Shittalpati
शिक्षा सुधारमा समन्वय जरुरी

संविधानले शिक्षाको व्यवस्थापनमा स्थानीय तहलाई महत्वपूर्ण जिम्मेवारी दिए पनि व्यवहारमा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन नसक्दा शिक्षा सुधारको गति अपेक्षाकृत कमजोर देखिएको छ । देशको समग्र विकासको आधार गुणस्तरीय शिक्षा हो । शिक्षा क्षेत्रमा सुधार नगरी दक्ष जनशक्ति उत्पादन, सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुन्छ ।  तर त्यसतर्फ कुनै पनि सरकारको ध्यान जान नसक्नु दुखद् हो ।


विद्यालय सञ्चालन, शिक्षक व्यवस्थापन, शैक्षिक पूर्वाधार, विद्यार्थी भर्ना तथा स्थानीय आवश्यकताअनुसारका शैक्षिक कार्यक्रम सञ्चालनमा स्थानीय तहको भूमिका महत्वपूर्ण छ । स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले आफ्नो क्षेत्रका विद्यालय, विद्यार्थी, अभिभावक र शिक्षकका वास्तविक समस्या उसले बढी प्रभावकारी रूपमा पहिचान गर्न सक्छ । तर अधिकार मात्र हस्तान्तरण गरेर जिम्मेवारी पूरा हुँदैन । पर्याप्त स्रोत, दक्ष जनशक्ति, स्पष्ट कार्यविभाजन र आवश्यक प्राविधिक सहयोग पनि सुनिश्चित गरिनुपर्छ । शिक्षा सुधारमा स्थानीय तहले विद्यालयको भौतिक पूर्वाधार निर्माणलाई मात्र प्राथमिकता दिएर पुग्दैन। शिक्षण सिकाइको गुणस्तर, शिक्षकको क्षमता विकास, विद्यार्थीको सिकाइ उपलब्धि, विद्यालयमा नियमितता, प्रविधिको प्रयोग र कमजोर विद्यार्थीका लागि विशेष सहयोगजस्ता विषयमा पनि ध्यान दिनुपर्छ । स्थानीय आवश्यकता र सम्भावनाअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिन सके शिक्षा रोजगारीसँग जोडिने आधारसमेत बलियो बन्न सक्छ ।

त्यसैगरी, संघीय सरकारले नीति, मापदण्ड र आवश्यक स्रोतको व्यवस्था गर्ने तथा प्रदेश सरकारले प्राविधिक र समन्वयकारी भूमिका निर्वाह गर्ने वातावरण आवश्यक छ । स्थानीय तहले भने ती नीति र कार्यक्रमलाई आफ्नो भूगोल, सामाजिक अवस्था र शैक्षिक आवश्यकताअनुसार प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । शिक्षा सुधार कुनै एक सरकार वा निकायको मात्र जिम्मेवारी होइन । संघीयताको मर्मअनुसार अधिकारसँगै जिम्मेवारी र जवाफदेहिता स्पष्ट गर्दै संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक छ । स्थानीय तहलाई पर्याप्त स्रोत, अधिकार र प्राविधिक सहयोग दिँदै उसकै नेतृत्वमा समुदायलाई जोड्न सके विद्यालय शिक्षाको गुणस्तरमा ठोस सुधार ल्याउन सकिन्छ । त्यसैले शिक्षा सुधारको अभियानलाई सफल बनाउन स्थानीय तहको सक्रिय समन्वय, जिम्मेवार नेतृत्व र तीनै तहका सरकारबीचको सहकार्य अपरिहार्य छ ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update