Shittalpati
स्थानीय सरकार बजार अनुगमनमा उदासीन

लकडाउनको समयमा सर्वसाधारण नागरिक महंगीको मारमा परेका छन् । तर, स्थानीय तहमा जनप्रतिनिधिले काम गर्न थालेको तीन बर्ष पुग्न लाग्दा समेत बजार अनुगमनमा स्थानीय तहको ध्यान जान सकेको छैन ।

रामचन्द्र रायमाझी
पाल्पा । 

पाल्पाको तानसेन नगरपालिका–१ मा घर निर्माणको क्षेत्रमा काम गर्दै आएकी सुन्तली नेपाली लकडाउनका कारण घरमै छिन् । दैनिक मजदुरी गरेर ५ जनाको परिवार पाल्दै आएकी उनी ३ महिनादेखि कामविहिन भएकी छन् । काम नभएपछि दैनिक छाक टार्न समेत सुन्तलीलाई धौ–धौ परेको छ । त्यसमाथि बजारमा उपभोग्य वस्तुमा भएको अचाक्ली मूल्य वृद्धिले भान्सामा चुलो बाल्न समेत उनलाई मुस्किल परेको छ । सुन्तली भन्छिन्, ‘काम पाएकी छैन, त्यसमाथि लकडाउनको मौका छोपेर व्यापारीले झन् मूल्य बढाएका छन्, अलि-अलि कमाएको पैसाले जसोतसो ३ महिना त धाने अब कसरी टार्ने होला ?’

तानसेन बसपार्कमा भारी बोकेरै सात जनाको परिवार पाल्दै आएका बगनासकाली गाउँपालिका घोरबन्दाका ओमे कुमालको लकडाउनसँगै काममा पनि ‘लक’ लागेको छ । कमाउने बाटो नै बन्द भएपछि अहिले उनी समस्यामा छन् । बजारमा चामल, नुन, तेलको भाउ बढेको छ, आम्दानी नभएपछि सात जनाको परिवार पाल्न सकस भएको उनको दुखेसो छ । उनी भन्छन्, ‘महंगीले बजारमा सामान किनिसक्नु छैन, हामी जस्ता काम गरेर खाने वर्गलाई महंगी र लकडाउनले समस्यामा पारेको छ ।’ घरमा रासन सकिएको बताउँदै कुमालले भने, ‘महंगीले बजारमा गएर किन्न सक्ने अवस्था छैन, दुई दिनदेखि भोकै बसेको छु ।’

गुल्मीको रेसुङ्गानगरपालिकाको उदिङ ढुङ्गामा सिलाई कटाई गर्दै आएकी लक्ष्मी केसीको लकडाउनकै कारण व्यवसाय ठप्प छ । सिलाई कटाईबाटै जिविकोपार्जन गर्दै आएकी उनलाई व्यवसाय सञ्चालन हुन नसक्दाको पिडा एकातिर छदैछ भने अर्को तर्फ उपभोग्य वस्तुमा भएको वृद्धिले थप चिन्तित बनाएको छ । उनलाई लकडाउन हुनुभन्दा पहिले ५ हजार छुट्याए महिनाभरीलाई खाना पुग्थ्यो, अहिले १० दिनलाई पनि पुग्न मस्किल परेको छ । आम्दानी नभएको बेला लकडाउनको बहानामा दाल, चामल, तेल, आलु, प्याज जस्ता दैनिक उपभोग्य वस्तुको मूल्यमा १० देखि ३५ रुपैयाँसम्म वृद्धि भएको केसी बताउँछिन् ।

यी त केही उदाहरण मात्रै हुन् । लकडाउनको समयमा सर्वसाधारण नागरिक महंगीको मारमा परेका छन् । तर, स्थानीय तहमा जनप्रतिनिधिले काम गर्न थालेको तीन बर्ष पुग्न लाग्दा समेत बजार अनुगमनमा स्थानीय तहको ध्यान जान सकेको छैन । उपभोक्ताको अधिकारलाई प्रभावकारी बनाउन हरेक स्थानीय तहले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम उपभोक्ता संरक्षण कार्यविधि र बजार अनुगमन निर्देशिका तयार पारी उपभोक्ताको हितमा कार्य गर्नुपर्ने हुन्छ । तर, त्यसतर्फ स्थानीय तहको ध्यान जान सकेको छ्रैन ।

