Shittalpati
विश्व खाद्य दिवसको सन्देश

आज १६ अक्टोवर अर्थात् विश्व खाद्य दिवस । ‘पानी जीवन हो, पानी खाना हो’ भन्ने नाराका साथ संसारभर विश्व खाद्य दिवस मनाइँदै छ । खाद्यान्न संकट तथा भोकमरिविरुद्ध लड्ने संयुक्त प्रतिवद्धताका साथ संसारभर यो दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९८१ देखि यो दिवस मनाइँदै आइएको हो । सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको  नेपालले २०३८ साल (सन् १९८१) देखि यो दिवस मनाउँदै आएको छ ।

यस दिवसको मुख्य उद्देश्य विश्वभर भोकमरीको अन्त्य गर्नु, खाद्य सुरक्षाको सुनिश्चितता गर्नु र सबै मानिसका लागि पर्याप्त, सुरक्षित तथा पोषणयुक्त खाद्य पदार्थको पहुँच स्थापित गर्नु हो । खाद्य मानव जीवनको आधार हो । त्यसैले कुनै पनि नागरिक भोकै बस्नुपर्ने अवस्था रहनु सभ्य समाजका लागि दुःखद र चुनौतीपूर्ण विषय हो । विश्वमा कृषि उत्पादनमा उल्लेखनीय प्रगति भए पनि अझै लाखौँ मानिस भोकमरी, कुपोषण र खाद्य असुरक्षाको समस्याबाट प्रभावित छन् । एकातिर उत्पादित खाद्यान्नको ठूलो हिस्सा खेर गइरहेको छ भने अर्कोतिर धेरै मानिसले पेटभरि खान पाएका छैनन् । गरिबी, बेरोजगारी, प्राकृतिक विपद्, जलवायु परिवर्तन, युद्ध तथा खाद्यान्नको असमान वितरण यस समस्याका प्रमुख कारण हुन् । यसले खाद्य संकट केवल उत्पादनको कमीले मात्र नभई वितरण प्रणाली र आर्थिक असमानताका कारण पनि उत्पन्न हुने तथ्यलाई उजागर गर्छ । नेपालजस्तो कृषिप्रधान देशमा खाद्य सुरक्षाको विषय अझ महत्वपूर्ण छ । देशको ठूलो जनसंख्या कृषि पेसामा निर्भर रहे पनि कृषि उत्पादन पर्याप्त नहुनु, परम्परागत खेती प्रणाली, सिँचाइको अभाव, मल तथा उन्नत बीउको अपर्याप्तता, कृषि क्षेत्रमा युवाको घट्दो आकर्षण र बढ्दो आयात निर्भरता प्रमुख चुनौतीका रूपमा रहेका छन् । ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजले उचित बजार र मूल्य नपाउनु तथा किसानले समयमै आवश्यक सामग्री प्राप्त गर्न नसक्नुले पनि कृषि क्षेत्र कमजोर बनेको छ ।

यस्तो अवस्थामा खाद्यान्नमा आत्मनिर्भर बन्ने लक्ष्य पूरा गर्न कृषि क्षेत्रको आधुनिकीकरण र किसानमैत्री नीति आवश्यक छ । हरेक व्यक्तिले पर्याप्त र पोषणयुक्त खाना पाउनु उसको आधारभूत अधिकार हो । त्यसैले भोकमरीमुक्त समाज निर्माण गर्न उत्पादन वृद्धि, न्यायोचित वितरण, दिगो कृषि प्रणाली र सामाजिक समानतालाई प्राथमिकता दिनुपर्छ । कृषिको विकास, खाद्यान्नको न्यायोचित वितरण र जिम्मेवार उपभोगलाई प्राथमिकता दिन सके मात्र भोकमुक्त, स्वस्थ र समृद्ध समाज निर्माण गर्न सकिन्छ । यही नै विश्व खाद्य दिवसको वास्तविक सन्देश हो । 

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update