हरेक वर्ष जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाइन्छ । खेलकुदको विकास, खेलाडीहरूको संघर्ष, प्रतियोगिताको निष्पक्ष सूचना प्रवाह तथा खेल संस्कृतिको प्रवद्र्धनमा खेलकुद पत्रकारहरूले पुर्याएको योगदानको सम्मानस्वरूप यो दिवस मनाइने गरिन्छ । खेलकुद वा स्पोर्टस विटमा कार्यरत पत्रकारहरुको लागि आजको दिनलाई विशेष दिनका रुपमा हेर्ने गरिन्छ । खेलकुद पत्रकारिता खेलकुदसँग सम्बन्धित समाचार रिपोर्टिङसँग सम्बन्धित पत्रकारिताको एउटा शाखा पनि हो । सबै खेल सम्बन्धित समाचार र घटनाहरू क्रमशः खेल पत्रकारहरुले कभर गरेको इतिहास छ । अहिले आएर डिजिटल युगमा खेलकुद पत्रकारिताको गति र माग निकै बढेको छ । यो सकारात्मक पक्ष हो तर यस्ता प्रतिस्पर्धात्मक समाचारहरू कभर गर्न ठूलो सीप र विशेषज्ञता चाहिन्छ । त्यो भने छैन । दिवस खेलकुद पत्रकारहरुलाई सम्मान गर्न र उनीहरुको कडा परिश्रमको कदर गर्न पहल गर्नु हो । तर त्यो हुन सकिरहेको छैन ।
सीमित स्रोत–साधन, पर्याप्त तालिमको अभाव, खेलकुदसम्बन्धी अनुसन्धानमूलक पत्रकारिताको कमी तथा ग्रामीण तहका प्रतिभाशाली खेलाडीहरूको समाचार राष्ट्रिय सञ्चारमाध्यमसम्म पुग्न नसक्नु जस्ता समस्या समाधान हुन बाँकी छन् । डिजिटल माध्यमको विस्तारसँगै सूचना छिटो प्रवाह हुने भए पनि समाचारको सत्यता पुष्टि गर्ने जिम्मेवारी अझ बढेको छ । विश्व खेलकुद पत्रकार दिवसले पत्रकारहरूलाई व्यावसायिक नैतिकता, निष्पक्षता र सत्यनिष्ठाप्रति थप प्रतिबद्ध बन्न प्रेरित गर्छ । साथै, सरकार, खेल संघ–संस्था र सञ्चारमाध्यमहरूले खेलकुद पत्रकारको क्षमता अभिवृद्धि, सुरक्षा र व्यावसायिक विकासमा आवश्यक लगानी गर्नुपर्ने आवश्यकता पनि यस दिवसले स्मरण गराउँछ । खेलाडीको सफलताको कथा होस् वा चुनौतीको यथार्थ, त्यसलाई समाजसम्म विश्वसनीय रूपमा पुर्याउने माध्यम खेलकुद पत्रकारिता नै हो । त्यसैले खेलकुदको समुचित विकासका लागि सक्षम, स्वतन्त्र र जिम्मेवार खेलकुद पत्रकारिताको प्रवद्र्धन आजको अपरिहार्य आवश्यकता हो । विश्व खेलकुद पत्रकार दिवसले यही सन्देशलाई आत्मसात् गर्दै खेलकुद र पत्रकारिताबीचको विश्वास,पारदर्शिता र उत्तरदायित्वलाई अझ सुदृढ बनाउने अवसर प्रदान गर्दछ ।

