विश्व जनसंख्या दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यस दिवसले जनसंख्या वृद्धि, जनस्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, प्रजनन स्वास्थ्य तथा दिगो विकासजस्ता विषयमा विश्वव्यापी सचेतना फैलाउने उद्देश्य राख्छ । जनसंख्या केवल संख्या मात्र होइन, कुनै पनि राष्ट्रको विकास, समृद्धि र भविष्य निर्धारण गर्ने महत्वपूर्ण आधार पनि हो । त्यसैले जनसंख्या व्यवस्थापनलाई विकासको अभिन्न पक्षका रूपमा हेर्न आवश्यक छ । विश्वका धेरै मुलुकमा तीव्र जनसंख्या वृद्धि चुनौती बनेको छ भने कतिपय विकसित राष्ट्रहरू घट्दो जन्मदर र वृद्ध जनसंख्याको समस्यासँग जुधिरहेका छन् । नेपाल पनि परिवर्तनशील जनसांख्यिक अवस्थाबाट गुज्रिरहेको छ । एकातिर जन्मदर घट्दै गएको छ भने अर्कोतिर युवाशक्ति रोजगारी र अवसरको खोजीमा विदेशिने क्रम बढ्दो छ । यसले उत्पादनशील जनशक्ति, ग्रामीण विकास तथा आर्थिक संरचनामा दीर्घकालीन असर पार्न सक्छ ।
जनसंख्या व्यवस्थापनका लागि केवल परिवार नियोजन कार्यक्रम पर्याप्त हुँदैन । गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी, महिला सशक्तीकरण, रोजगारी सिर्जना र युवालाई देशमै अवसर प्रदान गर्ने नीति आवश्यक हुन्छ । जब नागरिक शिक्षित, स्वस्थ र सक्षम हुन्छन्, तब जनसंख्या नै राष्ट्रको सबैभन्दा ठूलो शक्ति बन्न सक्छ । विश्व जनसंख्या दिवसले हामीलाई जनसंख्याको आकारभन्दा पनि यसको गुणस्तरमा ध्यान दिन प्रेरित गर्दछ । दिगो विकासका लक्ष्य हासिल गर्न जनसंख्या, स्रोत–साधन र वातावरणबीच सन्तुलन कायम गर्नु अपरिहार्य छ। सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, सञ्चार माध्यम र नागरिक समाज सबैले साझा जिम्मेवारीका साथ जनचेतना अभिवृद्धि गर्नुपर्छ । यस अवसरमा हामीले जनसंख्यालाई समस्या होइन, उचित नीति, योजना र लगानीमार्फत अवसरमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाउन आवश्यक छ । नेपालको सन्दर्भमा कुरा गर्दा जनसंख्याप्रतिको अहं दायित्वअन्तर्गत सुरक्षाको प्रत्याभूति, रोजगारीको सुनिश्चितता र शिक्षाको सुविधा देशमै उपलब्ध गराउन अब ढिलो गर्नं हुँदैन । गरिबी र अभावले देशमा रहेको जनसंख्याको ठूलो हिस्सा निरन्तर पलायन भैरहने नियतिलाई अब पनि रोक्न सकिएन भने आउँदा दिनमा थप क्षति बेहोर्नपर्ने अवस्था आउनेछ । तसर्थ विदेश पलायन हुने जनसंख्यालाई स्वेदशमै रोक्न सकिएन भने दिवस मनाउनुुले सार्थकता प्राप्त गर्न सक्दैन ।

