथिको कर नीति परिमार्जन गरी र विद्यालय तहदेखि नै पढ्ने बानीलाई जीवनशैलीको रूपमा विकास गरेमा मात्र वर्तमान पुस्तालाई बौद्धिक र नेतृत्वदायी बनाउन सकिन्छ । समयमै यसतर्फ कदम नचाल्ने हो भने हाम्रो मौलिकता र पहिचाननै ओझेलमा पर्न सक्छ  । 


 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update