सामन्यतयाः आगोको ज्वाला, तातो झोल पदार्थ, तातो वस्तुको सम्पर्कबाट हुने पोलाई, विद्युतीय झट्का र रसायनिक पदार्थ छोइएर हुने चोटहरुलाई ‘जलन’ भन्ने गरिन्छ । मुलुकमा हरेक वर्ष हजारौँ मानिस आगलागी, ग्यास विस्फोट, विद्युत् सर्ट, तातो पानी वा तेलका कारण जलनको सिकार हुने गरेका छन् । बालबालिका, महिला र वृद्धहरू विशेष जोखिममा पर्छन् । तर विडम्बना, यति ठूलो जनस्वास्थ्य समस्याका बाबजुद देशका अधिकांश स्थानमा विशेषज्ञ सेवा सहितको आधुनिक जलन उपचार केन्द्रको अभाव छ । यसले धेरै बिरामीले समयमै उपचार नपाउने, अपाङ्गता भोग्नुपर्ने वा ज्यानसमेत गुमाउनुपर्ने अवस्था सिर्जना गरेको छ । जलन सामान्य घाउजस्तो होइन । यसको उपचारका लागि विशेष दक्ष चिकित्सक, प्रशिक्षित स्वास्थ्यकर्मी, अत्याधुनिक उपकरण, संक्रमण नियन्त्रणको व्यवस्था र दीर्घकालीन पुनःस्थापना सेवा आवश्यक हुन्छ । यस्ता सुविधा सीमित अस्पतालमा मात्र उपलब्ध हुँदा दूरदराजका बिरामीले उपचारका लागि लामो यात्रा गर्नुपर्ने बाध्यता छ । उपचारमा भएको ढिलाइले बिरामीको अवस्था झन् जटिल बनाउने मात्र होइन, उपचार खर्च पनि अत्यधिक बढाउँछ । सरकारले स्वास्थ्य सेवामा समान पहुँचको कुरा गर्दै आएको छ । तर जलन उपचारजस्तो संवेदनशील क्षेत्रमा आवश्यक लगानी र पूर्वाधार निर्माणले अझै पर्याप्त प्राथमिकता पाएको देखिँदैन ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा वार्षिक झन्डै ५५ देखि ६० हजार मानिस सानाठूला जलनको समस्याबाट प्रताडित हुन्छन् । यति ठुलो संख्यामा नागरिक अकालमै मृत्युको मुखमा पुग्ने, आजीवन अपाङ्गता वा विरूप भई बाँच्न विवश हुने गरेका छन् । यो विषय देशको जनस्वास्थ्य क्षेत्रका लागि ठुलो चुनौती बनेको छ । देशका सातै प्रदेशमा अत्याधुनिक र सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना र विस्तार अति आवश्यक भएको छ । जलन उपचार केन्द्रको स्थापना आफैँमा एक अत्यन्त जटिल, संवेदनशील र खर्चिलो स्वास्थ्य समस्या हो । हालसम्म पनि नेपालमा जलनको विशिष्टीकृत र भरपर्दो उपचार सेवा छैन । काठमाडौँमा वीर अस्पताल, कीर्तिपुर अस्पताल र सुषमा कोइराला मेमोरियल अस्पतालमा जलन उपचारको सीमित व्यवस्था छ । यो उपचारसेवा पर्याप्त छैन । पर्याप्त उपकरण, दक्ष प्लास्टिक सर्जन, समर्पित आइसियु शैया र विशेष जनशक्तिको कमी छ । गम्भीर जलनका बिरामीलाई विदेश लैजानुपर्ने बाध्यता छ । मोफसलमा कसैलाई गम्भीर जलन भएमा प्रारम्भिक उपचारसमेत नपाई काठमाडौँ लैजानुपर्ने अवस्था छ । कम्तीमा पनि प्रदेशस्तरमै आधुनिक जलन उपचार केन्द्र स्थापना गर्न सके हजारौँ नागरिकले समयमै गुणस्तरीय उपचार पाउने थिए । तसर्थ जलन उपचार केन्द्र निर्माणमा अब ढिलाइ गर्ने कुनै पनि बहाना स्वीकार्य हुन सक्दैन । त्यसतर्फ सरकारले ध्यान दिन जरुरी छ ।

