नवराज बस्याल(बादल)
प्रेमको प्रतीक रानीमहल भनेर परिचित पाल्पाको तानसेन –१३ स्थित रानीमहल हाम्रो इतिहास, संस्कृति, कला, वास्तुकला र प्रेमको अनुपम प्रतीक हो । कालीगण्डकी नदीको किनारमा अवस्थित यो ऐतिहासिक सम्पदा केवल एउटा सुन्दर भवन मात्र होइन नेपालको ऐतिहासिक पहिचान बोकेको जीवित दस्तावेज पनि हो । आज रानीमहल हेर्न हजारौं पर्यटक पुग्ने गर्छन् तर धेरैजसो पर्यटक केही समय भवन अगाडि तस्बिर खिच्छन् भिडियो बनाउछन् र फर्किन्छन् यो अवस्थालाई परिवर्तन गर्न अब योजनावद्ध रूपमा सोच्ने समय आएको छ । पर्यटन भनेको केवल एउटा भवन देखाउनु मात्र होइन पर्यटकलाई अनुभव ज्ञान र स्मरणीय यात्रा दिनु पनि हो । रानीमहल पुग्ने सम्पूर्ण यात्रा आफैमा एउटा पर्यटकीय अनुभव बन्नुपर्छ । तानसेन –५ बतासेडाँडादेखि रानीमहलसम्मको करिब १३ किलोमिटर सडकलाई पर्यटन करिडोरका रूपमा विकास गर्न सकिन्छ । बाटोभरि पर्ने प्राकृतिक धार्मिक र ऐतिहासिक स्थानलाई व्यवस्थित गरी जानकारीमूलक बनाइयो भने पर्यटक गन्तव्यमा पुग्नुअघि नै पाल्पाको इतिहास र संस्कृति बुझ्न थाल्नेछनर ।

खरिपानीलाई आकर्षक विश्रामस्थलका रूपमा विकास गर्न सकिन्छ । त्यहाँको गाईमुखे धारा सुन्तला बारिहरु त्यस स्थानको इतिहास, विशेषता र प्राकृतिक महत्व झल्काउने ठूलो सूचना बोर्ड राख्नुपर्छ । नारायणडाँडा र अवल क्षेत्रमा दृश्यावलोकन स्थल, चौतारा, फूलबारी र फोटो प्वाइन्ट निर्माण गर्न सकिन्छ । हात्तीढुंगामा यसको नामकरण, इतिहास, धार्मिक तथा भौगोलिक महत्व स्पष्ट पार्ने व्याख्यात्मक बोर्ड राख्नुपर्छ । पर्यटकले फोटो मात्र होइन प्रत्येक स्थानको कथा पनि साथमा लिएर फर्किने वातावरण बनाउनु आवश्यक छ । रानीमहल नजिकै प्राकृतिक झरना नभए पनि वातावरणसँग मेल खाने कृत्रिम झरना निर्माण गर्न सकिन्छ । मोटरको माध्यमबाट पानी प्रवाह गरी प्राकृतिक झरनाजस्तै दृश्य सिर्जना गर्न सकिन्छ यसले परिसरको सौन्दर्य बढाउनुका साथै पर्यटकलाई थप समय त्यहाँ बिताउन प्रेरित गर्नेछ । कालीगण्डकी नदीमा वातावरणीय र प्राविधिक अध्ययनपछि सुरक्षित बोटिङ सञ्चालन गर्ने सम्भावना पनि खोजिनुपर्छ । हिउँदमा पानी व्यवस्थापन गर्न सकिने र वर्षायाममा पूर्ण रूपमा खोल्न मिल्ने संरचनाको सम्भाव्यता अध्ययन गरिनुपर्छ । यदि सुरक्षित रूपमा बोटिङ सञ्चालन गर्न सकियो भने रानीमहल नेपालको उत्कृष्ट नदी पर्यटन गन्तव्य बन्न सक्छ । रानीमहल वरिपरि बन्ने रेस्टुरेन्ट, क्याफे र विश्रामस्थल आधुनिक कङक्रिट शैलीमा होइन पाल्पाको मौलिक पहिचान झल्किने काठ, ढु·ा र स्थानीय कलाको प्रयोग गरी निर्माण गरिनुपर्छ । पर्यटकले पाल्पाको स्वाद संस्कृति र पहिचान एकै ठाउँमा अनुभव गर्न पाउनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा रानीमहलको भवन हो । धेरै मानिसले सोच्ने गर्छन् कि पर्यटक त्यहाँ फोटो खिच्न मात्र जान्छन् तर वास्तविकता त्यस्तो होइन रानीमहलमा पर्यटक फोटो खिच्न मात्र आउदैनन् उनीहरू अध्ययन गर्न इतिहास बुझ्न, वास्तुकला हेर्न, निर्माण प्रविधि जान्न र तत्कालीन समाज तथा जीवनशैलीबारे जानकारी लिन पनि आउँछन् ।
