Shittalpati
आज विश्व दूरसञ्चार दिवस मनाइँदै

पाल्पा, आज विश्व दूरसञ्चार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । दूरसञ्चारमा भएका उपलब्धि र आवश्यकतालाई परिपूर्ति गर्ने बारेमा जानकारीमूलक कार्यक्रम आयोजना गरेर विश्वभर यो दिवस मनाइँदै छ ।

सूचना प्रविधिको विकास र विस्तारमा विश्वले फड्को मारेको छ, यही विकास क्रम सुरु भएको दिनको सम्झनामा दिवस मनाउने गरिएको हो । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आइटियु) का विश्वका १ सय ९३ सदस्य राष्ट्रभर यो दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) को स्थापना दिवस मे १७ लाई आधार मानेर प्रत्येक वर्ष आजकै दिन यो दिवस मनाउने गरिएको छ । सन् १८६५ मे १७ मा आइटियुको स्थापना भएपछि सन् १९६९ मे १७ तारिखमा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनमा अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको इतिहास छ । सो हस्ताक्षरको सम्झनामा सन् २००५ देखि विश्व दूरसञ्चार दिवस मनाउन थालिएको हो । विश्वभर दूरसञ्चार विकासका लागि आवश्यक रणनीति, फ्रिक्वेन्सी व्यवस्थापन जस्ता विषयमा आइटियुले सदस्य राष्ट्रलाई सहयोग गर्ने गरेको छ । सन् १९१३ मा पहिलो पटक काठमाडौँमा टेलिफोन लाइन जोडिएकोमा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो । सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो । सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालीन राणा परिवारले प्रयोग गर्ने गरी १०० लाइन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो । यी फोनहरू शासक वर्गका लागि मात्र उपलब्ध थियो ।

प्रकाशित मिति: शनिबार, जेठ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update