Shittalpati
यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो  :  चारको  मृत्यु, ३० जनाभन्दा बढी घाइते

मलेखु (धादिङ), कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित त्रिशूली नदीमा खसेको छ । आज विहान सो बस त्रिशूलीमा खसेको हो ।
 

बस त्रिशूलीमा खस्दा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए ।  घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले  उद्धार गरिरहेका छन् ।

सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update