नेपालको संविधानले महिला तथा बालबालिकाको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । महिलालाई समानताको हक, समानुपातिक समावेशी सहभागिता, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार प्रदान गरिएको छ । त्यसैगरी बालबालिकालाई नाम, पहिचान, शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार र संरक्षणको अधिकार संविधानले प्रत्याभूत गरेको छ । बालबालिकामाथि हुने हिंसा, शोषण, बेचबिखन तथा जोखिमपूर्ण कामबाट संरक्षणको व्यवस्था पनि कानूनले गरेको छ ।
यी संवैधानिक र कानुनी व्यवस्थाले नेपाललाई अधिकारमुखी राज्यको दिशामा अघि बढाएको देखिन्छ । तर कानूनमा लेखिएको अधिकार व्यवहारमा कति कार्यान्वयन भएको छ भन्ने प्रश्न अझै महत्वपूर्ण छ । महिलामाथि हुने घरेलु हिंसा, यौनजन्य हिंसा, कार्यस्थलमा हुने दुव्र्यवहार, आर्थिक तथा सामाजिक विभेदजस्ता समस्या पूर्णरूपमा अन्त्य हुन सकेका छैनन् । बालबालिकाको हकमा पनि बालविवाह, बालश्रम, हिंसा, दुव्र्यवहार, बेचबिखन, विद्यालय छाड्ने अवस्था तथा डिजिटल माध्यमबाट उत्पन्न जोखिम चुनौतीका रूपमा देखिएका छन् । अधिकारको संरक्षणका लागि कानून बनाउनु पहिलो चरण मात्र हो । त्यसको प्रभावकारी कार्यान्वयन, पीडितलाई सहज न्याय, दोषीमाथि कानूनबमोजिम कारवाही र राज्यका निकायबीच प्रभावकारी समन्वय आवश्यक हुन्छ । अझै पनि कतिपय पीडितले सामाजिक दबाब, आर्थिक निर्भरता, पारिवारिक प्रभाव वा न्यायिक प्रक्रियाको जटिलताका कारण उजुरी गर्न नसक्ने अवस्था भोगिरहेका छन् । यस्तो अवस्था अन्त्य गर्न स्थानीय तहदेखि न्यायिक तथा सुरक्षा निकायसम्म पीडितमैत्री सेवा विस्तार गर्नुपर्छ ।
महिला र बालबालिकाको अधिकार संरक्षण केवल महिला, बालबालिका तथा सम्बन्धित सरकारी निकायको जिम्मेवारी होइन। परिवार, विद्यालय, समुदाय, सञ्चारमाध्यम, नागरिक समाज र राजनीतिक नेतृत्व सबैको समान दायित्व हो । कानूनको जानकारी गाउँ–गाउँसम्म पु¥याउनु, विद्यालय तहदेखि अधिकार र कर्तव्यबारे सचेतना बढाउनु तथा सार्वजनिक निकायलाई जवाफदेही बनाउनु आवश्यक छ । नेपालमा अधिकारसम्बन्धी कानूनको कमीभन्दा कार्यान्वयनको प्रभावकारिता ठूलो चुनौती हो । त्यसैले अब नयाँ कानून थप्नेभन्दा भएका कानुनको निष्पक्ष र प्रभावकारी कार्यान्वयनमा राज्यको प्राथमिकता केन्द्रित हुनुपर्छ । महिला र बालबालिकाले आफ्नो अधिकार कागजमा मात्र होइन, दैनिक जीवनमै अनुभूति गर्ने अवस्था सिर्जना भए मात्र कानुनी राज्यको वास्तविक अर्थ स्थापित हुनेछ ।

