मुलुकमा झण्डै दुई तिहाइको सरकार गठन भएको छ । नयाँ दलका रुपमा उदायको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार छ । प्रचण्ड मत भएको यो सरकारबाट जनताले धेरै ठूलो अपेक्षा गरेका थिए । तर जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेको छैन् । अझै पनि देशका नागरिकहरुले आर्थिक अभाव, बेरोजगारी, असुरक्षित पेशा, महँगी लगायतका समस्याले सर्वसाधारण नागरिकहरु प्रताडित छन् भने कतिले त आत्महत्या गर्न समेत बाध्य भएका छन् । तर सरकारमा बस्नेहरुलाई नागरिकको पीडा प्रति कत्ति पनि चासो छैन् । यो अत्यन्त दुखको कुरा हो । सरकार जनताको अभिभावक हो । जनतालाई दुख पर्दा अभिभावको भूमिका सरकारले खेल्नुपर्ने हो, तर त्यसतर्फ एकरत्ति पनि ध्यान जान सकिरहेको छैन । बरु नचाहिने कामहरुमा सरकारले समय बेतित गरिरहेको छ । पछिल्लो समय सरकार नागरिकप्रति संवेदनशील नहुँदा दिनदहाडै आत्मदाह गर्न बाध्य भएका छन् ।
२०७९ माघ ११ गते बानेश्वरको सडकमा इलामका प्रेम आचार्यले आत्मदाह गरी मृत्यु भएको घटना आमनागरिकले विर्सिएका छैनन् । त्यो घाउ सेलाउन नपाउँदै फेरी पछिल्ला तीन दिन यता तीन जनाले आत्मदाह गरे । जसमा दुई जनाको त मृत्यु नै भयो । तीन वर्ष अघि इलामका प्रेमको आत्मदाहका पछाडी ऋण, व्यावसायिक असफलता लगायत कारण र संकेतहरू त छँदै थिए, तर सबैभन्दा ठूलो कारण राज्य नै थियो, त्यसमा विमति राख्न सकिन्न । अहिले पनि मुगुका युवा गणेश नेपालीले मोटरसाइकलमा यात्रु ओसार्दै हातमुख जोर्न संघर्ष गर्दा गर्दै ज्यान गुमाए । रोजगारी खोजे पाएनन् । बिदेसिन सकेनन् । श्रीमती र छोरी पनि पाल्नै पर्ने थियो । किस्ताबन्दीमा मोटरसाइकल किनेर स्वरोजगार बने । तर, पाइलापाइलामा राज्यका नियमको मात्रै होइन, दण्ड र जरिवानाको हन्डर ठक्कर खाइरहे । अन्ततः जीवनमा कुनै आशा देखेनन् र प्राण त्याग गरे । दुर्भाग्य कस्तो, आत्मदाहले गणेशको मृत्यु भएकै दिन सर्लाहीमा एक शिक्षित युवा विवेक मण्डलले आत्मदाह प्रयास गरे, मुख्य कारण बेरोजगारीकै थियो । र, त्यसको भोलिपल्टै शनिबार काठमाडौंको बुद्धनगरमा व्यवसायी अश्विन राउतको आत्मदाहकै कारण मृत्यु भयो । उनले पनि व्यवसायमा विभिन्न खालका विफलता झेलिरहेका थिए । बालेन्द्र शाहा सरकार सुरु भएयता खासगरी सुकुम्बासीका सही व्यवस्थापन हुन नसक्दा यसअघि पनि आत्महत्याका घट्ना दोहोरिरहेका थिए । ३ वर्षअघि प्रेमले जस्तै गणेश नेपालीले यो देशमा बाँच्न सकिन्न भन्ने वातावरण बनाउने राज्य हो । ह्विल लकभन्दा पनि ठूलो जिन्दगी र भविष्य लक भएको अनुभूति र आभास अनि अनुभूतिको भोक्ता युवाहरू भइरहनु सबैभन्दा घातक कुरा हो। गणेश आत्मदाह एउटा घटनामा सीमित हुने विषय होइन, यो त तमाम युवाहरूको मुद्दा हो । तसर्थ अब सरकार यस्ता घटनाबाट पाठ सिकेर नाागरिकप्रति संवेदनशील बन्न जरुरी छ ।

