Shittalpati
सर्पको टोकाइबाट बचौँ

देशभर नै गर्मी तथा बर्खायाम सुरु भएपछि सर्पदंशका कारण मृत्यु भएका समाचारहरु दिनहुँ आइरहेका छन् । विशेष गरी बर्खायाम सुरू भएसँगै मुलुकका तराई र मध्यपहाडी भागमा सर्पले टोकेका घटना बढ्न थालेका छ्न । मुलुकमा बैशाखदेखि असोजसम्म सर्पदंशका घटना धेरै नै हुने गर्छन् । सर्पको टोकाइ केवल एक व्यक्तिको समस्या नभई परिवार र समुदायको स्वास्थ्यसँग जोडिएको गम्भीर विषय हो । त्यसैले सर्पको टोकाइबाट बच्न सावधानी अपनाउनु र टोकिहालेमा तत्काल उचित उपचार खोज्नु आवश्यक छ ।


सर्पको टोकाइबाट बच्न घरवरिपरि झाडी, फोहोर तथा अनावश्यक वस्तु थुपारेर राख्नु हुँदैन् । राति बाहिर हिँड्दा टर्च वा बत्तीको प्रयोग गर्नुपर्छ । खेतबारी, घाँसे ठाउँ वा अँध्यारो स्थानमा जाँदा जुत्ता तथा सुरक्षित कपडा लगाउनु बुद्धिमानी हुन्छ । घरमा सुत्दा झुलको प्रयोग गर्ने र भुइँमा सुत्नुपर्ने अवस्था भए विशेष सावधानी अपनाउने गर्नुपर्छ । सर्पले टोकेको शंका लागेमा झारफुक, धामीझाँक्री वा घरेलु उपचारमा समय खेर फाल्नु हुँदैन । टोकेको अंगलाई सकेसम्म स्थिर राखी बिरामीलाई तत्काल नजिकको स्वास्थ्य संस्था वा सर्पदंश उपचार केन्द्रमा पुर्‍याउनुपर्छ । घाउ चिर्ने, विष चुस्ने, कडा गरी बाँध्ने वा रसायन लगाउनेजस्ता गलत अभ्यासले झन् जोखिम बढाउन सक्छन् । सर्पदंशको जोखिम घटाउन व्यक्तिगत सावधानीसँगै स्थानीय तह र स्वास्थ्य निकायको भूमिका पनि महत्वपूर्ण छ ।

सर्पदंशसम्बन्धी जनचेतना फैलाउने, स्वास्थ्य संस्थामा आवश्यक औषधि तथा उपचारको व्यवस्था गर्ने र आकस्मिक उद्धार तथा यातायातको पहुँच सहज बनाउनेतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्छ । अन्ततः सर्पको टोकाइबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय सावधानी, सचेतना र समयमै उपचार हो । सर्पदेखि डराएर होइन, आवश्यक सावधानी अपनाएर बाँच्न सकिन्छ । एउटा सानो लापरवाहीले ज्यान गुम्न सक्ने भएकाले आजैदेखि आफू, आफ्नो परिवार र समुदायलाई सर्पदंशबाट सुरक्षित राख्न सचेत बनौँ ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update