संविधानको अनुसूचि ७ अनुसार संघ र प्रदेशको साझा अधिकार सूचीमा आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमन उल्लेख छ । संविधानको अनुसूचि ९ ले स्थानीय बजार व्यवस्थापन स्थानीय तहको क्षेत्राधिकार भनी किटान गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पनि बजार अनुगमन स्थानीय तहले गर्ने भनी उल्लेख गरिएको छ । संघीय संरचनाअनुसार बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको भएपनि स्थानीय तह बजार अनुगमनप्रति उदासीन देखिएका छन् । लकडाउनको फाइदा उठाउँदै दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि हुँदा समेत स्थानीय सरकार बेखवर छन् । स्थानीय तहबाट बजार अनुगमन नहुँदा व्यापारीहरुले उपभोग्य वस्तुमा मूल्य वुद्धि गरेका छन् । (हेर्नुस् तालिका) । 

खाद्यान्नको भाउ बढ्नुको कारण खुद्रा व्यापारी थोक आयातकर्तालाई देखाउने गरेका छन् भने थोक आयातकर्ताले उद्योगबाट आउँदै भाउ बढेको बताएका छन् । आफूहरूले सामान ढुवानी गर्दा भाडा धेरै तिर्नुपरेको भन्दै मूल्य बढाएर बेचेको तानसेनका स्थानीय व्यापारी विष्णु गाहा बताउँछन् । हरेक ब्रान्डको चामलमा प्रतिबोरा १ सय रुपैयाँसम्म बढाएर बेच्ने गरेको खुद्रा व्यापारी गाहाले बताए । सनफलावर र भटमासको तेलसमेत प्रतिलिटर २० रुपैयाँसम्म बढाएर व्यपारीले बेच्ने गरेका छन् । यी बाहेकका अन्य उपभोग्य वस्तुमा पनि यसै अनुपातमा मूल्य बढेको छ । थोक विक्रेताले महंगोमा सामान बेच्दा आफुहरुले महंगोमा खरिद गरी बेच्नुपरेको अर्को खुद्रा व्यापारी मनोज पन्थी बताउँछन् । थोक विक्रेताहरूले सरकारसमक्ष खाद्यान्नको स्टक धेरै भएको र मूल्य नबढेको जानकारी गराएपनि खुद्रा व्यापारीहरूसँग ढुवानी मूल्य र ढुवानी गर्ने कामदारहरूलाई बढी ज्याला तिर्नुपरेको भन्दै बढी मूल्य असुलेको र नक्कली बिल दिने गरेको खुद्रा व्यापारीहरूको गुनासो छ ।

खाद्यान्न मौज्दात पर्याप्त भएकाले मूल्य नबढेको सरकारले दावी गरे पनि बजारमा भने उपभोग्य वस्तुको मूल्य अकाशिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक दीपकराज पोखरेलले खाद्यान्न अभाव नभएको र बजार भाउ पनि नबढेको दाबी गर्छन् । उनले विभिन्न सञ्चार माध्यमहरुमा प्रतिक्रिया दिदै उपभोक्ताले सस्तो मूल्यमा आवश्यक सामग्री खोज्नु स्वभाविक भएपनि खाद्यान्न्नको अभाव नरहेको बताएका हुन् । अहिले ढुवानीको खर्च बढेकाले दाल, चामल र तेलको मूल्य लकडाउन पहिलेभन्दा अहिले केही मात्रमा बढेको हुनसक्ने उनले बताए । तर, व्यापारीहरुले भने लकडाउनको फाइदा उठाउदै दैनिक उपभोग्य वस्तुमा ढाडै सेक्ने गरी मूल्य वृद्वि गरेका छन् ।

गुल्मीस्थित तम्घासका अधिकांश पसलहरुमा मुल्यसूचि छैनन् जसका कारण व्यापारीहरुले उपभोक्तै पिच्छे फरक मुल्य लिने गरेका छन् । सदरमुकाम मात्र होइन जिल्लाका अन्य स्थानीय तहहरुमा रहेको बजारको अवस्था पनि उस्तै छ । बजारमा मूल्य सूची राखिएको छैन । दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली वृद्धि भएको छ । तर, यहाँका स्थानीय तहले बजार अनुगमन गरेका छैनन् । यता रुरु गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समितिका संयोजक लक्ष्मीदेवी पन्थले भने स्थानीय तहमा स–साना पसलहरु भएकाले अनुगमन गर्न आवश्यक नदेखिएको बताइन् । बजार अनुगमन नै आवश्यक नभएकाले निर्देशिका र कार्यविधि समेत नबनाएको उनको दावी छ ।

