पाल्पा, दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन् । जिल्ला सुरक्षा समिति पाल्पाले सुरक्षा संवेदनशीलताको आधारमा यहाँका २९ मतदानस्थललाई अति संवेदनशिल सूचिमा राखेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सुरक्षा समितिले मतदान केन्द्रको वर्गीकरण गरेको छ । भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी, सुरक्षा केन्द्रसम्मको पहुँचलाई विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले बताइन् । उनका अनुसार अति संवेदनशिल रहेका २९ मतदानस्थल मध्ये क्षेत्र न.ं १ मा २० वटा र क्षेत्र नं. २ मा ९ वटा मतदानस्थल रहेका छन् । पाल्पामा एक सय १८ मतदानस्थल तोकिएको छ भने दुई सय ५१ मतदान केन्द्र रहेका छन् । जहाँ क्षेत्र नम्बर १ मा ५२ मतदानस्थल रहेका छन् भने एक १७ मतदान केन्द्र तोकिएको छ । यस्तै क्षेत्र नं. २ मा ६६ मतदानस्थल रहेका छन् भने १३४ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नं. १ मा २४ वटा संवेदनशील र ८ वटा सामान्य रहेका छन् ।
क्षेत्र नं. २ मा संवेदनशील २६ र सामान्य ३१ वटा रहेका प्रजिअ कुंवरले बताइन् । जिल्लाको निस्दी, माथागढी, रैनादेवीछहरा,तिनाउ, रामपुरलगायतका स्थानमा रहेका अधिकांश मतदान केन्द्र संवेदनशील रहेका छन् । नगरभित्रकै पनि कतिपय स्थानमा रहेका मतदान केन्द्र सुरक्षाका दृष्टिले संवेदनशिल रहेको सुरक्षा समितिले जनाएको छ ।पाल्पामा २ लाख ७ हजार ४ सय ३६ कुल मतदाता मध्ये क्षेत्र नं. १ मा ९८ हजार ३ सय ८३ र क्षेत्र नं. २ मा १ लाख ९ हजार ५३ मतदाता रहेका छन् । कुल मतदातामा ३ हजार ६ सय ५० महिला पुरुष भन्दा बढी रहेका छन् । २०७९ को निर्वाचनमा भन्दा ६ हजार १ सय १० जना मतदाता थपिएका छन् । जिल्लामा भयरहित र स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई चुस्तरूपमा परिचालन गरिने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र पन्जियार थारूले बताए । विशेष सुरक्षा योजना बनाएर अगाडि बढेको र निर्वाचन मिति घोषणा भएलगत्तै सुरक्षा व्यवस्था मिलाइएको उनको भनाई छ ।


