Shittalpati
सिद्धबाबा सुरुङमार्ग : ‘ब्रेक थ्रु’ अन्तिम चरणमा

पाल्पा, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग छिचोल्ने (ब्रेक थ्रु) काम अन्तिम चरणमा पुगेको छ ।  एक हजार एक सय २६ मिटरको सुरुङमध्ये एक हजार ८९ मिटर खनेर सकिएको छ । अबका केही दिनभित्रै सुरुङ छिचोल्ने तयारी गरिएको छ । औपचारिक कार्यक्रम गरी सुरुङमार्ग छिचोलिएको (ब्रेक थ्रु) घोषणा गर्ने आयोजनाको तयारी छ ।

‘ब्रेक थ्रु’का लागि १ दशमलव ५ मिटर बाँकी राखिएको छ । दक्षिणतर्फ ६ सय ८ र उत्तरतर्फ ४ सय ७९ दशमलव ५ मिटर सुरुङ खनिएको छ । ब्रेक थ्रु गर्ने दिनमा साढे एक मिटर भागलाई ब्लास्ट गरिने आयोजनाले जनाएको छ । यसअघि तीन वटै बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ । यही माघ ११ ब्रेक थ्रु गर्ने औपचारिक कार्यक्रम तय भएको छ । सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘ब्रेक थ्रु’ गरिने आयोजनाले जनाएको छ । यसअघि माघ ८ गतेलाई तय भएको सुरुङमार्ग ‘ब्रेक थ्रु’ कार्यक्रम ११ गतेलाई सारिएको हो । ‘ब्रेक थ्रु’ लाई सेरेमोनीका रूपमा मनाउने तयारी भएको आयोजनाकी इन्जिनीयर सविता ज्ञवालीले बताईन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको अति दुर्घटनास्थल सिद्धबाबामा सुरुङमार्ग आयोजना अगाडि बढाइएको हो । कुल तीन वटा वाइपास रहेकोमा तीनवटैको ‘ब्रेक थ्रु’ भइसकेको छ । भदौ २६ गते तेस्रो, असोज ४ गते पहिलो र पौष ७ गते दोस्रो बाइपासको ‘ब्रेक थ्रु’ भएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ । १ सय ५१ मिटर लम्बाइ रहेको पहिलो, १ सय ३० मिटर लम्बाइ भएको तेस्रो र १ सय ६१ मिटर लम्बाइ रहेको दोस्रो बाइपासको सुरुङ छिचोलिएर सकिएको हो ।

मुख्य टनेल ब्रेक थ्रु गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा लाइनिङ गर्ने कामलाई तीव्रता दिइने छ । गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलानको काम अघि बढेको छ । त्यसपछि विद्युतीकरण, भेन्टिलेसन, नालीलगायतका कामलाई गति दिइने इन्जिनीयर ज्ञवालीले एनजेडीसँगको कुराकानीमा जानकारी दिइन ।

मृत्यु मार्गको रूपमा परिचित पाल्पा– बुटवल सडक खण्डको अति जोखिम सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको काम ‘ब्रेक थ्रु’ को चरणमा प्रवेश गरेसँगै यस सडक खण्ड भएर यात्रा गर्ने हजारौं यात्रु उत्साहित भएका छन् । यद्यपी  माघ ११ गते सुरुङमार्ग ‘ब्रेक थ्रु’ भए पनि गाडी सञ्चालन हुनको लागि अझै एक वर्ष लाग्ने छ । बुटवलदेखि पाल्पा, गुल्मी, स्याङजा, बाग्लुङ र पोखरासम्म जाने सवारीका साधनको मूख्य गन्तब्य यही सिद्धवावाको जोखिमयुक्त सडक नै भैरहेको अवस्थामा बढ्दो मानवीय क्षति कम गर्न सुरुङ मार्गले ठूलो भूमिका खेल्ने  धेरैले विश्वास लिएका छन् । दैनिक हजारौं सवारीका साधन गुड्ने यो क्षेत्रमा अहिलेसम्म सयौं मानिसले ज्यान गुमाएका छन् । हिउँदमा समेत पहिरो खसेर कैयौ यात्रुले ज्यान गुमाउनु परेको इतिहास साक्षी छ । बर्षामा यो सडक क्षेत्र त्यसैपनि अति जोखिममा छ । यस खण्डको चार किमि पहिरो आउने क्षेत्रभित्र पर्छ । पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको हो । यसको समयावधि ०८३ फागुनसम्म छ । गत साउन पहिलो साता झरेको पहिरोले सुरुङमार्गको ‘टनेल पोर्टल’ नै पुरिएपछि तीनमहिना बढी समय रोकिएको थियो । सुरुङमार्ग निमार्णका लागि पटक–पटक सडक बन्द गरेर काम हुँदै आएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update