Shittalpati
प्रेस चौतारी पाल्पाले मनायो २५ औं स्थापना दिवस

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले २५ औं शाखा स्थापना दिवस एवं  रजतजयन्ती विविध कार्यक्रम गरी मनाएको छ । शाखाको वि.स. २०५७ बैशाख २७ स्थापना  भएको थियो ।  दिवसको दिन दिप प्रज्ज्वलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ ।

कार्यक्रम लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले निर्वाचित जनप्रतिनिधी र स्थानीय सरकारको रुपमा रहेका कर्मचारीहरुलाई जनताप्रति उत्तरदायी, जिम्मेवार, जवाफदेही बनाउन पत्रकार तथा प्रेसको भूमिका महत्वपूर्ण रहेको बताए ।  पत्रकारहरुले हरेक राजनीतिक दल, जनप्रतिनिधी र सरकारी संघ संस्था तथा कर्मचारीहरुको काम कर्तव्य तथा जिम्मेवारी निर्वाह गरे नगरेका कुरा सत्य तथ्य रुपमा जनता माझ ल्याई लोकतन्त्रलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

स्थानीय स्तरमा रहेका कार्यालयहरुको सेवा प्रवाह तथा शुसासनका विषयमा जिल्लाका पत्रकारहरुका संघ संस्थाहरुले बहस चलाउने, पैरवी गर्ने, सरोकारवाला निकायलाई जिम्मेवार बनाउने जस्ता जनमुखी काम गर्न समेत मन्त्री सारुले जोड दिए । प्रेस चौतारी  पाल्पाको सक्रियता दिनहुँ बढ्दो रहेकाले आगामी दिनमा अझै जनमुखी भएर काम गर्न प्रदेशमन्त्री सारुले सुझाव दिए । कार्यक्रममा चौतारी पाल्पाका संस्थापक अध्यक्ष केशवराज नेपालले संस्था स्थापनाकालदेखी हालसम्म चौतारी पाल्पाले गरेका काम आरोह अवरोह तथा चुनौतीहरुका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य मिलन विश्वकर्मा, नेकपा एमाले पाल्पाका उपाध्यक्ष विमल काफ्ले, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, प्रेस चौतारी लुम्विनी प्रदेश समितिका सचिव कृष्ण पोखरेल, निवर्तमान जिल्ला अध्यक्ष राजेन्द्र लिगल लगायतले प्रेस चौतारीको भूमिका र गरेका क्रियाकलाप तथा भावी दिनमा गर्नुपर्ने क्रियाकलापका बारेमा चर्चा गरेका थिए । रजतजयन्तीको अवसरमा प्रेस चौतारी पाल्पाले गुणस्तीय शिक्षामा सूचना प्रविधिको प्रयोग विषयक माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम समेत गरेको छ । शाखा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता ,सचिव दयाराज न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update