Shittalpati
राहत र उद्दारमा हातेमालो गरौं 

प्राकृतिक विपद् कहिल्यै निम्ता दिएर आउँदैन् । बाढी, पहिरो, भूकम्पलगायतका विपद्ले एकै छिनमा मानिसको जीवन, घर–सम्पत्ति र जीविकोपार्जनमा ठूलो क्षति पुर्‍याउन सक्छ । पछिल्लो समय रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पनि यस्तै पीडादायी अवस्था सिर्जना गरेको छ । तिब्बततर्फबाट उर्लिएको आकस्मिक र अकल्पनीय बाढीले अमूल्य जीवनहरू खोसेको छ भने हजारभन्दा बढी नागरिक बेपत्ता भएका छन् । साथै भौतिक संरचना, सडक, पुल, विद्युत् तथा निजी सम्पत्तिमा  ठूलो क्षति पुगेको छ । एकैछिन अघिसम्म हाँसखेल गरिरहेका अनुहारहरू, प्राणभन्दा प्यारा घरहरू र मानिसका अनेक सपना धमिलो भेलले निमेषभरमै निलेको छ । यो केवल एउटा प्राकृतिक दुर्घटनामात्र होइन, प्रकृतिले दिएको निर्मम चेतावनी पनि हो । यतिबेला शोकलाई शक्तिमा बदल्दै बेपत्ताहरूको खोजी र जोखिममा परेकाहरूको तदारुकताका साथ  उद्धार गर्नु राज्यको पहिलो दायित्व हो । विस्थापित भएका र सर्वस्व गुमाएकाहरूलाई स्वास्थ्योपचार, सुरक्षित आश्रय र तातो गाँसको खाँचो छ । संकटको यो घडीमा हरेक पीडितले राज्य आफ्नो अभिभावक बनेर उभिएको महसुस गर्न पाउनुपर्छ । ‘सरकार साथमा छ’ भन्ने सान्त्वना अब सिंहदरबारका विज्ञप्ति र नेताहरूका मीठा बोलीमा होइन, बाढीले बगर बनाएका ती बस्तीहरूको यथार्थमा र उद्धारकर्मीहरूको पसिनामा देखिनुपर्छ ।

यद्यपी सरकार र सुरक्षा निकायको मात्र प्रयासले ठूलो विपद्को सामना गर्न कठिन हुन्छ । स्थानीय तह, राजनीतिक दल, सामाजिक संघ–संस्था, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिक सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक छ । उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्वयंसेवकलाई आवश्यक सामग्री, उपकरण र जनशक्तिको सहयोग उपलब्ध गराउनु अहिलेको आवश्यकता हो । बाढी प्रभावित क्षेत्रमा उद्धारपछि राहत वितरणको विषय अझ महत्वपूर्ण हुन्छ । विपद्का कारण घरबारविहीन भएका, आफन्त गुमाएका तथा दैनिक आवश्यकताका सामग्रीबाट वञ्चित भएका नागरिकलाई खाद्यान्न, खानेपानी, लत्ताकपडा, औषधि र अस्थायी आवासको व्यवस्था गर्नुपर्छ । देशभरबाट राहत संकलन भइरहेका छन् । तर राहत संकलन हुनु मात्र ठूलो कुरा हैन त्यो राहत वास्तविक पीडितसम्म पुग्यो कि पुगेन भन्ने विषयमा पनि  महत्वपूर्ण हो । यसतर्फ सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्छ । विपद्को पीडामाथि राजनीति वा व्यक्तिगत स्वार्थ हावी हुनुहुँदैन । यस्ता विपद्का बेला सहयोगका नाममा अनावश्यक प्रचार गर्नेभन्दा पीडितको वास्तविक आवश्यकता पहिचान गरी सहयोग गर्नु प्रभावकारी हुन्छ । राहत सामग्री संकलन र वितरणमा पारदर्शिता कायम गर्नुपर्छ । एउटै ठाउँमा धेरै सामग्री थुपार्ने र अर्को ठाउँमा आवश्यक सामग्रीसमेत नपुग्ने अवस्था आउन नदिन सम्बन्धित निकायबीच समन्वय आवश्यक छ । विपद्का बेला हामीले देखाउने एकता र मानवीयता नै हाम्रो समाजको वास्तविक शक्ति हो । त्यसैले भोटेकोसीका बाढीपीडितको उद्धार र राहतमा सबैले हातेमालो गरौँ । पीडितलाई तत्काल सहयोग गरौँ र विपद्पछिको पुनःस्थापनामा समेत साथ दिऔँ ।


 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update