नेपालसहित विश्वभर आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन लागिएको हो । एकल महिलाको पहिचान, अधिकार, सम्मान र सशक्तीकरणको विषयलाई उजागर गर्ने महत्वपूर्ण अवसर हो । समाजमा अझै पनि विवाहलाई महिलाको जीवनको अनिवार्य लक्ष्यका रूपमा हेर्ने प्रवृत्ति विद्यमान छ । यस्तो अवस्थामा अविवाहित, विधवा, सम्बन्धविच्छेद भएका वा एक्लै जीवनयापन गरिरहेका महिलाहरूले विभिन्न सामाजिक, आर्थिक र मनोवैज्ञानिक चुनौतीहरू सामना गर्नुपर्छ । यही यथार्थलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय एकल महिला
दिवसले विश्व समुदायलाई संवेदनशील र जिम्मेवार बन्न प्रेरित गर्छ ।
नेपाल लगायत धेरै देशहरूमा एकल महिलाहरूलाई अझै पनि विभेदपूर्ण दृष्टिकोणले हेरिने गरिन्छ समाजले विदुर र विधुवा भनेर दिएको नामकै पछाडी पनि कयौं उपनामहरु जोडिएका हुन्छन् । जब कुनै महिलाले आफ्नो एकल अवस्थामा समाजमा जिउनका लागि प्रयास गरेकी हुन्छिन् उनका पछाडी धेरै कुराहरु उब्जने अनि उनलाई धेरैले औंला उठाउने काम गरेका हुन्छन् । विभिन्न लाञ्छना लगाउँदै जसरी महिलामाथि अपमान गरिन्छ त्यो सह्य हुँदैन । पितृसत्तात्मक सोचका कारण अझै पनि महिलामाथि विभिन्न प्रकारका हिंसाहरु हुने गरेका छन् । यो अत्यन्त दुखको कुरा हो । कुनै समय श्रीमानसँग बसेर एक्लिएका (विशेष गरी सम्बन्धविच्छेद भएका र विधवा) एकल महिलाहरुको पीडा सम्बोधन नै हुन नसक्नु दुर्भाग्य हो । पति बिछोडिनुको पीडा एकातिर हुन्छ, त्यसमाथि परिवार र समाजबाट सान्त्वना, सहयोग, मायाको बदला दुव्र्यवहार खेप्नुपर्ने वातावरणले एकल महिलाहरूको जीवन नारकीय बन्न पुग्नु राम्रो होइन । अझ उनीहरु परिवारबाटै अपमानित हुनु विडम्वनाको कुरा हो । यद्यपि एकल महिलाका पक्षमा केही कामै नभएको चाहिँ होइन । सरकारी सेवामा रहेका पतिको मृत्यु भएमा निजको निवृत्तिभरण, बिमा तथा अन्य क्षतिपूर्ति रकम पतिका नाममा रहेको सम्पत्ति पाउने, पतिबाट सम्बन्धविच्छेद हुनुपर्ने अवस्था आएमा पनि महिलाले अंश लिई अलग हुन पाउने र स्वेच्छामा विवाह गर्न पाउने अधिकार कानुनले दिएको छ । एकल महिलालाई सामाजिक सुरक्षा भत्तामा समावेश पनि गरिएको छ । तथापि, कानुनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । एकल महिलाप्रति समाजमा विद्यमान कुरीतिको अन्त्य, विभेदपूर्ण व्यवहार, संस्कार जरैदेखि उन्मूलन हुनुपर्छ । धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक, राजनीतिक दृष्टिले कोही एकल महिला पीडित बनिरहेकै छन् भने त्यस्तो अवस्थाको अन्त्यका लागि सरकार कठोर बन्नुपर्छ । यो दिवस केवल एकल महिलाको मुद्दामात्र होइन, यो समानता, मानव अधिकार र सामाजिक न्यायको अभियान पनि हो । एकल महिलालाई सम्मानित, सुरक्षित र अवसरयुक्त वातावरण प्रदान गर्न सकिएमा मात्र समावेशी र प्रगतिशील समाज निर्माण सम्भव हुनेछ । त्यसैले यो दिवसले सबैलाई विभेदरहित सोच, सम्मानजनक व्यवहार र समान अवसरको संस्कृतिलाई बलियो बनाउन प्रेरित गर्नुपर्छ ।

