Shittalpati
तानसेनमा स्व. विमला रेग्मीको चर्चा 

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा स्व विमला रेग्मीको व्यक्तित्वको चर्चा गर्दै स्मरण गरिएको छ । जिल्लामा क्रियाशिल रहँदै आएको साहित्यिक संस्था नारी उन्नयन तथा विकास प्रतिष्ठानद्वारा आयोजना गरिएको स्व. विमला रेग्मीको जीवनीमा संस्मरण एवं श्रद्धासुमन कार्यक्रममा रेग्मीको चर्चासँगै स्मरण गरिएको हो ।  
 

कार्यक्रममा दार्शनिक साहित्यकार, वरिष्ठ राजनीतिज्ञि एवं समाजसेवी स्व.कमलराज रेग्मीको धर्मपत्नी विमलाले परिवार र समाजमा पुर्‍याएको योगदानका बारेमा चर्चा गरिएको थियो । महिला भएर पनि समाजिक आन्दोलनको अगुवाई गर्दै आएका आफ्ना श्रीमान कमलराज रेग्मीलाई हरेक क्षणमा विमलाले दिएको साथ र प्रेरणा अन्य व्यक्तिहरुका लागि पनि प्रेरणा बनोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको प्रतिष्ठानकी संस्थापक अध्यक्ष लक्ष्मीमा ज्ञवालीले बताईन् । उनले स्व. विमला आमासँगको सम्बन्ध, सामिप्यताका बारेमा स्मरण गर्दै भावुक बनिन् । ज्ञवालिले भावुक बन्दै भनिन्‘ संसारमा आमा विनाका सन्ततीहरु गरिब हुन्छ भने झैं म विमला रेग्मी विना गरिब भएकी छु ।’ विमला रेग्मीसँगका पहलहरु सम्झदैं भावुक बनेकी उनले कार्यक्रममा सहभागी अतिथिहरुलाई समेत  भावुक बनाइन । ज्ञवालिले स्व. विमलाको  योगदान र उनको व्यक्तित्वको बारेमा रचना पनि वाचन गरेकी थिइन् । साहित्यकार तथा उप–प्राध्यापक समेत रहेकी ज्ञवालीले स्व. रेग्मीले पाल्पाको साहित्यक, सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको सबैले कदरसँगै अनुसरण गर्न जरुरी रहेको बताईन् ।  

कार्यक्रममा इतिहासविद् निर्मल श्रेष्ठले महान् व्यक्तिलाई स्मरण गरेर सामाजिक, राजनीतिक र साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्न कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले विमलाको महिमा र कमलराज रेग्मीको राजनीतिक पाटोका बारेमा उल्लेख गरेका थिए ।  

बाङ्मय प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपाल बस्यालले स्व विमला रेग्मी समझदारी, एक असल श्रीमति र आमा रहेको बताए । उनले भने ‘विमला समझदारी नभएको भए कमलराज रेग्मीले राजनीतिज्ञ, साहित्यकार, सामाजिक व्यक्तिको रुपमा पहिचान बनाउन सक्दैनन थिए , छोरा डा. प्रकाशराज रेग्मी पनि डा. प्रकाशराज बन्न सक्दैन थिए ।’ विमला र कमलराजको योगदानबाट  परिवार , समाज र राष्ट्रलाई केही गरौं भन्ने प्रेरणा मिल्ने उनले बताए ।

धवल पुस्तकालयका महासचिव राजेश कुमार अर्यालले कमलराज रेग्मीले राजनीतिक क्षेत्रमा राम्रो छवि बनाउनुको पछाडी धर्म पत्नी विमलाको महत्वपूर्ण योगदान रहेको  उल्लेख गरे । उनले भने ‘कमलराज चुनावमा लड्दै गर्दा विमलाले छोरी काखमा राखेर भोट माग्न हिडेका दृश्यले समेत उनको योगदानलाई विर्सन सकिदैन ।’ विमलाकै  साथ र सहयोगका कारण कमलराजले किसान आन्दोलनदेखि हरेक सामाजिक आन्दोलनको नेतृत्व गरेको अर्यालले उल्लेख गरे । उप– प्राध्यापक तथा साहित्यकार शारदा खनालले विमलाको जीवनीका बारेमा उल्लेख गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि युनाइटेड मिसन अस्पतालकी निर्देशक रचल कारखले स्व. विमलाको तस्वीरमा माल्यापर्ण गर्दै श्रद्धासुमन व्यक्त गरेकी थिइन् । विमला रेग्मीको पुत्री सन्ध्या रेग्मीले आफ्ना आमा बुवाको योगदानको चर्चा गर्ने अवसर प्रदान गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिइन ।  

प्रतिष्ठानकी अध्यक्ष ज्योतिराज भण्डारीको अध्यक्षता, उपाध्यक्ष चन्द्रकला न्यौपानेको स्वागत, सचिव तुलसा नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रतिष्ठानले  बेला बेलामा सामाजिक तथा साहित्यक व्यक्तित्वहरुलाई सम्मान, महिलाहरुका बेदनाहरु समेटिएका तीज गितहरु प्रकाशन गर्नेदेखि दर्जानौं आमाहरुलाई सम्मान गरिसकेको प्रतिष्ठानकी संरक्षक लक्ष्मीमा ज्ञवालीले बताईन् ।
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update