Shittalpati
निस्दी  जिप दुर्घटना : थप एकको मृत्यु, मृतकको सङ्ख्या चार पुग्यो

पाल्पा, पाल्पाको निस्दी गाउँपालिका–४, चिउरीवासमा भएको जिप दुर्घटनामा थप एक जनाको  मृत्यु भएको छ । पूरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो ।

नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारका क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरी जानकारी दिए । थप एकको मृत्युसँगै शनिबारसम्म मृतकको सङ्ख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको चौधरीले बताए । उनले भने  “ शुक्रबार दुर्घटनामा परी गम्भीर घाइते भइ उपचारका लागि चितवन पठाइएका सुन्दर विकको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको हो ।” मृतक चारै जनाको सनाखत भएको छ ।  घटनास्थलमै मृत्यु हुनेहरुमा निस्दी गाउँपालिका–४, हुवासकी ३६ वर्षीया हेम कुमारी सारु, निसदी –४ ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा र मध्यविन्दु नगरपालिका–१३ पूर्वी नवलपरासीकी ३१ वर्षीय बुद्धिमाया विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुन्दर र बुद्धीमाया श्रीमान् श्रीमती हुन् । 

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार विहान दुर्घटनामा परेको हो । चिउरीबासमा उकालोमा यात्रु ओराल्दै गर्दा रोकिराखेको फोर्स जिप आफै व्याक भएर दुर्घटना भएको जनाइएको छ ।  जिप सडकबाट १२ सय मिटर तर खसेको थियो । दुर्घटनामा सात जना घाइते भएका छन् । घाइते हुनेहरुमा निस्दी– ४ लामेदमारका ९ वर्षीय नेवराज खाम्चा, सोही ठाउँका ५ वर्षीय सालिन खाम्चा,७३ वर्षीय नर बहादुर सुनारी,७२ वर्षीया भुमीसरा सुनारी मृतक सुन्दका छोरा १० वर्षीय  लविस सुनार, छोरी ५ वर्षीय प्रिन्सा सुनार र २८ वर्षीया मिना कुमारी सुनारी रहेका छन् । घाइते मध्ये ४ जनाको  मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा उपचार भइरहेको छ ।  बाँकी तीन जना मध्ये लविस र प्रिन्साको उपचारपछि डिस्चार्ज भएको छ भने मिनाको  चितवन मेडिकल कलेजमा  उपचार भइरहेको प्रहरी उपरीक्षक  चौधरीले  बताए । सामान्य घाईते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ । 
 
 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update