Shittalpati
बाढीले ल्याएको शोक, पीडा र सिकाइ

राम ज्ञवाली
रिब्दिकोट –४, नारायणथोक पाल्पा

घटना हुने दिन बिहान रसुवाको आकाश सफा थियो । सूर्यले हिमालका चुचुराहरूमा सुनौलो प्रकाश छर्दै थियो । टिमुरेको बजारमा मानिसहरू सामान्य दिनझैं व्यस्त थिए । पर्यटकहरू क्यामेरा बोकेर हिमाल हेर्दै थिए । स्थानीय बासिन्दा दैनिक काममा लागेका थिए । सुरक्षाकर्मीहरू आफ्नो कर्तव्य निर्वाह गर्दै थिए । भन्सारका कर्मचारीहरू नाकाको काममा व्यस्त थिए । स्याफ्रुबेँसी र रसुवागढीका सडकहरूमा गाडीहरू चल्दै थिए । त्रिशूलीको पानी शान्त बग्दै थियो तर प्रकृतिले एकाएक आफ्नो रङ्ग रूप देखायो । तिब्बतको सीमानजिकै हिमनदी र चट्टानको भीषण पहिरोले ल्हेन्दे खोलाको प्रवाह रोकेर ठूलो बाँध बनाएको थियो । त्यो बाँध फुट्दा भोटेकोशी नदीमा पानीको विशाल पर्खाल आएर ठोक्कियो ।

केही मिनेटमै नदीको सतह नौ मिटरसम्म उकालो लाग्यो । पानी, माटो, ढुङ्गा, काठ लगायतको मिश्रणले बजार, घर, पुल, सडक र जलविद्युत् संरचनाहरूलाई निल्यो । टिमुरे बजार हरायो । सयौं गाडीहरू बगे । सुरक्षा पोस्टहरू बगे । मानिसहरू चिच्याउँदै भागे, तर बाढीले उनीहरूलाई पछ्याउन छोडेन । आमाको हातबाट बच्चा छुट्नु, पतिको आँखा अगाडि पत्नी बग्नु, पत्नीको अगाडि पति विलिन हुनु, कतिका दाइभाइ हराए, कतिका दिदीबहिनी हराए । अनाथ भए कैयौ बालबालिकाहरू । बाढीको भेलसँगै हराए कैयौ कलिला मुनाहरू । कसैको करोडौँको सम्पत्ति थियो, महलजस्ता घर थिए, सुखसयल र धन–दौलतको कुनै कमि थिएन, तर  प्रकोपको एउटा झट्काले परिवारै उजाडियो, वंश नै मेटियो । कोही भाग्यवश बाँचेका छन्, तर जीवनभर पसिना बगाएर, रगत र आँसु साटेर जोडेको भएभरको कमाइ एकैछिनमा माटोमा बिलिन भयो । सुरक्षाकर्मीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा बेपत्ता हुनु–यी दृश्यहरू ह्दय चिरिदिने खालका थिए । हिजोका ती कारुणिक र वियोगान्त दृश्यहरू अहिले पनि आँखा अगाडि नाच्छन् । रसुवाबाट सुरु भएको यो विपत्ति त्रिशूली हुँदै नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी र चितवनसम्म पुग्यो । करिब तीन सय किलोमिटर लामो यात्रामा बाढीले सयौँको जीवन अस्तित्व मेटिदियो । अहिलेसम्म सात सयभन्दा बढी शव फेला परिसकेका छन् । दुई हजार पाँच सयभन्दा बढी अझै बेपत्ता छन््–नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीका जवानहरू, जलविद्युत्का कर्मचारीहरू, भन्सारका कर्मचारीहरू, आप्रवासनका कर्मचारीहरू र विदेशी पर्यटकहरूसहित । चितवनमा मात्रै दुई सय पचासभन्दा बढी शव भेटिएका छन् । नारायणी किनारमा शव खोज्ने दृश्यले मुटु काम्छ । परिवारहरू आफन्तको फोटो बोकेर अस्पताल र