पाल्पा, तानसेनको टुँडिखेलमा महिनावारी मेला भएको छ । महिनावारी दिवसको पूर्व सन्ध्यामा रोट्रयाक्ट क्लव अफ पाल्पा लुम्बिनीको मुख्य आयोजना, रोटरी क्लव अफ पाल्पा लुम्बिनी र लियो क्लव अफ पाल्पा लुम्बिनीको सह–आयोजनामा विभिन्न संघ संस्थाहरुको सहयोगमा शनिबार मेला भएको हो ।
आमनागरिकलाई महिनावारीको ज्ञानबारे सचेत गराई चलिआएको अन्धविश्वास हटाउने उद्देश्यले मेला आयोजना गरेको क्लवले जनाएको छ । मेलामा प्रजनन स्वास्थ्य, सरसफाइ र महिनावारी सम्बन्धी सचेतनामूलक स्टलहरु राखिएका थिए । स्टलबाट प्रजनन् स्वास्थ्य, महिनावारी जस्ता विषयमा आवश्यक परामर्श, प्याडको प्रयोग र फाइदा, महिनावारीमा पोषणयुक्त खानेकुराका विषयमा विद्यार्थी, महिलाहरुलाई जानकारी गराइएको थियो । मेलाको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले क्लवले महिनावारी जस्तो संवेदनशील विषयमा सचेतनामूलक मेला आयोजना गरेर प्रशसनिय कार्य गरेको बताए । उनले महिनावारीको परम्परागत धारणा तथा स्वच्छताका लागि मेलाले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

नगर प्रमुख श्रेष्ठले महिनावारी मेला ग्रामीण भेगमा पुगेर सचेत गराउन सके अझ प्रभावकारी बन्ने समेत बताए । कार्यक्रममा तानसेन– ६ का वडा अध्यक्ष सागरमान महर्जन, जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत टिकाराम अधिकारी, पाल्पा टेक्निकल इन्ष्ट्रिच्युटका प्रिन्सिपल त्रिलोचन पौड्याल, परिवार नियोजन संघ पाल्पाका प्रवन्धक शोबकान्त न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपाध्यक्ष सुमन गैरे, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठ, रोटरी क्लव अफ पाल्पा लुम्बिनीका अध्यक्ष रमेश न्यौपाने, लियो क्लवका कार्यकारी अध्यक्ष सञ्जु आले, क्लवका निवर्तमान अध्यक्ष राजेश कोइराला लगायतले मेलाले महिनावारीसम्बन्धी कुप्रचलन हटाउन मत्वपूर्ण भूमिका खेल्ने भन्दै स्थानीय सरकारले यस्ता मेला आयोजना गर्ने हो भने महिनावारीप्रति भएका भ्रमहरु चिर्न सकिने बताएका थिए । महिनावारीप्रतिको गलत दृष्टिकोणलाई हटाउने र स्वस्थ रहने बानी बसाल्ने उद्देश्यले मेला राखिएको क्लवकी उपाध्यक्ष स्नेहा बस्नेतले बताईन । उनले भनिन् ‘महिनावारीबारे धेरैजसो अहिले पनि खुलेर कुरा गर्दैनन् । प्राकृतिक प्रक्रियाबारे ग्रामीण क्षेत्रमा नकारात्मक सोच र भ्रम समेत छन् । रजस्वलासम्बन्धीकै गलत धारणा र अन्धविश्वास चिर्नका लागि मेला आयोजना गरेका हौं ।’ आगामी दिनहरुमा ग्रामीण क्षेत्रमा समेत यस्ता कार्यक्रम गर्ने योजना बनाइएको कार्यक्रम संयोजक स्मारिका सिं प्रधानले बताईन् । उनले सहयोगी दाताहरु जुटेमा गाउँ–गाउँमा पुगेर कार्यक्रम गर्ने क्लवको योजना रहेको बताईन् । सहयोगी दाताहरुको कै कारण अहिलेसम्मका कार्यक्रम गर्न सफल भएको समेत उनले उल्लेख गरिन् ।
-1716642814.jpg)
२ सय  भन्दा बढी विद्यार्थी, युवक–युवती, महिलाहरुले मेला अवलोकन गर्नुको साथै महिनावारी, स्वास्थ प्रजनन्, प्याडको प्रयोग, बनाउने तरिकाका विषयमा जानकारी लिएको क्लवका मिडिया संयोजक सुलभ गिरीले जानकारी दिए । सहभागीलाई महिनावारीका बारेमा चेतना जगाइने खालका नाटक, नृत्य पनि देखाइएको थियो । 

मेलामा परिवार नियोजन संघ पाल्पाले पनि क्लवसँग समन्वय गरी विभिन्न साधानहरुको बारेमा जानकारी दिन स्टल राखेको थियो । शनिबार बिहान दश बजेदेखि साँझा ५ बजेसम्म मेला भएको थियो । मेलामा विभिन्न सन्देशमूलक प्रचारको स्टल रहेका थिए । मेलाका लागि आर.ओ.के.प्रोडक्स इन्ड्रष्टिक एण्ड ग्रीन लिस्ट बायो म्याट्रिक्स, फेजन हाउस क्याफे एण्ड रेष्टुरेण्ट, बनाना एण्ड मर्सुम रेष्टुरेण्ट, विजय आभूषण, नारी सेनेटरी प्याड, जुुबडा, जयाल कुमारी बचत तथा ऋण सहकारी संस्था लगायतले सौजन्य गरेको मिडिया संयोजक गिरीलेले जानकारी दिए । उनका अनुसार परिवार नियोजन संघ, पाल्पा, लुम्बिनी मेडिकल कलेज, पाल्पा टेक्निकल इन्ष्ट्रिच्युट, तानसेन नगरपालिका,जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, दारी ग्याङ् पाल्पा लगायतका संस्थाहरुको सहकार्य, समन्वय र नवजनचेतना राष्ट्रिय दैनिक, शितलपाटी डटकम, युनिक एफएम र लुम्बिनी एचडी टिभी मिडिया पार्टनरको रुपमा रहेका थिए । क्लवकी उपाध्यक्ष स्नेहा बस्नेतको अध्यक्षता, सामाजिक सेवा निर्देशक आरुषी झाको स्वागत, कोषाध्यक्ष आशुतोष भुसालको धन्यवाद ज्ञापन, सचिव दिक्षा रानाको सञ्चालनमा कार्यक्रम भएको थियो । क्लवले हरेक वर्ष महिनावारी मेला आयोजना गर्दै आएको छ ।




                                        
                                        
                                        
                                        
                    
                    
                    