Shittalpati
भानुभक्तको स्मरण

आदिकविका रुपमा परिचित भानुभक्त आचार्यको २१३ औं जन्मजयन्ती आज देश–विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानुभक्तको स्मरणमा हरेक वर्ष असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाइन्छ । संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आम जनतासम्म पुर्‍याउने भानुभक्तको योगदान नेपाली साहित्यको इतिहासमा अतुलनीय छ । उनले नेपाली भाषालाई जनभाषाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह  गरेका थिए । आजको डिजिटल युगमा नेपाली भाषामाथि विदेशी भाषाको प्रभाव बढ्दै गएको छ । युवापुस्तामा नेपाली भाषाप्रतिको आकर्षण घट्दै गएको चिन्ता पनि व्यक्त हुने गरेको छ । यस्तो अवस्थामा भानु जयन्ती केवल औपचारिक कार्यक्रम गरेर मनाउने दिन मात्र होइन, नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने संकल्प गर्ने अवसर पनि हो । विद्यालय, महाविद्यालय, साहित्यिक संस्था र सञ्चारमाध्यमले भानुभक्तका कृति, विचार र योगदानलाई नयाँ पुस्तासम्म प्रभावकारी रूपमा पु¥याउन विशेष पहल गर्न आवश्यक छ । नेपाली भाषामा गुणस्तरीय साहित्य सिर्जना, अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्नु समयको आवश्यकता हो । यसका साथै आधुनिक प्रविधिमा नेपाली भाषाको प्रयोग बढाएर यसको विकासलाई थप गति दिन सकिन्छ । 

हरेक वर्ष जन्मजयन्तीमा भानुभक्तको शालिकमा माल्यार्पण गर्दैमा भानु जयन्तीको महत्व बढ्न सक्दैन । संस्कृतको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर सम्पूर्ण नेपालीहरुलाई एकतावद्ध बनाउँदै भाषिक एकीकरणको सन्दर्भमा भानुभक्तले जुनरुपमा उल्लेखनीय भूमिका खेल्न पुगे, त्यसको महत्वलाई कम आँक्न सकिँदैन । नेपाली भाषाको समृद्धिको सवालमा त्यतिखेर निकै निरीह रहेको नेपाललाई भाषिक मूलधारमा बाँध्न उनको लेखन र त्यसको प्रचार–प्रसारले त्यस समयमा ठूलो हलचल नै ल्याएको थियो, जुन पछि आउने समयका लागि अत्यन्तै प्रभावशाली माध्यम पनि बन्न पुग्यो । तर अहिले भानुभक्तको योगदानलाई सबैले विर्सिएका छन् । यो अत्यन्त दुखद् कुरा हो । हरेक भानु जयन्तीका दिन सरकारले लेखक÷साहित्यकारहरुप्रति विशेष ध्यान दिइने भने पनि त्यो व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । भानुभक्त आचार्यले देखाएको भाषिक चेतना, सरल अभिव्यक्ति र समाजप्रतिको उत्तरदायित्व आज पनि उत्तिकै सान्दर्भिक छन् । त्यसैले भानु जयन्तीलाई केवल स्मरण दिवसका रूपमा सीमित नराखी नेपाली भाषा र साहित्यको समृद्धिका लागि सामूहिक प्रतिवद्धता व्यक्त गर्ने अवसरका रूपमा मनाउनुपर्छ । यही नै आदिकवि भानुभक्तप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update