बजारमा स्थानीय सरकारको उपस्थिति नहुँदा दैनिक उपभोग्य वस्तुको भाउ छोइनसक्नु भएको उपभोक्ता अधिकारकर्मी विष्णु बलाल बताउँछन् । स्थानीय तहले कोरोना रोक्ने अभियानसँगै बजारको मूल्य नियन्त्रणमा ध्यान नदिने हो भने उपभोक्ता झन् थलिने अधिकारकर्मी बलालको भनाई छ । उपभोक्ताको भान्सामा असर गर्ने गरी खाद्यवस्तु महँगो नगर्न आग्रह गरेपनि केही व्यापारीले नमानेकाले असर देखिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीको भनाइ छ । संघले आफ्नातर्फबाट गर्ने सहयोग गरिरहेको भन्दै उनले बजारमा बढी असर देखियो भने अनुगमन वा नियमन गर्ने निकायले त्यस्ता व्यापारीलाई कानुन अनुसार कारवाही गर्नुपर्ने बताए । स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्षको नेतृत्वमा नियमित रुपमा बजार अनुगमन गर्ने कानूनी प्रावधान भएपनि पाल्पा र गुल्मीका स्थानीय तहहरुले त्यसलाई बेवास्ता गरेका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा केही स्थानीय तहहरुले बजार अनुगमनका लागि निर्देशिका र संरचना समेत बनाएका छैनन् भने बनाएकाले पनि बजार अनुगमन गरेका छैनन् । पाल्पाका तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र पूर्वखोला गाउँपालिकाले बजार अनुगमन कार्यविधी तथा निर्देशिका नै बनाएका छैनन् जसले गर्दा वजार अनुगमन त टाढाको विषय भएको छ । रैनादेवी छहराले भने वडा तहबाट अनुगमन भइरहेको दावी गरेको छ । रम्भा गाउँपालिकाले निर्देशिका बनाएपनि बजार अनुगमन गरेको छैन । माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका र रिब्दीकोट गाउँपालिकाले भने लकडाउन अघि छिटपुट रुपमा बजार अनुगमन गरे पनि लकडाउनपछि बजार अनुगमन नै गरेका छैनन् । तानसेन नगरपालिका र रामपुर नगरपालिकाले भने लकडाउनका बेला १/१ पटक बजार अनुगमन गरेको दावी गरेका छन् ।

बजार अनुगमनका क्रममा अधिकांस पसलहरुले मूल्य सूची नराखेको, म्याद नाघेका वस्तुहरु विक्री गर्ने गरेको तानसेन नगरपालिकाका उपमेयर लक्ष्मीदेवी पाठकले बताईन् । उनले भनिन्, ‘मूल्य सूची र म्याद सकिएका वस्तु विक्री गर्ने व्यापारीलाई पहिलो चरणमा सम्झाई बुझाई छोडिएको छ, पटक–पटक यस्तै गतिविधि दोहोरिए कानुनी कारवाही गरिने छ ।’

गुल्मीको रुरु गाउँपालिका र कालिगण्डकी गाउँपालिकाले पनि बजार अनुगमन निर्देशिका बनाएका छैनन् । कालीगण्डकी गाउँपालिकाले बनाएपनि कार्यान्वयनमा नल्याएको दावी गरेको छ । मुसिकोट नगरपालिका, सत्यवती गाउँपालिका र चन्द्रकोट गाउँपालिकाले लकडाउनअघि न्युन मात्रामा अनुगमन गरेपनि लकडाउनका बेला एउटा पनि अनुगमन गरेका छैनन् । लकडाउनको वेलारेसुङ्गा नगरपालिकाले २ पटक,कालीगण्डकी गाउँपालिकाले १ पटक, छत्रकोट गाउँपालिकाले १ पटक, गुल्मी दरबार गाउँपालिकाले १ पटक, इश्मा गाउँपालिकाले ३ पटक, धुर्कोट गाउँपालिकाले ४ पटक, मदाने गाउँपालिकाले ५ पटक, मालिका गाउँपालिकाले १ पटक अनुगमन गरेको दावी गरेका छन् । अनुगमनका क्रममा अधिकांस व्यापारीहरुले उपभोग्य वस्तुको मूल्यसूची टाँस नगरी विक्री गर्ने गरेको भेटिएकाले उनीहरुलाई आगामी दिनमा यस्तो नगर्न सम्झाई बुझाई छोडिएको इस्मा गाउँपालिकाका उपप्रमुख विमला खत्रीले बताईन् ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update