पाल्पा, नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा शनिबार पाल्पामा ऐतिहासिक भगवतीको रथसहित सिन्दुर जात्रा निकालिएको छ । प्रत्येक वर्ष भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जात्रा निकाल्दै आएको छ । यसवर्ष २०७ औँ भगवती खट यात्राका रूपमा सिन्दुर जात्रा निकालिएको हो । यो जात्रालाई जिल्लामा निकालिने सबैभन्दा ठूलो जात्राका रूपमा लिने गरिन्छ । नेपाली सेनाले भगवतीको रथलाई अपराह्न्न १२ः३० बजे सलामी दिएर तीन पटक मन्दिर परिक्रममा गराएपछि रथ निकालिएको हो ।
भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काँधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाइका साथ मूर्तिलाई रथमा राखेर नगर परिक्रमा गराइएको थियो । रथलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले बलि चढाएपछि तानसेनको परिक्रममा गराइएको हो । रथलाई कुमाल समुदायका युवाले काँधमा बोकी नगर परिक्रमा गराएका हुन् । जात्राको अघिल्लो दिन अर्थात् श्रीकृष्णजन्माष्टमीका दिनदेखि एसियाको ठूलो ढोका मानिने मूल गेट खुला गरिएको थियो । विगतका वर्षजस्तो बाजागाजा सहित सांस्कृतिक झाँकी निकालिएन । देश भोटेकोशी बाढीको पीडामा रहेका बेला संयमित र औपचारिक रूपमा रथ निकालिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले बताए ।
देश नै शोकको अवस्थामा रहेकाले यस वर्ष जात्रामा अनावश्यक तामझाम नगरिएको उनको भनाई छ । अध्यक्ष महर्जनले भने “भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि देश शोकमा छ । यही अवस्थालाई ध्यानमा राख्दै हामीले विजयोत्सवलाई औपचारिकतामा सीमित गरेका हौं ।”उनका अनुसार विगतमा जस्तो पञ्चेबाजा, प्रसस्त ढिमेबाजा निकालिएन । नेपाली सेनाको बाजा भने प्रयोग गरिएको अध्यक्ष महर्जनले बताए । रथलाई नगर परिक्रमा पछि मन्दिर परिसरमा पु¥याई विसर्जन गरिएको समितिका अध्यक्ष महर्जनले बताए ।
वि.स. १८७१ देखि १८७२ मा भएको नेपाल अँग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अंग्रेज फौजलाई हराउन सफल भएपछि पाल्पामा हरेक वर्ष भाद्र कृष्णनवमीको दिन विजय उत्सव स्वरुप भगवती रथयात्रा निकाल्ने गरिएको हो । जात्रा हेर्नको लागि तानसेनमा सयौंको संख्यामा जात्रालु जिल्ला र जिल्लाबाहिरबाट आएका थिए । बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ । भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाईका साथ मुर्तीलाई रथमा राखेर नगर परिक्रमा गरिएको छ । ऐतिहासिक महत्व बोकेको जात्राका क्रममा शान्ति सुव्यवस्था कायम गर्न जिल्लाको सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ ।
नेपाली सेनाले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि विजय उत्सव मनाउन सुरू गरिएको इतिहासका जानकार निर्मल श्रेष्ठले बताए । विश्व विजयको यात्रामा हिँडेको अंग्रेज सेनासँग नेपाली सेनाले पाल्पाको नुवाकोट र बुटवलको जितगढीमा युद्ध लडेर विजयको झण्डा फहराएको थियो । तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा दुई पटकसम्म भएका युद्धमा अंग्रेज फौजलाई पराजित गरेपछि त्यसको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रासहित विजय उत्सव मनाउन सुरू गरिएको हो । बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिंह थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरे अनुसार यो जात्रा मनाउने गरिएको इतिहासकार श्रेष्ठले बताए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी भगवती रथ जात्राले नेपालको वीरता र राष्ट्रिय गौरवको इतिहासलाई पुस्तौँदेखि जीवन्त राखेको बताए । उनले भगवती जात्राले धार्मिक आस्था, सांस्कृतिक विविधता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गरे । मौलिक सम्पदाको संरक्षण र प्रवद्र्धनमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस्ता सांस्कृतिक पर्वले रोजगारी सिर्जना र पर्यटन विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
रथयात्रामा मुख्यमन्त्री आचार्य, प्रतिनिधि सभा सदस्य माधव थापा, राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, पूर्वमन्त्री सोमप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती, वन वातावरण तथा पर्यटनमन्त्री तुलसी प्रसाद चौधरी, प्रदेशका पूर्वमन्त्री खेम सारु, मध्य पश्चिम पृतना हेडक्वाटर बुटवलका पृतनापति उपरथी हिम्मत बहादुर विष्ट, सहायक रथी मनोज बैदवार, संजित श्रेष्ठ सिन्या महासेनानी मनोज गुरुङ्ग सहित हजारौं भक्तजनहरुको सहभागीता रहेको थियो । जिल्लाका सरकारी कार्यालयहरु, संघसंस्था, समूहहरु सबै रथयात्रासँगै सदरमुकाम तानसेन परिक्रमा गरेका थिए । जात्रामा सहभागिताका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही , काठमाडौं लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु पाल्पा आएका थिए । राष्ट्रिय विरतासँग जोडिएको भगवती जात्राका दिन आज लुम्बिनी प्रदेश सरकारले हरेक वर्ष पाल्पामा सार्वजनिक विदा दिर्दै आएको छ ।


