Shittalpati
पाल्पा कारागारका ३६ कैदीबन्दीले गरे रक्तदान

पाल्पा, विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि कारागार चलान भएका कैदीबन्दीहरुलाई नेपाली समाजमा नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएकै कारण उनीहरुलाई नराम्रो दृष्टिकोणले हेर्ने गरिएको हो ।  

सबै कैदीबन्दीहरु कारागार पुगेपछि पनि त्यस्तै स्वभाव र व्यवहार देखाउन्छन् भन्ने छैन तर केही कैदीबन्दीहरु भने कैद जीवन विताई रहँदा पनि सामाजिक सेवाको भावनाले ओतप्रोत भइरहेका हुन्छन् । त्यस्तै मध्येका हुन पाल्पा कारागारमा रहेका  कैदीबन्दीहरु । यहाँका कैदीबन्दीले रक्तदान नै जीवनदान हो भन्दै स्वतस्फूर्त रूपमा रक्तदान गरेका छन् । शुक्रबार विश्व रक्तदाता दिवसको अवसरमा यहाँका  ३६ जना कैदीबन्दीले रक्तदान गरे ।

युवाहरुको नेतृत्व, व्यक्तित्व विकाससँगै सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको पाल्पा जेसिजले रक्तदाता दिवसको अवसरमा कारागारमा आयोजना गरेको रक्तदान कार्यक्रममा कैदीबन्दीहरु स्वतस्फूर्त रुपमा आई रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रमको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ललेले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ काफ्लेले कारागारका बन्दीहरुलाई रक्तदान अभियानमा जोडेकोमा पाल्पा जेसिजप्रति आभार व्यक्त गरे । उनले जिल्लामा हुने रगत अभावलाई केही हदसम्म भए पनि पूर्ति गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रजिअ काफ्लेले भने ‘युवाहरुको नेतृत्व र व्यक्तित्वसँगसँगै जेसिजले सामाजिक कार्यमा आफुलाई अग्रसर बनाएको छ । यो अत्यन्त राम्रो कार्य हो । आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यमा हाम्रो आवश्यक सहयोग रहने  छ ।’ जेसिजका अध्यक्ष जेसी अर्जुन कार्कीले कैदीबन्दीको उत्साह बढाउन तथा रक्तदान जीवनदान हो भन्ने सन्देश दिन कारागारमै रक्तदान कार्यक्रम गरिएको बताए । उनले भने ‘ विभिन्न मुद्दामा जेल परे पनि कैदीबन्दीहरु पनि सामाजिक प्राणी नै हुन् । उनीहरुलाई पनि समाजसँग जोड्न सामाजिक कार्य सहभागी गराउनुपर्छ भनेर नै बैन्दीलाई रक्तदान कार्यक्रममा सहभागी गराएका हौं ।’ यस्ता कार्यक्रमले भित्र रहेका मानिस र बाहिर रहेकाहरुबिचको दुरीलाई घटाउन सहयोग पुग्ने अध्यक्ष कार्कीले विश्वास व्यक्त गरे । कारागारका जेलर भगवानभक्त अर्यालले सुरुमा बैन्दीहरु लजाए पनि पछि रुस्वतस्फूर्त रुपमा रक्तदान गर्न तयार भएको बताए ।

कार्यक्रममा युनाईटेड मिसन अस्पतालका निर्देशक डा.रचेल कारख, जेसिज पाल्पाका वर्ष २०२४ का सल्लाहकार संयोजक सुवर्णमुनी शाक्य लगायतले बन्दीहरुले रक्तदान गरेर प्रशंसनिय कार्य गरेको बताए । रक्तदान गरेका ३६ जना बन्दी मध्ये २१ जना २०–३० र १५ जना ३०–४० वर्ष उमेर समूहका रहेका छन् । जेसिजले पाल्पा कारागार, नेपाल रेडक्रस सोसाइटीको सह आयोजना, कामना सेवा विकास बैंक, बागेश्वरी असल शासन क्लव (बास) पाल्पाको सहयोग, युनाइटेड मिसन अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक जेसी सतिशराज शाक्यले बताए । रगत संकलनका लागि मिसन अस्पतालका ल्याव इन्चार्ज सुरेन्द्र पौड्यालको समन्वयमा प्राविधिकहरु जितबहादुर मिधुन, मधु कार्की, सञ्जु राना, रेनुका मल्ल, भुवन कुमाल खटिएका थिए । यस्तै सोही अवसरमा तानसेन नगरपालिका–४ वडा कार्यालयको सहयोगमा ६ थान लुडो र ५ थान चेस समेत बन्दीहरुका लागि जेसिजले वितरण गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update