Shittalpati
बगनासकाली गाउँपालिकाको एकीकृत घुम्ती शिविर : वडामै पुगेर सेवा

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । ‘जहाँ नागरिक त्यहाँ सेवा’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पालिकाले  मंगलबारदेखि १९ गतेसम्मका लागि एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।

उसले कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा–वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरुका जनगुनासाहरुलाई समेत सोही ठाउँबाट समाधान गर्ने प्रयास गरेको छ । पालिकाबाट हुने सेवाहरु लिन केन्द्रमा पुग्न नागरिकलाई झन्झटिलो हुनुको साथै समय र खर्चिलो हुने हुँदा वडामै पुगेर सबै सेवाहरु एकै ठाउँबाट प्रवाह गर्न थालिएको पालिएकाले जनाएको छ ।

गाउँपालिकाले त्रैमासिक रूपमा समय छुट्याएर वडामै पुगेर सेवा प्रवाहलाई निरन्तरता दिएको हो । एकीकृत घुम्ति शिविरमार्फत सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य परीक्षण औषधि वितरण तथा स्वास्थ्य शिक्षा, आयुर्वेद स्वास्थ्य जाँच, औषधि वितरण तथा स्वस्थ जीवनशैली शिक्षा, पशु स्वास्थ्य अन्तर्गत औषधि वितरण तथा पशुसेवा परामर्श र जेष्ठ नागरिक परिचय पत्र सम्बन्धी सेवाहरू वडातहमै पुगेर प्रवाह  गर्दै आएको छ ।

जनतालाई केन्द्रमा राखेर आफूहरूले सेवा प्रवाह गर्दै आएको गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताइन् । स्थानीय सरकार नागरिकको नजिकको सरकार हो भन्ने मान्यता स्थापित गर्न समेत यसरी वडास्तरमा घुम्ति सेवा सञ्चालन गरिएको अध्यक्ष चिदीको भनाइ छ । वडामै आएर पालिकाले सेवा प्रवाह गरेकोप्रति स्थानीयहरू निकै खुसी देखिएका छन् । यसरी वडाबाट नै सेवा पाउँदा अत्यन्तै खुसी लागेको वडा नं. २ का स्थानीय भुनादेवी पराजुलीले बताइन् । ‘गाउँपालिकामा जान आउन समयसँगै धेरै खर्च समेत हुन्छ’ उनले भनिन्, ‘पालिकाले आफ्नै गाउँघरमा आएर सेवा प्रवाह गर्दा पैसा र समय दुवै बचत भएको छ ।’

गाउँपालिकाले वडामै पुगेर पाँच शीर्षकमा सेवा प्रवाह गर्ने प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले बताए । नीति तथा कार्यक्रमलाई कार्यान्वयनका लागि जनतालाई स्थानीय सरकार हाम्रो सरकार हो भन्ने भावना जागृत गराउन वडा तहमै पुगेर सेवा प्रवाह गरिएको गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाको भनाई छ । उनका अनुसार माघ ९ गतेदेखि १९ गतेसम्म गाउँपालिकाका नौ वटै वडामा पुगेर सेवा प्रवाह गरिनेछ । मंगलबार वडा नं. –२ पोखराथोकमा ९१ जनाले सामाजिक सुरक्षा, ६० जनाको स्वास्थ्य परीक्षण, ५३ जनाले जेष्ठ नागरिक परिचय पत्र तयारी, ४४ जनाले आयुर्वेद सेवा, ४२ जनाले पशुस्वास्थ्य परामर्श सेवा लिएका छन् । गाउँपालिकाले गत आ.व.देखि एकीकृत घुम्ती शिविरलाई निरन्तरता दिदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update