Shittalpati
तानसेन बसपार्क निर्माणमा ढिलाइ

रामचन्द्र रायमाझी / संगीता आचार्य 

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा बसपार्क निर्माणमा ढिलाइ भएको छ । बसपार्क निर्माणको जिम्मा पाएको स्वयम्भुु—रेडअर्थ—हमाल जेभी कन्ट्रक्सनले विभिन्न वाहनामा निर्माण कार्यमा ढिलासुुस्ती गरेको हो ।

निर्माण व्यवसायीले डिजाइन र निर्माण सामग्रीको काम गर्नमा धेरै समय लागेकाले निर्माणमा केही ढिलाई हुन गएको दावी गरेको छ । विगतका वर्षहरूमा बसपार्क निर्माण स्थलको पहिचान गर्न नसक्दा ठूलो धनराशि गुमाएको तानसेन नगर सरकारले तानसेनस्थित गुल्मी सडक खण्डको वनदेवी क्षेत्रमा १ सय १ रोपनी क्षेत्रफलमा प्रस्तावित गरी गत वर्ष निर्माणको ठेक्का सम्झौता गरेपछि निर्माण व्यवसायीले काम अगाडि बढाएको थियो । पहिलो चरणको काम २२ महिना अर्थात् ६ पुस २०८१ सम्म सक्ने गरी ७ बैशाख २०८० मा सम्झैता भए पनि एक वर्ष हुँदासम्म जम्मा २५ प्रतिशत मात्र काम भएको छ । सम्झौता अनुसार कम्पनीले अबको १० महिनामा पहिलो चरणको काम सक्नुुपर्ने छ । तर कामको गति हेर्दा भने समयमै नसकिने देखिन्छ । निर्माण कार्यको थालनीमा चासो देखाएको नगर सरकारले अहिले भने खासै चासो देखाएको छैन ।

नगर सरकारले निर्माण कार्यको नियमन र अनुुगमनप्रति चासो नदेखाएका कारण पनि निर्माण व्यवसायीले निर्माणमा ढिलाइ गरेको हो । यस विषयमा नगर प्रमुख सन्तोषलाल श्रेष्ठसँग बुुझ्न खोज्दा निर्माण कार्य भइरहेको तर विस्तृत जानकारी सम्बन्धित प्राविधिकसँग लिन भन्दै उम्किए । नगरपालिकाका इन्जिनियर राम प्रसाद श्रेष्ठले भने हालसम्म २५ प्रतिशत मात्र काम भएको  बताए । उनले भने,‘डिजाइन र निर्माणको काम एउटै कम्पनीले गर्ने भएकाले प्रारम्भिक चणमा केही ढिला हुन गएको हो ।’ हालसम्म  डिजाइन र निर्माण कार्यका लागि आवश्यक सामग्री बनाउने काम सकिएको निर्माण व्यवसायी रविन्द्र भुर्तेलले बताए । उनले भने ‘पहिलो चरणको काम भएकाले धेरै समय डिजाइन र सामग्री बनाउनमै वित्यो, जसले गर्दा निर्माण कार्यमा केही ढिला हुन गएको हो ।’ व्यवसायी भुर्तेलले अब कामले गति लिने बताए । उनका अनुसार अहिले प्यानल हाल्ने काम भइरहेको छ । ३ हजार ८ सय स्क्वायर प्यानल हाल्नुुपर्नेमा हालसम्म ६ सय स्क्वायर प्यानल मात्र राखिएको भुर्तेलले बताए । २०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित नगरपालिकाका तत्कालीन नगर प्रमुख अशोक कुमार शाहीले यो बसपार्क निर्माणको पहल थालेका थिए । यो प्रदेशको सबैभन्दा सुविधा सम्पन्न बसपार्क बन्ने छ । नगर विकास कोषको ऋण सहयोगमा निर्माण कार्य अगाडि बढेको हो । जसमा ३० प्रतिशत नगर सरकारको र ७० प्रतिशत कोषको ऋण सहयोगमा निर्माण कार्य अगाडि बढेको छ । कूल ४८ करोडको लागतमा बसपार्क निर्माण हुने छ । नगर सरकारले दुुई चरणमा गरेर निर्माणको कार्य अगाडि बढाएको छ । जहाँ पहिलो चरणको काम २२ महिना भित्र सक्नुुपर्ने छ । जसका लागि १८ करोड १३ लाख १८ हजार एक सय १३ रकम सम्झौता भएको छ । अत्याधुनिक प्रविधिद्वारा अहिले आर.इ.वाल जडानको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । यस आर.इ.वाल निर्माण गर्ने कार्य अत्यन्त कठिन छ । यो वाल रूपन्देहीको मणिग्राममा निर्माण भएको हो। ५ वर्ष अगाडि वन मन्त्रालयबाट स्विकृत भएपछि त्यस क्षेत्रमा भएका सल्लाका रुखहरू कटान गर्ने काम भएको थियो । व्यवस्थित बसपार्कमा पेट्रोल पम्प अटोभिलेज सुपरमार्केटको समेत प्रस्तावित गरिएको छ । यो कार्य दोस्रो चरणमा पुरा हुनेछ । यो व्यवस्थित बसपार्क काठमाडौंको मोडलमा निर्माण हुन लागेको हो । यहाँ साना तथा ठूला सवारीसाधन पार्किङ गर्न सकिने टर्मिनल, सवारीसाधन निर्माण गर्ने ग्यारेज, यात्रुका लागि आवश्यक सहायता कक्ष, यातायात व्यवसायी कम्पनीका कार्यालय राख्ने योजना नगर सरकारको छ । तानसेनमा २०३२ सालमा निर्माण भएको बसपार्क साँघुरो भएका कारण हाल सवारीसाधन पार्किङ गर्न समस्या छ । पुरानो बसपार्कमा सवारीसाधन पार्किङ गर्न समस्या भएपछि तानसेनको टुँडिखेल, नारायणस्थान, विशालबजार लगायतका स्थानमा पार्किङ स्थल बनाइएको छ । सदियौंदेखि बसपार्क भन्ने विषय नगर सरकारका प्रतिनिधिलाई चुनौती सँगसँगै टाउको दुखाईको विषय नै थियो ।

स्थानीय र राजनैतिक दलका नेताहरुको आ–आफ्नो स्वार्थका कारण बसपार्क निर्माणका लागि स्थान छनोटमा कठिन भएको थियो । नगर सरकारले विगतमा स्थान छनोट गर्न नसक्दा पटक–पटक दातृ निकायबाट आएको रकम फिर्ता समेत भएको हो । तर अहिले निर्माण कार्य अगाडि बढे पनि अत्यन्त सुुस्त गतिमा भएको छ । निर्माण कार्यको नगर सरकारले प्रभावकारी अनुुगमन समेत गरेको छैन । जसका कारण निर्माण व्यवसायीले कामलाई तिव्रता दिन नसकेको स्थानीयको आरोप छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update