प्रत्येक वर्षजस्तै आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभरि मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा यो दिवस मनाउने गरिएको हो । यस दिवसले युवालाई रोजगार, उद्यमशीलता र दिगो विकासका लागि आवश्यक सीप प्रदान गर्ने विषयलाई विश्वव्यापी रूपमा प्राथमिकतामा राख्छ । आजको प्रतिस्पर्धी र प्रविधिमैत्री युगमा केवल शैक्षिक प्रमाणपत्र मात्र पर्याप्त छैन, ज्ञानसँगै व्यावहारिक सीप, नवप्रवर्तन गर्ने क्षमता र बदलिँदो परिस्थितिअनुसार आफूलाई अनुकूल बनाउन सक्ने दक्षता पनि उत्तिकै आवश्यक छ । नेपाल युवा जनसंख्याको हिसाबले सम्भावनाले भरिएको देश हो । तर पर्याप्त सीप, रोजगारीका अवसर र उद्योग–व्यवसायसँग जोडिएको प्राविधिक शिक्षाको अभावका कारण धेरै युवा विदेशिन बाध्य छन् ।
विदेश जाने सबै युवाको यात्रा नकारात्मक होइन, तर स्वदेशमै आफ्नो क्षमता उपयोग गर्न सक्ने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्व हो । यसका लागि बजारको मागअनुसारको सीपमूलक शिक्षा, व्यावसायिक तालिम, डिजिटल दक्षता र उद्यमशीलता विकासमा लगानी बढाउन आवश्यक छ । आजका युवा नै भोलिका राष्ट्रका कर्णधार हुन् । युवाहरुमा अपार क्षमता रहेको हुन्छ । उनीहरूलाई उचित शिक्ष दिक्षा, रोजगारको व्यवस्था गरी नेपालको शान्ति र समृद्धिमा सरिक गराउनु आजको आवश्यकता हो । युवा दक्षता दिवस मनाउनुको सार्थकता पनि यसैमा छ । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरुको सक्रिय सहभागिता रहेको छ । विगतमा युवाका विषयलाई सरकारका नीति, कानुन एवं कार्यक्रमले सही रुपमा सम्बोधन गर्न नसक्दा अवसरको खोजीमा विदेश जाने र उतै पलायन हुने समस्याले मुलुक समस्यामा छ । रोजगार बजारमा उपलब्ध दक्ष र योग्य युवालाई देशभित्र अवसर सिर्जना गर्न नसक्नु, जनशक्तिको माग र शिक्षाबीच सामञ्जस्य कायम हुन नसक्नु जस्ता धेरै कारण युवाहरु बेरोजगार बस्नु परेको छ । यि कुरामा दिवसले हेक्का राख्न सकेको छैन । युवालाई अवसर, सीप र आवश्यक स्रोत उपलब्ध गराउनु नै दिवसको वास्तविक सन्देश हो । दिवस औपचारिकतामा मात्र सिमित बन्न पुग्दा धेरै युवाहरु दक्ष हुनबाट बञ्चित हुनु परेको छ । यसर्थ युवा वर्गको क्षमता वृद्धि र विकासका लागि राज्यले प्राथमिकता दिई राष्ट्रिय युवा नीति, कार्यनीति, रणनीति, कार्यक्रम र कार्य योजना बनाई मुलुकलाई आवश्यक मार्ग निर्देशन गर्न सके मात्र युवा दक्षता दिवसले सार्थकता प्राप्त गर्न सक्दछ ।

