Shittalpati
तानसेन–रानीमहल सडक सञ्चालनमा आयो

पाल्पा, पाल्पाको प्रमुख पर्यटकीय स्थल तानसेन–रानीमहल सडक सञ्चालनमा आएको छ । सडक मर्मतका लागि ४८ दिनसम्म बन्द गरिएको सडक  सोमबारदेखि सञ्चालनमा आएको हो ।

यहाँको सडक खाल्डाखुल्डी भएका कारण पर्यटकहरुले सास्ती खेप्नु परिरहेको अवस्थामा सडक पूर्वाधार विकास कार्यालय पाल्पाले सडक बन्द गरेर स्तरोन्नतिको काम अगाडि बढाएको थियो । उक्त काम डेढ महिनापछि सकिएको हो ।  काम सकिएपछि  सडक नियमित रुपमा सञ्चालनमा आएको छ । माघ १७ गतेदेखि सडक बन्द गरेर स्तरोन्नतीको काम गरिएको थियो । अवलदेखि रानीमहलसम्मको सडक जोखिमयुक्त रहेकाले बाह्रै महिना सहज रुपमा यातायातका साधन चल्ने गरी स्तरोन्नतीको काम गरिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख बासुदेव भण्डारीले बताए । उनले भने‘ मर्मतका लागि ४८ दिनसम्म बन्द गरिएको सडक सोमबारदेखि सञ्चालनमा ल्याइएको छ ।’ सडक सञ्चालनमा आएसँगै सहजै रानीमहलसम्म पुुग्न सकिने उनले विश्वास व्यक्त गरे ।

उक्त सडक बन्द हुँदा रानीमहल जाने सवारीसाधनहरुले वैकल्पिक मार्ग प्रयोग गर्नु परेको थियो । १५ किलोमिटर दुरीमा पुगिने रानीमहल सडक बन्द भएपछि तानसेन–हार्थोक–अर्गली हुँदै रानीमहल पुग्न ४० किलोमिटर यात्रा तय गर्नुपरेको थियो ।

सडक पूर्वाधार विकास कार्यालय पाल्पाले ठेक्का प्रक्रियामार्फत सडक स्तरोन्नतीको काम गरेको हो । सडक स्तरन्नोतीको कार्य अन्तर्गत ढलान, मेशिनरी वाल, ग्याबिङ वाल लगायतका काम गरिएको छ । ठेक्का सम्झौता अनुसार २०८० चैत ३० मा सम्पन्न गरिसक्नुपर्ने भए पनि फागुन भित्रै सम्पूर्ण काम सकिएको थियो । सडक निर्माणका लागि ग्राहुनकाली कन्स्ट्रक्सन रामपुर पाल्पाले भ्याटसहित ३६ लाख ८४ हजार ९ सय २८ रुपैयाँको लागतमा जिम्मा लिएको थियो । ठेक्का सम्झौता अनुसार साढे ५ मिटर सडक चौडा गर्नुपर्ने उल्लेख भए पनि पूर्वाधार कार्यालयले बजेट थप गरेर सडक मर्मत, र्‍यालिङ् जस्ता कामहरु समेत गरेको छ । उसले सडक जोखिमलाई मध्यनजर गरी साढे ५ मिटर चौडालाई बढाएर ५/८० मिटरसम्म पुर्‍याएर काम गरेको हो ।

हात्तीढुंगा तलको बैकुण्ठे भिरस्थित सडकमा ढलान गरी ५० सेन्टिमिटरमा प्यारासुट निर्माण समेत गरिएको छ । त्यहाँ र्‍यालिङ निर्माणको कार्यसँगै पाइपको काम समेत भएको छ । जसले गर्दा सडक बलियो बनेको कार्यालयका प्रमुख भण्डारीले बताए । यहाँ सडक स्तरन्नोती भएसँगै सम्भावित दुर्घटनामा कमी आउने समेत उनले विश्वास व्यक्त गरे । यसअघि वर्षायाममा हिलोको कारण सवारी साधान चल्न नसक्ने र हिउँदमा खाल्डा खुल्डीका कारण रानीमहल पुग्ने पर्यटकहरुले सास्ती खेप्नुको साथै दुर्घटनाको शिकार समेत बन्नु परेको थियो ।

सडक स्तरन्नोतिको काम सकिएकाले सहजरुपमा सवारी साधन गुुडेको स्थानीय श्रीधर गैरेले बताए । उनले भने,‘ काम सकिएको छ, सडक एक्दमै राम्रो भएको छ, अब सहजै रानीमहल पुुग्न सकिन्छ । ’ बैंकुण्ठे भिरस्थित सडक अन्तर्गतका ठाउँ–ठाउँमा खाल्डा खुल्डी परे पछि दुर्घटनाहरु समेत बढेको थियो । यहाँ अधिकासं सडकमा खाल्डाखुल्डी हुनुको साथै ढलको व्यवस्था नहुँदा पानीले हिलाम्मे र चिप्लो बन्न पुगेको थियो । बाह्य र आन्तरिक पर्यटक ओहोरदोहोर गर्ने सडकमा खाल्डाखुल्डी र चिप्लोका कारण नै अस्तव्यस्त हुने गर्थो । सडक मर्मतसँगै सवारी आवागमन सहज भएको छ ।   

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update