Shittalpati
बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु (नवलपरासी), बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिकै पहिरो खसे पछि दुईतर्फी सडक अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार लगातारको वर्षाका कारण सोमवार बिहानदेखि एकतर्फी भएको राजमार्ग दिउँसो १ः०० बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो । एकतर्फी अवरुद्ध भएको सडक खोल्ने प्रयास भइरहेको अवस्थामा माथिबाट पहिरो झरेपछि थप समस्या भएको प्रहरी उपरीक्षक ढकालले बताए । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको छ । सडक अवरुद्ध भए पछि अहिले सयौँ यात्रु र  चालक बीच बाटोमै अलपत्र परेका छन् । बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update