उद्धार शिविरहरूमा भौंतारिरहेका छन् । यो घटना केवल प्राकृतिक प्रकोप होइन । यो मानव र प्रकृतिको सम्बन्धको गहिरो प्रश्न हो । हिमाललाई हामी देवता मान्छौँ । हामी उसको प्रकृतिलाई बुझ्न सकेका छैनौँ । हिमनदीहरू जलवायु परिवर्तनका कारण अस्थिर भइरहेका छन् । हिउँ पग्लिरहेको छ । चट्टानहरू कमजोर भइरहेका छन् । हामी अझै पनि नदी किनारमा घर बनाउँछौँ, असुरक्षित ठाउँमा बजार बसाउँछौँ, र विकासको नाममा प्रकृतिलाई चुनौती दिन्छौँ । बाढीले हामीलाई सम्झायो–मानव सभ्यता प्रकृतिको दयामा निर्भर छ । हामीले जतिसुकै प्रविधि विकास गरे पनि प्रकृतिसँग लड्न सकिँदैन । हामी केवल उसको नियम बुझेर बाँच्न सक्छौँ ।
धन भएर पनि आखिर साथमा के लगेर गयो र मानिसले ? जुन सम्पत्तिका लागि जीवनभर दौडियौँ, त्यही सम्पत्ति एक दिन छोडेर जानुपर्ने रहेछ । आज हाम्रो भनेर सम्हालेको घर, जग्गा, धन–दौलत सबै यहीं छुट्ने रहेछ, साथमा जाने त केवल कर्म र आफूले बाँडेको माया रहेछ ।  यो विपत्तिले जीवनको क्षणिकतालाई उजागर गर्छ । एक क्षणमा सबै कुरा बदलिन्छ । घर, परिवार, सपना, भविष्य–सबै पानीसँग बग्छ । हामीले निर्माण गरेका ठूला संरचनाहरू, जलविद्युत् आयोजनाहरू, पक्की सडकहरू–प्रकृतिको एक आक्रमणमा धूलो बन्छन् । यसले हामीलाई सम्झाउँछ कि भौतिक समृद्धि क्षणिक हो । साँचो समृद्धि भनेको प्रकृतिको सम्मान, मानवताको संरक्षण र दिगो जीवनशैली हो । बाढीले बगाएको देशले हामीलाई सोध्छ–हामी के निर्माण गर्दैछौँ ? घर कि घरजस्तो भ्रम ? विकास कि विनाश ?यो विपत्ति हाम्रो पूर्वतयारीको अभावको परिणाम हो । हिमनदी र ग्लेसियल लेकहरूको अनुगमन प्रणाली कमजोर छ । पूर्वसूचना प्रणाली पर्याप्त छैन । नदी किनारका बस्तीहरू जोखिममा छन् । जलविद्युत् आयोजनाहरूको सुरक्षा मापदण्ड पर्याप्त छैन । सीमापार समन्वय कमजोर छ । जलवायु परिवर्तनका प्रभावहरूबारे हामीले पर्याप्त अध्ययन गरेका छैनौं । विकास मोडेल अझै पनि प्रकृतिविरोधी छ । हामी नदीलाई बाँध्छौँ, जंगल फाँड्छौँ, र पहाड खनिन्छौँ तर जब प्रकृति जवाफ दिन्छ, हामी आश्चर्यचकित हुन्छौँ । यो आश्चर्यको मूल्य सयौं जीवन हो ।

एक आमाको कथा सुन्नुहोस् । उनी टिमुरेमा बस्थिन् । बिहान छोरा र बुहारीलाई बिदाई गरेर घर फर्किन् । केही बेरपछि पानीको आवाज आयो । उनी बाहिर निस्कँदा देखिन्–पानीको पर्खाल घरतिर आइरहेको थियो । छोराको हात समात्न खोजिन्, तर पानीले छोरालाई लगेको थियो । बुहारीको चिच्याहट सुनिन्, तर केही गर्न सकिनन् । अहिले उनी उद्धार शिविरमा बसेर आकाश हेर्छिन् । आँखाबाट आँसु झर्छ, तर आवाज निस्कँदैन । उनी भन्छिन्, “मेरो छोरा कहाँ गयो ? मेरो बुहारी कहाँ गइन् ? म बाँच्नुको अर्थ के ?” यस्तै सयौं कथाहरू छन् । प्रत्येक कथा यो देशको पीडा हो । प्रत्येक आँसुले राष्ट्रिय हृदयलाई छुन्छ । सुरक्षाकर्मीहरूको बलिदान पनि बिर्सिन सकिँदैन । उनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दै बाढीमा परे । प्रहरी चौकी बग्दा पनि उनीहरूले मानिसहरूलाई बचाउन खोजे । सेनाका जवानहरू हेलिकप्टरबाट उद्धार गर्दै थिए । केही जलविद्युत्का कर्मचारीहरू सुरुङभित्र फसे । उनीहरूको परिवार अहिले पनि आशामा बसेका छन् । विदेशी पर्यटकहरू, जसले नेपालको सुन्दरता हेर्न आएका थिए, उनीहरूको सपना पनि बाढीले बगायो । उनीहरूको परिवार विदेशमा रोइरहेका छन् । यो पीडा सीमापार छ । प्रकृतिको प्रकोपले राष्टिूय सीमा चिन्दैन । आज नेपाल पीडाले रोइरहेको छ । रसुवाको माटोमा, त्रिशूलीको पानीमा, चितवनको किनारमा–हरेक ठाउँमा आँसु मिसिएको छ तर यो आँसु मात्र होइन । यो एकताको आँसु हो, सहानुभूतिको आँसु हो, र फेरि उठ्ने संकल्पको आँसु हो । बाढीले बगाएको देशलाई हामी सबै मिलेर फेरि निर्माण गर्नुपर्छ । पीडाले रोएको नेपाललाई हामी सबै मिलेर सान्त्वना दिनुपर्छ ।उद्धारकार्य जारी छ । सेना, प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरू दिनरात खटिरहेका छन् । हेलिकप्टरहरू उडिरहेका छन् । राहत सामग्री बाँडिरहेका छन् तर राहत मात्र पर्याप्त होइन । दीर्घकालीन पुनर्निर्माण चाहिन्छ । पीडित परिवारलाई आर्थिक सहयोग, मनोवैज्ञानिक सहयोग, शिक्षा र रोजगारीको व्यवस्था चाहिन्छ । हामीले सिक्नुपर्छ–प्रकृतिसँग सहअस्तित्व गर्नुपर्छ । हिमाललाई सम्मान गर्नुपर्छ । नदीलाई ठाउँ दिनुपर्छ । हिमनदीहरूको अनुगमन प्रणाली बलियो बनाउनुपर्छ । पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्छ । विकास मोडेललाई प्रकृतिमैत्री बनाउनुपर्छ । यो विपत्तिले सम्झाउँछ जीवनको अर्थ भौतिक उपलब्धिमा मात्र छैन । साँचो अर्थ भनेको एकअर्कालाई सहयोग गर्नु, प्रकृतिलाई सम्मान गर्नु, र भविष्यका पुस्तालाई सुरक्षित संसार छोड्नु हो । बाढीले हामीलाई सोध्छ–हामी कस्तोभविष्य निर्माण गर्दैछौँ ? के हामी आँसुको देश बन्नेछौँ वा आशाको देश ? जवाफ हाम्रो हातमा छ । बाढीले बगाएको देशलाई फेरि उभ्याउन र पीडाले रोएको नेपाललाई फेरि मुस्कुराउन हामी सबै एक हुनुपर्छ । हिमालको देश नेपाल फेरि उठ्नेछ । आँसु सुकाएर हामी फेरि हिमाल हेर्नेछौँ तर ती आँसुहरू कहिल्यै बिर्सिनु हुँदैन । ती आँसुहरूले हामीलाई सम्झाउँछन्–जीवन क्षणिक छ, तर मानवताको शक्ति अमर छ । यसले हामीलाई एक बनाउनेछ । प्रकृतिसँगको सम्बन्धलाई पुनः परिभाषित गर्नेछ र भविष्यलाई सुरक्षित बनाउनेछ ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update