आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । यो प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ । यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको महासभाको १४ औँ सत्रमा घोषणा गरेको थियो । सन् १९६७ मा पहिलो पटक यो दिवस मनाइएको थियो । यसको उद्देश्य व्यक्ति, समुदाय र समाजका लागि साक्षरताको महत्वलाई उजागर गर्नु हो ।
यो दिवस अक्षर चिन्न सक्ने क्षमताको उत्सव मात्र होइन, शिक्षा, चेतना, आत्मनिर्भरता र सम्मानपूर्ण जीवनको अधिकारप्रति राज्य र समाजलाई जिम्मेवार बनाउने अवसर पनि हो । साक्षरता व्यक्तिको जीवन बदल्ने आधार हो भने शिक्षित र सचेत नागरिक नै समुन्नत समाज निर्माणका वास्तविक संवाहक हुन् । साक्षरता भन्नाले केवल कखरा चिन्नु, आफ्नो नाम लेख्नु वा सामान्य पाठ पढ्न सक्नु मात्र बुझिँदैन । आजको बदलिँदो समयमा साक्षरता भनेको सूचना बुझ्ने, सही र गलत छुट्याउने, प्रविधिको विवेकपूर्ण प्रयोग गर्ने, आफ्नो अधिकार र कर्तव्यबारे जानकार हुने तथा दैनिक जीवनका चुनौतीसँग तर्कसंगत ढंगले सामना गर्न सक्ने क्षमता पनि हो । त्यसैले साक्षरताको अर्थ समयसँगै व्यापक हुँदै गएको छ । नेपालले विगतमा साक्षरता विस्तारमा उल्लेख्य प्रगति गरेको छ । विद्यालयको पहुँच बढेको छ, निरक्षरता घटेको छ र शिक्षा पाउने अवसर पनि पहिलेभन्दा विस्तार भएको छ । तर यति हुँदाहुँदै पनि हाम्रो शैक्षिक यात्रामा गम्भीर प्रश्नहरू बाँकी छन् ।
विद्यालय पुगेका सबै बालबालिकाले गुणस्तरीय शिक्षा पाइरहेका छन् कि छैनन् ? विद्यालयबाहिर रहेका बालबालिका, आर्थिक रूपमा विपन्न परिवार, दुर्गम क्षेत्र, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न कारणले शिक्षाबाट वञ्चित समुदायसम्म शिक्षाको समान पहुँच पुगेको छ कि छैन ? दिवसका दिन यी प्रश्नको इमानदार उत्तर खोज्नु आवश्यक छ । तर हरेक वर्ष कर्मकाण्डीजस्तो मात्रै देखिएकाले दिवसको प्रभावकारिताप्रति सरोकारवाला नै विश्वस्त हुन सकेका छैनन् । यो अत्यन्तै दुखको कुरा हो । सरकारले सञ्चालन गरेको साक्षरता अभियानले साक्षरता प्रतिशत बढाउन केही सहज भएपनि निरक्षर उन्मूलनचाहिँ चुनौतीकै विषयका रुपमा देखापरेको छ । अहिले पनि पूर्णसाक्षर जिल्ला घोषणाको क्रम जारी छ तर, साक्षर जिल्ला घोषणाको दौडमा तथ्यांक बढाइएको, साक्षरता घोषणा गरिएअनुसारको सुधार गाउँमा नदेखिएका गुनासा पनि आइरहेकै छन् । सरकारको महत्वाकांक्षी घोषणालाई सार्थक बनाउनकै लागिमात्रै निरक्षरहरुलाई रातारात साक्षर बनाइनु विडम्बनाकै कुरा हो । सरकारले संख्यात्मक भन्दा पनि गुणात्मक पक्षलाई ध्यान दिएर साक्षर अभियानलाई निरन्तरता दिन सकेमा साक्षरता दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ ।

