
गुल्मी, यहाँको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडकखण्डअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेकाले एक महिना बन्द हुने भएको हो ।
यहाँ रेसुङ्गा नगरपालिका–१० को मैदानदेखि वडा नं ११ को जन प्राविसम्मको सडकमा शुक्रबारदेखि सडक स्तरोन्नति सुरु गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरी यही असोज २४ गतेदेखि कात्तिक २३ गतेसम्मका एक महिना सडक पूर्ण रूपमा बन्द हुने जनाएको हाचे । कार्यालयले उक्त समयसम्म वैकल्पिक सडकका रूपमा राङबास–फेदीसम्मका सवारीसाधनका लागि–मैदान–हर्राबोट–सपौदी हुँदै राङबास फेदी सडक र रिडी–पाल्पा एवं अर्घाखाँचीतर्फ सञ्चालन हुने सवारीसाधनका लागि घुम्ती–चारपाला–खज्र्याङ तथा तम्घास–बलेटक्सार–रिडीको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । कार्यालयका प्रमुख दीपक खड्काका अनुसार निर्माणका क्रममा यात्रु र चालकको सुरक्षालाई ध्यानमा राख्दै सडक अस्थायी रूपमा बन्द गरिएको बताए । उनले निर्धारित समयावधिभित्र काम सम्पन्न गरी सडक शीघ्र सञ्चालनमा ल्याइने बताए ।