अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस आज विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २६ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस दिवसले लागू पदार्थको दुरुपयोग, त्यसबाट उत्पन्न सामाजिक, आर्थिक र स्वास्थ्यसम्बन्धी समस्याहरू तथा अवैध तस्करीविरुद्ध सामूहिक प्रयासको आवश्यकता स्मरण गराउँछ । आजको विश्वमा लागू पदार्थको समस्या केवल कानुनी मुद्दा मात्र नभई सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा र मानव विकाससँग प्रत्यक्ष जोडिएको चुनौती बनेको छ । नेपाल पनि यस समस्याबाट अछुतो छैन् । पछिल्ला वर्षहरूमा लागू पदार्थ प्रयोग गर्ने युवाको संख्या बढ्दै गएको चिन्ता व्यक्त हुँदै आएको छ । सीमापार तस्करी, बेरोजगारी, गलत संगत, पारिवारिक निगरानीको अभाव तथा आधुनिक सञ्चार माध्यममार्फत हुने पहुँचका कारण युवाहरू जोखिममा परिरहेका छन् । लागू पदार्थको लतले व्यक्तिको स्वास्थ्य मात्र बिगार्दैन, परिवार विखण्डन, अपराध वृद्धि, शैक्षिक ह्रास तथा आर्थिक क्षतिसमेत निम्त्याउँछ । विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु यो दिवसको उद्देश्य हो । यो दिवस हरेक वर्ष मनाउने गरिए पनि लागू पदार्थ तथा अवैध तस्करी नियन्त्रणमा चुनौती बढ्दै गएको छ । यो अत्यन्त दुखको कुुरा हो । देशका प्रमुख सहरहरु लागू पदार्थ ओसारपसार तथा विक्री वितरणको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएका छन् । भारतीय सीमा क्षेत्रबाट भित्रिएका लागूऔषध ठूला सहरमा विक्री वितरण हुने गरेको पाइएको छ ।
विश्वमा लागू पदार्थको प्रयोगबाट निस्कने परिणाम डरलाग्दो छ । यसले व्यक्ति आफै, परिवार, समाज, राजनीति, राष्ट्र र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गरेको छ । यो मादक पदार्थ भन्दा दशौं गुणा हानिकारक छ । लागू औषधको अवैध दुव्र्यसन र तस्करको समस्या अहिले विश्वकै लागि चुनौतीपूर्ण बनेको छ । यसको नियन्त्रण केवल प्रहरी प्रशासनको जिम्मेवारी होइन् । परिवार, विद्यालय, समुदाय, सञ्चारमाध्यम, नागरिक समाज तथा सरकारी निकाय सबैको सक्रिय सहभागिता आवश्यक छ । लागू पदार्थ नियन्त्रणका लागि दण्डात्मक उपाय मात्र पर्याप्त हुँदैनन् । रोकथाम, जनचेतना अभिवृद्धि, परामर्श सेवा, उपचार तथा पुनस्र्थापना कार्यक्रमलाई समान प्राथमिकता दिनुपर्छ । विशेषगरी विद्यालय र कलेज तहमा लागू पदार्थका जोखिमबारे नियमित शिक्षा र सचेतनामूलक अभियान सञ्चालन गरिनुपर्छ । यसो गर्न सकियो भने मात्र यो दिवस मनाउनुको सार्थकता रहन्छ ।