विशेषगरी इतिहास, पुरातत्व, वास्तुकला, संस्कृति, पर्यटन र कला अध्ययन गर्ने विद्यार्थी अनुसन्धानकर्ता तथा विदेशी पर्यटकका लागि रानीमहल एउटा खुला संग्रहालय हो । त्यसैले रानीमहलभित्र हरेक कोठामा विस्तृत जानकारी राख्नुपर्छ । यो कोठा कसका लागि प्रयोग हुन्थ्यो ?, कुन सामान किन राखिएको थियो ?, भवन निर्माणमा कुन सामग्री प्रयोग गरियो ?, कति वर्ष लगाएर निर्माण गरियो ?, कुन भाग मूल स्वरूपमा छ ? र कुन भाग पुनः निर्माण गरिएको हो ? कुन झ्यालबाट राजपरिवारले कालीगण्डकी हेर्थे ? कुन कक्षको उपयोग के थियो ? यस्ता प्रश्नको उत्तर सूचना बोर्ड डिजिटल स्क्रिन अडियो गाइड वा QR Code मार्फत उपलब्ध गराउन सकिन्छ । रानीमहललाई केवल रंगीचंगी बत्तीले सजाएर आकर्षक बनाउने सोच उपयुक्त होइन । यसको मौलिकता नै यसको सबैभन्दा ठूलो सौन्दर्य हो । पुराना भित्ता, सिलिङ र संरचनामा आधुनिक प्लास्टिक, पीभीसी वा अनुपयुक्त सामग्री प्रयोग गर्नु हुँदैन । बरु भवनभन्दा केही टाढाबाट फोकस लाइट प्रयोग गरी रातिको सौन्दर्य देखाउन सकिन्छ यसले भवनको मौलिक स्वरूप पनि सुरक्षित रहन्छ र दृश्य पनि आकर्षक देखिन्छ । रानीमहल परिसरमा पाल्पाका मौलिक उत्पादनका लागि स्थायी प्रदर्शनी तथा बिक्री केन्द्र स्थापना गरिनुपर्छ । पाल्पाली ढाका, करुवा, काठका हस्तकला, स्थानीय कृषि उत्पादन, घरेलु उद्योगका सामग्री, स्मृतिचिन्ह तथा स्थानीय कलाकारका सिर्जना बिक्री हुने व्यवस्था गरियो भने पर्यटनसगै स्थानीय अर्थतन्त्र पनि सशक्त बन्छ । त्यसैगरी स्थानीय लोकसंस्कृति, भजन, पञ्चेबाजा, नेवारी संस्कृति, पाल्पाली खानाका परिकार तथा मौलिक सांस्कृतिक कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्न सकिन्छ। यसले रानीमहललाई एउटा जीवित सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्नेछ । पर्यटन विकासको अर्थ भवन बनाउनु मात्र होइन स्थानीय जनताको जीवनस्तर उकास्नु पनि हो । पर्यटक आउँदा होटल चल्छन् । होमस्टे भरिन्छन् । गाडी चल्छन् । रेस्टुरेन्टमा ग्राहक बढ्छन् । स्थानीय किसानका उत्पादन बिक्री हुन्छन् । ढाका र करुवा उद्योगले बजार पाउँछन् । युवाले रोजगारी पाउँछन् र सम्पूर्ण पाल्पाको अर्थतन्त्र चलायमान हुन्छ ।
आज आवश्यक कुरा ठूलो बजेटभन्दा पनि ठूलो सोच हो । रानीमहललाई विश्वस्तरीय ऐतिहासिक पर्यटन गन्तव्य बनाउन यसको मौलिकता जोगाउँदै आधुनिक व्यवस्थापन गर्नुपर्छ यहाँ आउने प्रत्येक पर्यटकले मैले एउटा भवन मात्र होइन नेपालको इतिहास पढेर फर्किए भन्ने अनुभूति गर्नुपर्छ । यदि हामीले रानीमहललाई फोटो खिच्ने ठाउँमा मात्र सीमित राख्यौ भने यसको वास्तविक मूल्य गुम्नेछ तर यदि यसलाई अध्ययन अनुसन्धान, संस्कृति, इतिहास, वास्तुकला र स्थानीय जीवनशैली बुझ्ने केन्द्रका रूपमा विकास गर्न सक्यौ भने रानीमहल केवल पाल्पाको गौरव मात्र होइन नेपालको ऐतिहासिक पर्यटनको उत्कृष्ट नमुना बन्नेछ । रानीमहल हाम्रो साँझा सम्पत्ति हो । यसको संरक्षण , संवद्र्धन र योजनाबद्ध पर्यटन विकासमा सरकार, स्थानीय तह , पर्यटन व्यवसायी , पुरात्वविद् , स्थानीय समुदाय र नागरिक सबैको साझा दायित्व छ । आज गरिने सही योजना र दूरदर्शी सोचले भोलिको समृद्ध पाल्पा निर्माण गर्न सक्छ । अब रानीमहललाई नयाँ दृष्टिकोणबाट हेर्ने बेला आएको छ । जहाँ इतिहास सुरक्षित रहोस् । पर्यटन फस्टाओस् र स्थानीय जनताको जीवनस्तर पनि उकासियोस् ।

