Shittalpati
मिसनमा स्वास्थ्य बिमा लागु गराउने प्रयास

पाल्पा,  तानसेनस्थित यूनाइटेड मिसन अस्पतालमा गत साउन २१ देखि बन्द भएको स्वास्थ्य बिमा कार्यक्रम लागु गराउने प्रयास भएको छ । लामो समयदेखि अस्पतालमा बिमा कार्यक्रम सुचारु नहुँदा विपन्न नागरिकहरु मर्कामा परेपछि विभिन्न पक्षबाट बिमा लागु गराउने प्रयास भएको हो ।

२०७४ वैशाखदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट समयमै रकम नपाएपछि कार्यक्रम बन्द गरेको छ । यहाँ स्वास्थ्य बिमा बन्द भएपछि पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देहीबाट आउने हजारौं विरामीहरु मर्कामा परेका छन् । सरकारी अस्पतालमा प्रभावकारी सेवा नहुँदा विरामीहरु निजी तथा सामुदायिक अस्पतालमा महंगो रकम तिरेर उपचार गराइरहनु परेको गुनासो आएपछि जिल्लाका मानवअधिकारकर्मीहरुले बिमा कार्यक्रम लागु गराउन प्रयास थालेका हुन् । यस अघि यहाँका राजनीतिक दलहरुले पटक–पटक कार्यक्रम लागु गराउन प्रयास गरे पनि असफल बनेका थिए । अहिले मानव अधिकार रक्षक सञ्जाल पाल्पाको नेतृत्वमा मानव अधिकार, पत्रकार, सामाजिक अभियन्ता र स्थानीयहरुले बिमा लागु गराउने दिशामा निरन्तर अस्पताल प्रशासनसँग छलफल, बहस गर्ने गरेका छन् । केही दिन अघि सञ्जालका जिल्ला संयोजक भगवान भण्डारीको नेतृत्वमा गएको टोलीले तत्काल बिमा कार्यक्रम लागु गराउन अस्पतालसँग आग्रह गरेको छ । उसले आम नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा अस्पताललाई गम्भीर बन्न आग्रह गर्दै तत्काल समन्वयात्मक ढंगबाट समस्या समाधान गरी कार्यक्रम सुचारु गर्न भनेको छ । सञ्जालका संयोजक भण्डारीले अस्पतालको समस्याप्रति आफुहरु पनि गम्भीर रहेकाले त्यसको समाधानमा आफुहरु सहजिकरण गर्न तयार रहेको बताए । उनले भने ‘अस्पताल र बिमा बोर्ड बिच भएको समस्याको गाँठो फुकाउने कसरतमा हामीहरु लागेका छौं, अस्पतालले पनि त्यही अनुसार आफ्नो भूमिका अगाडि बढाइदिन जरुरी छ ।’ संयोजक भण्डारीले स्वास्थ्य बिमा कार्यक्रमले गरिब तथा विपन्न नागरिकहरुलाई सहज भएपनि बन्द भएपछि समस्या परेको बताए । उनले आमनागरिकको सहजताका लागि जसरी भएपनि अस्पतालमा कार्यक्रम लागु गराउन आफुहरु गम्भीर रहेको बताए ।

बोर्डले सम्झौता अनुसार काम नगर्दा अस्पताल समस्यामा परेपछि सेवा बन्द गर्नु परेको अस्पतालले जनाएको छ । बोर्डले हालसम्म पनि नियमित तथा समयमै भुक्तानी नदिएको, विना कारण दाविहरु अस्विकृत गर्ने गरेको, बोर्डको दररेट अस्पतालको दररेट भन्दा धेरै कम हुँदा अस्पताल सञ्चालनमा समस्या आएकाले बिमा उपचारको सेवा स्थगित गर्नुपरेको अस्पतालकी निर्देशक डा.रचेल कारखले बताएकी छन् । उनका अनुसार हालसम्मको केही बक्यौता रकमको भुक्तानीको साथै समय अनुसारको औषधी उपचारको मूल्य संमायोजन नहुँदासम्म बिमा उपचार सेवा स्थगित गरिएको हो । 

रकम नपाउँदा अस्पतालमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई मासिक तलब खुवाउन, औषधी खरीद गर्न तथा उपचारका उपकरणहरु किन्न समस्या भएको निर्देशक कारखको भनाई छ । टोलीले निर्देशक कारखसँगै अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराई, कर्मचारी व्यवस्थापन प्रमुख गणेशप्रसाद घिमिरेसँग संयुक्त रुपमा छलफल गरेको छ । छलफलमा उनीहरुले आफुहरुसँग गरेको सम्झौता कार्यान्वयन भए पुनः सञ्चालन गर्न तयार रहेको बताएका छन् । उनीहरुले स्थानीय, प्रदेश सरकारले समेत यस विषयमा ध्यान दिनुपर्ने बताए । स्वास्थ्य जस्तो संवेदनशील विषयमा स्थानीय सरकार  समेत मौन बस्दा आफुहरु समस्यामा परेको उनीहरुको भनाई छ ।  

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update