
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को आह्वानमा नेपाल लगायत विश्वभरका १९३ सदस्य राष्ट्रमा आज मे १७ मा विश्व दूरसञ्चार दिवस मनाइँदै छ । यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्वमा दूरसञ्चार सेवा (भ्वाइस, डाटा, दृश्य प्रसारण) को विकास र विस्तारमा समाजमा देखापरेका समस्या सुल्झाउने तथा देशको आर्थिक विकास र सामाजिक रूपान्तरणमा सक्दो सहयोग पुर्याउने हो ।
यस क्षेत्रका नीति निर्माता नियामक संस्था सेवाप्रदायक र उपभोक्ताबीचको जनचेतना जागृत गराउनु र सोही अनुसार सेवा विस्तार पनि गर्नु हो । यो दिवस मनाउने प्रचलन सन् १९६९ देखि भएको थियो । सुरुमा विश्व दूरसञ्चार दिवसको नामबाट यो दिवस मनाइन्थ्यो भने संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००९ देखि यो दिवसलाई विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको नामबाट मनाइँदै छ । यद्यपी पछिल्लो समय नेपालमा दिवस परम्परागत रुपमा मात्र मनाइँदा आईटीयुबाट प्राप्त हुनसक्ने थप लाभ लिन भने सकिएको छैन । यो अत्यन्त दुःखको कुरा हो । दूरसञ्चारको शाब्दिक अर्थ टाढा–टाढा सञ्चार गर्नु भन्ने हुन्छ । विशेषगरी प्रविधि तथा उपकरणहरुको प्रयोग गरी गरिने सञ्चारलाई दूरसञ्चार भनि बुझिन्छ । विश्वमा दूरसञ्चारका अनेकौं माध्यमहरु परिचित भइसकेका छन् । आधुनिक विश्वमा दूरसञ्चार दिवसले यस्तै नयाँ–नयाँ प्रविधिको प्रयोग र उपयोगितालाई आत्मासात गर्दै गोपनियतापूर्ण प्रविधि र सुरक्षित सञ्चारको वकालत गर्दछ । विश्वभर सूचना तथा सञ्चारका क्षेत्रमा भइरहेको प्रगतिबाट नेपाल पनि अलग छैन । नेपाली आकाशमा दौडिएको माइक्रोवेभको तरंग अप्टिकल फाइबरसम्म आइपुगेको छ । इन्टरनेटको विकास तिब्र गतिमा छ । यसबाट नेपाल पनि विश्वको सूचना संसारभित्र सहजै अटाउन सफल भएको छ । यो सकारात्कम हो । तर दूरसञ्चार क्षेत्रको सेवा अझ व्यवस्थित र नियमित हुन सकेको छैन । त्यसलाई व्यवस्थित गर्न आवश्यक छ । राज्यले स्पष्ट नीति र कानुन तर्जुमा गरी निजी क्षेत्रलाई समेत विश्वासमा लिएर प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरी यसको विकास, विस्तार र सञ्चालन गर्न समय सान्दर्भिक नियम बनाउन आवश्यक छ । दूरसञ्चार क्षेत्रको अझ व्यवस्थित र नियमित गर्नका लागि दूरसञ्चार सेवा उपलब्ध गराउने कार्यमा संलग्न संस्था र विज्ञको समेत सहभागितामा राज्यले सामाजिक संवाद र छलफल चलाउन सके मात्र हरेक वर्ष मनाईने विश्व दूरसञ्चार दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।