
पाल्पा, देशभर १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे १ मा सरकारले सार्वजनिक बिदा दिएको थियो । दिवस श्रमिक आन्दोलनबाट प्राप्त उपलब्धिको समीक्षा गर्ने, श्रमिकले भोगिरहेका समस्या उजागर गर्ने, थप अधिकारका लागि अगाडि बढ्ने, श्रमिक वर्गका बीचमा शुभकामना आदान –प्रदान गर्ने दिन हो ।
त्यसैले पनि श्रमका क्षेत्रमा काम गर्ने संघ संगठनहरुले विहीबार बिहानैदेखि र्याली, गोष्ठी, नाचगानसहितका विभिन्न जातजातिका झाँकी देखाउने लगायतका कार्यक्रम गरी उत्सवजस्तै गरी मनाए तर वास्तविकमध्ये कतिपय श्रमिक, दिनभर काम गरेर दुई छाक टार्ने वर्गले दिवसबारे पत्तो पाएनन् । जिल्लाको बगनासकाली गाउँपालिका घोरबन्दका भीमबहादुर कुमाल तानसेनको भगवटीटोलमा निर्माणधिन एक घरमा धमाधम इटा लगाइ रहेका थिए । उनी आफूलाई सार्वजनिक बिदा वा अन्तर्राष्ट्रिय श्रमिक दिवसले खान लाउन नदिने ठानेर सदाझैँ नियमित काममा खटिएका हुन् । सरकारी बिदाको दिन भए पनि घरमा दुईछाक टार्नकै लागि पनि आफूले नियमित काम गर्नु पर्ने उनले बताए ।
एकदिन काममा नजाँदा ठेकेदारले पैसा दिनेबेलामा लफडा नै गर्ने हुँदा कुन बिदा कुन दिवस आफूलाई केही थाहा नहुने र यो दिवस र बिदाले पेट नभरीने उनको भनाई छ । उनीसँगै बालुवा घोल्ने काम गर्दै आएकी घोरबन्दकी कमला कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उनको बाध्यता हो । झिसमिसेमा उठेर घरको काम र त्यसपछि ज्यालादारीमा निस्कनु कुमालको दैनिकी नै हो । बिहान र दिउँसोको चर्को घाममा इँटा, ढु·ा, बालुवा र माटोको काममा नै उनको समय बित्ने गर्छ । दैनिक ज्यालादारीमा काम गर्ने र त्यही ज्यालाले बिहानबेलुकाको गर्जो टार्दै आएको उनले बताइन् ।
कुमालले भनिन्, “श्रमिक दिवस हामीजस्ता दुःखीका लागि हैन, यो त राम्रो कमाउने र रमाउनेका लागि मात्र हो ।” तानसेनमा घर भारी बोकेरै जिवीकोपार्जन गर्दै आएका शंकर विकलाई श्रमिक दिवसबारे जानकारी नै छैन । दैनिक मजदुरीमा व्यस्त रहने उनलाई विहीबार टण्टालापुर घाँम लागे पनि काम भइरÞयो, फुर्सद भएन । “काम पाइएका बेला नगरेर के गर्नु ? ७ जनाको परिवार एक्लैले धान्नुपर्छ, श्रमिक दिवस भनेको के हो ?” प्रतिप्रश्न गर्दै विकले भने, “हामीलाई त काम नै ठूलो छ, काम गरिएन भने चुलो बल्दैन, अहिलेसम्म श्रमिक दिवसका दिन ठेकेदार, साहुले बिदा दिएको पनि पत्तो छैन, आफ्नै काममा दैनिकी बितिरहेको छु ।” उनीहरु जस्तै जिल्लामा सयौं मजदुरहरु दिवसका दिन काम गरिरहेका अवस्थामा भेटिन्थे । देशैभर विभिन्न कार्यक्रम गरी दिवस मनाइरहँदा जिल्लाका अधिकांश मजदूरी गर्नेहरुलाई भने यसले छोएन । श्रमिकहरु सधैँजस्तै काम गरिरहेका छन् । एक दिन काम नगर्दा उनीहरूलाई हातमुख जोर्न मुस्किल पर्छ ।